काठमाडौँ- फिल्म ‘अक्षरा’को प्रदर्शन स्थगित भएको छ। आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रदर्शन अहिलेलाई स्थगित गरिएको हो। देशमा प्राकृतिक विपत्ति परेको समय फिल्मको प्रदर्शन गर्नु उचित नरहेको भन्दै निर्माण संस्था क्षीत बाबु प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरेको हो।
अब यो फिल्म आगामी मंसिर २४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने निर्माताद्धय उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘रसुवामा आएको बाढी पहिरो र हालको परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शन मिति परिवर्तन गरिएको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘मिति परिवर्तनका कारण दर्शकवर्ग, सिनेमा हल व्यवसायी तथा फिल्मसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण शुभेच्छुकमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमायाचना गर्दछ।’ निर्माण पक्षले नयाँ प्रदर्शन मितिमा पनि दर्शकको माया, साथ र सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
विनयराज पौडेलले निर्देशन गरेको फिल्म न्यान्सी खड्का,सुशील सिटौला,सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा),सृष्टि खड्का लगायतको अभिनय छ।


