एकै व्यक्ति कतिपटक मन्त्री वा सांसद बन्न पाउने कानुन बनाउनुपर्छ : प्रकाश ज्वाला

हिमाल प्रेस ५ वैशाख २०८१ १०:४३ | Wednesday, April 17, 2024
एकै व्यक्ति कतिपटक मन्त्री वा सांसद बन्न पाउने कानुन बनाउनुपर्छ : प्रकाश ज्वाला

काठमाडौँ- पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन्।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव ज्वालाले विगतमा सूचना प्रविधिको उच्चतम प्रयोग नभएको अवस्थालाई ख्याल गरेर बनाइएका सार्वजनिक खरिद ऐनजस्ता कानुन अहिलेका सन्दर्भमा पुरानो भइसकेकाले त्यस्ता कानुनका आधारमा सहज रूपमा काम गर्न नकिने अनुभव सुनाए।

लागतभन्दा आधा दरमा बोलपत्र दिँदा पनि कम मूल्यका आधारमा स्वीकृत हुने स्थिति, विभिन्न अन्तरमन्त्रालय समन्वय, रुख कटान, जग्गा प्राप्ति, घरटहरा हटाउने झमेलाले समय बढी व्यतित हुने गरेकाले समन्वय र सहयोग बढाउनुपर्नेमा उनले जोड दिए।

उनले समग्रमा आयोजनाका लागि पर्याप्त बजेट नहुने, अनियमितता हुने, कार्यक्रमको निरन्तरता र प्राथमिकतामा हेरफेर हुने समस्या देखिएको बताए।

पूर्वमन्त्री ज्वालाले व्यक्तिगत स्वार्थमा नेताहरू केन्द्रित हुने प्रवृत्तिले मुलुकमा विकास, समृद्धि र सुशासनका अपेक्षा पूरा हुन नसक्ने भन्दै वामपन्थी, राष्ट्रवादी र प्रगतिशील शक्ति मिलेर काम गरेमा समाजवादको लक्ष्य पूरा गर्ने क्रममा विकास र समृद्धिको बाटोमा अग्रसर हुन सकिन्छ भन्ने आशा पुनः पलाएको स्थितिमा राजनीतिक स्थिरतामा जोड दिनुपर्ने बताए।

विकासका माध्यमबाट समाजवादको बाटोमा अग्रसर हुन वामपन्थी, प्रगतिशील शक्तिहरूको पुनः सहकार्य हुनुलाई सकारात्मक मान्दै उनले संविधानमा उल्लेखित समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पनाबमोजिम आर्थिक, सामाजिक परिवर्तनको अभियानमा केन्द्रित हुुनुपर्नेमा जोड दिएका हुन्।

नेता ज्वालाले राजनीतिक स्थायित्व र विकासका लागि विद्यमान संघीय प्रणाली र निर्वाचन प्रणालीमा पनि पुनरावलोकन गर्नुपर्छ भन्दै सरकार वा मन्त्री परिवर्तनपिच्छे सचिवहरू परिवर्तन गर्ने, आयोजनाको प्राथमिकीकरण हेरफेर गर्नेजस्ता कार्यले जनअपेक्षाअनुसार परिणाम दिन नसकिने बताए।

एकै व्यक्ति कतिपटक मन्त्री, सांसद वा जनप्रतिनिधि बन्ने भन्ने सवालमा पनि स्पष्ट भएर संविधान संशोधन गर्नुपर्ने खाँचो उनले औँल्याए।

प्रकाशित: ५ वैशाख २०८१ १०:४३ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast