काठमाडौँ- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको पक्षमा सहभागी भएको बताएका छन्।
बुधबार रिपोटर्स क्लबले काठमाडौँमा गरेको साक्षात्कारमा नेता विश्वकर्माले पार्टीको आधिकारिकताका विषयमा कानुनी लडाइँ जारी रहे पनि पार्टी विभाजन हुन नदिन र एकताबद्ध राख्न निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको कांग्रेसको पक्षमा उभिएको बताए।
उनले भाद्र २४ गते शेरबहादुर देउवामाथि भएको घटना दुःखद र निन्दनीय भएको उल्लेख गर्दै उपचारपछि फर्किएका देउवालाई सर्वोच्च नेताका रूपमा स्वीकार्न सबै तयार रहेको बताए। आधिकारिक पार्टी कार्यालय सानेपाको आह्वानमा हुने महाधिवेशनमा देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर उद्घाटन गरिदिनुपर्ने उनले बताए।
उनले गगन थापा र शेरबहादुर देउवा दुवै एक–आपसमा संवाद गर्न र भेट्न इच्छुक रहेको उल्लेख गर्दै केही दिनभित्रै प्रत्यक्ष संवाद र सहमति गराएर १५ औँ महाधिवेशनलाई पार्टी एकताको महाधिवेशन बनाउन पहल भइरहेको दाबी गरे।
नेता विश्वकर्माले आधिकारिक कार्यालय सानेपा र असन्तुष्ट पक्ष रहेको चुनदेवी नमिली नेपाली कांग्रेसको जनमत, शक्ति र समर्थन प्राप्त हुन नसक्ने भएकाले दुवै पक्ष मिलेर अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे।


