डोल्पामा आगलागीबाट तीन बालकको मृत्यु

हिमाल प्रेस १ वैशाख २०८१ १४:०६
डोल्पामा आगलागीबाट तीन बालकको मृत्यु प्रतीकात्मक तस्बिर।

डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालकको मृत्यु भएको छ ।

गत बिहीबार आगलागी घटनामा परेका तीनै बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तुलसीप्रसाद दाहालले जानकारी दिए। आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए।

प्रजिअ दाहालका अनुसार उपचारका क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा शनिबार निधन भएको हो। आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो।

गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । एकै गाउँका तीन बालकको आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँ नै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताए।

त्रिपुरासुन्दरीले घाइते दुई बालकलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ पठाएको थियो । उनीहरुको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडा मात्रै १६ लाख ५० हजार खर्च आएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए।

‘खर्च बेहोर्नका लागि त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको छ’, उनले भने। यसअघि डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको ज्यान गएको थियो।

प्रकाशित: १ वैशाख २०८१ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =