सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई आरोही बेपत्ता

हिमाल प्रेस ९ जेठ २०८१ १५:२१ | Wednesday, May 22, 2024
सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई आरोही बेपत्ता सगरमाथा आरोहीहरू : फाइल तस्बिर

सल्लेरी (सोलुखुम्बु)-  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन्।

मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए।

चुचुरोमा पुगेर फर्कने क्रममा आठ हजार ७५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका उनले बताए। दुवैजनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए। वातावरण अनुकूल भएको अवस्थामा दुवैजना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविरहुँदै शिखरतर्फ प्रस्थान गरेका पर्यटन विभागको आधारशिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ।

बेपत्ता दुवैजनाको खोजी गर्न उनीहरूको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ। बेपत्ताको खोजीमा सहयोग गरिदिन समेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको छ। रासस

प्रकाशित: ९ जेठ २०८१ १५:२१ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast