दमौलीमा भीषण आगलागी, २० सटर जलेर नष्ट

हिमाल प्रेस ७ जेठ २०८१ ७:५६
18
SHARES
दमौलीमा भीषण आगलागी, २० सटर जलेर नष्ट

पोखरा- तनहुँ सदरमुकाम दमौलीको मुख्य बजार पृथ्वी राजमार्गअन्तर्गत फलफूल चोकमा आइतबार राति भीषण आगलागी भएको छ।

आगालागीका कारण १२ घरका २० सटर जलेर नष्ट भएका छन्। करोडौं रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराति करिब पौने १ बजेदेखि सुरु भएको आगलागी ३ बजेमात्र नियन्त्रणमा आएको हो। प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दीपककुमार रायले आगलागीले ब्यास नगरपालिका वडा ३, तरकारी लाइनमा रहेका अधिकांश मोबाइल पसल, तरकारी पसल, पुस्तक पुसलहरु जलेर नष्ट भएको बताए।

आगो नियन्त्रणमा लिन स्थानीयसहित, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल खटिएका थिए। साथै, तनहुँ हाइड्रोपावर, मुग्लिन पोखरा सडक र व्यास नगरपालिकाको गरी ४ वटा दमकल प्रयोग गरिएको थियो।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ । आगलागीबारे थप अनुसन्धान तथा क्षति विवरण संकलन भइरहेको डिएसपी रायले बताए।

यसैबीच, तनहुँबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा। स्वर्णिम वाग्लेले आगलागीको घटनाबाट भएको क्षतिले आफूलाई निकै दुःख लागेको बताएका छन्।

उनले आगलागीबारे तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दश गौतम, प्रहरी उपरीक्षक अपील बोहरासँग जानकारी लिएको र घटनाबारे जानकारी दिन गृहमन्त्री रवि लामिछानेलाई भेट्ने बताएका छन्।

उनले धेरै सटरहरु ध्वस्त भएकोमा तुरुन्तै मुचुल्का उठाई सम्पत्ति नोक्सानी आधारमा आवश्यक राहत दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रहसमेत गरेका छन्।

प्रकाशित: ७ जेठ २०८१ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =