हेमजा महोत्सवमा बिक्री भयो ३० लाख बराबरको आलु

हिमाल प्रेस ५ वैशाख २०८१ २०:०८
24
SHARES
हेमजा महोत्सवमा बिक्री भयो ३० लाख बराबरको आलु

पोखरा- पोखराको हेमजामा आयोजित १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा ३० लाख ६५ हजार बराबरको आलु बिक्री भएको छ। महोत्सव अवधिभर आलुसहित कुल ३ करोड ७० लाखको कारोबार भएको मूल आयोजक समिति महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

गत २५ चैतदेखि सुरु भएको महोत्सवमा ३ हजार ४ सय ४५ घरपरिवारले आलु खरिद गरेको कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले बताए। महोत्सवमा प्रतिकेजी ४० रुपैयाँमा आलुको किनबेच भएको थियो।

११ दिनसम्म चलेको महोत्सवको ७५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ। हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर हुने उपभोक्ताको भनाइ छ।

बुधमार भएको समापन समारोहमा पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा आलुको प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बानियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सिना छन्।

कार्यक्रममा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले महानगर नगर परिषद्ले महोत्सव व्यवस्थापनका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको बताए। उनले आलु महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै हेमजावासी खटेर महोत्सव सफल पारेकोमा प्रशंसा गरे।

क्लबका पूर्व अध्यक्ष महेन्द्रसिंह थापाले आलु महोत्सवमार्फत कृषिलाई सम्मानित पेसाका रूपमा अगाडि सार्न खोजिएको बताए। दर्शक आकर्षित गर्न दैनिकरूपमा कलाकारको विविध प्रस्तुति राखिएको थियो।

विष्णुपादुका क्लबको आयोजनामा भएको महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो थुप्रो, आलुका विभिन्न परिकार, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीलगायत सांस्कृतिक कार्यक्रम आकर्षणका केन्द्र थिए। महोत्सवकै अवसरमा क्लबको बहुउद्देश्यीय भवन शिलान्यास भएको थियो।

मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठले हेमजामा १२ हजार ५ सय हेक्टरमध्ये ५ सय हेक्टरमा आलु खेती गरिंदै आएको बताए। जसअन्तर्गत ५ सय ४० घरपरिवार किसान व्यावसायिक रूपमा आलुखेती गर्छन्।

प्रकाशित: ५ वैशाख २०८१ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =