दस हजार करोडको काण्ड नलुकाउन ओलीलाई बालेनको चेतावनी

हिमाल प्रेस २१ जेठ २०८१ १०:०५
58
SHARES
दस हजार करोडको काण्ड नलुकाउन ओलीलाई बालेनको चेतावनी

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दस हजार करोडको काण्ड नलुकाउन चेतावनी दिएका छन्। प्रमुख शाहले झापाको गिरीबन्धुमा टिस्टेटको सरकारी जग्गा घोटला प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै यस्तो चेतावनी दिएका हुन्।

शाहले आज विहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘दस हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू। झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’

यही दस हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन अध्यक्ष ओलीले राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौँ महानगरपालिकाले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउन थालेको प्रमुख शाहको भनाइ छ।

शाहले ओलीलाई समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता नगरे कुनै पनि बेला अरू पनि फाइल पल्टिनसक्ने र जेल बस्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन्।

बालेन लेखेका छन्,‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु,बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ। अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद।’

काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ बढाउन थालेपछि स्थानीय र काठमाडौँ महानगरपालिकाको २२ नम्बर वडाध्यक्ष चिनीकाजी महर्जनले विरोध गर्दै आएका छन्। न्युरोड गेटदेखि जुद्ध सालिकसम्मको भाग संघीय सरकारअन्तर्गत पर्दछ। महानगरले सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न थालेपछि डिभिजन सडक कार्यालयले आपत्ति जनाएको छ।

उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि न्युरोडमा फुटपाथ बढाउने काठमाडौँ महानगरको कदम कानुनसम्मत नभएको बताउँदै आएका छन्। यसै विषयमा गत साता काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर शाह र वडाध्यक्ष महर्जनबीच चर्काचर्की भएको थियो।

महर्जन एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। यसै विवादमा ओलीले पनि हस्तक्षेप गरेको आरोप प्रमुख शाहको छ। सोही कारण उनले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणमा जोडेर ओलीको आलोचना गरेका हुन्।

प्रकाशित: २१ जेठ २०८१ १०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =