यी हुन् २०८० का चर्चित विश्व घटना

हिमाल प्रेस ३० चैत २०८० १४:०५
38
SHARES
यी हुन् २०८० का चर्चित विश्व घटना

काठमाडौँ- विक्रम संवत् २०८० विश्वका लागि भने एक युद्ध वर्षका रूपमा रह्यो। फेब्रुअरी २०२२ (२०७८ फागुन) बाट सुरु भएको रुस र युक्रेन युद्ध जारी छ। आसपासका युरोपेली मुलुक त्राहीत्राहीमा छन्।

रुस-युक्रेन युद्ध होस् या इजरायल र हमासबीचको युद्धले विश्व अशान्त बनेको छ। गाजामा भीषण युद्ध भयो। हमास आतंककारी समूहले इजरायलमा आइरन डोमको लुप होल्स र वारलाई समेत छक्याएर आक्रमण गरेको थियो। इजरायली आक्रमणबाट २१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। साथै शक्ति मुलुकबीचको कूटनीतिक तनाव कायमै छ। यसबाट विश्वमा आर्थिक संकट चुलिँदै गएको छ।

बंगलादेश र पाकिस्तानमा नयाँ निर्वाचित सरकार

यस वर्ष बंगलादेशमा प्रतिपक्षको सहभागिताबिना निर्वाचन भयो। सेख हसिनाले नयाँ सरकार बनाइन्। उनी यस क्षेत्रमा लगातार शासन गर्ने पहिलो महिला बनेकी छन्।
पाकिस्तानमा आमनिर्वाचन भएर नयाँ सरकार बन्यो। पाकिस्तान पनि अस्थिर राजनीति भएको मुलुकमा पर्छ।

चिनियाँ संसद्ले राष्ट्रपति सी चिनफिङलाई अर्को कार्यकालका लागि नियुक्ति गर्‍यो। सी चीनमा लामो समय शासन गर्ने राष्ट्रपति बन्न भए। ब्राजिलमा लुला इनासियो दा सिल्भा राष्ट्रपति निर्वाचित हुँदा पूर्वराष्ट्रपति जाएर बोल्सोनारोका समर्थकहरूले संसद् भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा प्रदर्शन गरे।

अफ्रिकी मुलुकहरू राजनीतिक अस्थिरताबाट मुक्त हुन सकेनन्। सुडानमा राष्ट्रिय सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सबीचको लडाइ हुँदा आठ हजार बढीले ज्यान गुमाए। माली, बुर्किना फासो, निजेर, गाबोन र मध्य अफ्रिकी गणतन्त्रमा सैनिक कू भए। केही देशमा निर्वाचनबाट सरकार परिवर्तन भए। यस्ता देशहरूमा न्युजिल्यान्ड, स्पेन, अर्जेन्टिना, माल्दिभ्स, कम्बोडिया, सिंगापुर, थाइल्यान्ड, फिनल्यान्ड, ग्रिस, हल्यान्ड, पोल्यान्ड, टर्की, पाराग्वे, ग्वाटेमाला, नाइजेरियालगायत छन्।

युक्रेनविरुद्धको आक्रमण जारी राखेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको घटनाले विश्वकै ध्यानाकर्षण गर्‍यो। उनै पुटिन पुनः नेतृत्वमा आए। उनी लगातार नेतृत्व गर्नेमा पर्छन्। रुसी सेनाविरुद्ध विद्रोहको घोषणा गरेका निजी सैन्य समूह वाग्नरका नेता येभ्गेनी प्रिगोजिन मस्कोनजिक हवाई दुर्घटनामा मारिए।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फौजदारी मुद्दा लाग्यो। आफ्ना समर्थकलाई उक्साएर संसद् भवनमा दंगा गराएको र वर्गीकृत दस्ताबेज लुकाएको आरोप उनीमाथि थियो। अमेरिकी पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोगमा मुद्दा चलाइएको पहिलो घटना हो।

भारत-क्यानडा कूटनीतिक तनाव

भारत र क्यानडाबीचको तिक्तता पनि यसै वर्षको हो। पञ्जाबी पृथकतावादी खालिस्तानी नेता हरदीपसिंह निज्जरको हत्याको विषयलाई लिएर क्यानडा र भारतबीचको कूटनीतिक तनाव लामै रह्यो। चीन-अमेरिकाबीचको कूटनीतिक तिक्तता, रुस-चीन र रुस-उत्तर कोरियाबीको बढ्दो निकटता यस वर्ष चर्चाको विषय बने।

नयाँदिल्लीमा जी-ट्वान्टीको शिखर बैठक र त्यहाँ भाग लिन आएका बेलायती प्रधानमन्त्री ऋषि सुनकको मन्दिर मोह पनि निकै चर्चामा रह्यो। दक्षिण अफ्रिकामा ब्रिक्स समूहको बैठक, अमेरिकाको सान् फ्रान्सिस्कोमा एसिया प्रशान्त क्षेत्रको शिखर बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच साइडलाइन वार्ता, संयुक्त अरब इमिरेट्सको दुबईमा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन-कोप २८ आदि २०८० प्रमुख विश्व घटना हुन्।

टर्की र ताइवानमा भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा सिरियासमेतमा गरी पचास हजारभन्दा बढीको ज्यान गयो भने मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्पमा दुई हजार जनाको मृत्यु भयो। भारतको हिमाञ्चल प्रदेश र सिक्किममा आएको बाढीले धनजनको ठूलो क्षति बनायो। राजनीतिक अस्थिरता भोगिरहेको अफगानिस्तान पनि भूकम्पको मारमा पर्‍यो। यस्तै लिबियामा बाढीले वितण्डा मच्चायो। त्यस्तै चीनको पिरलोमा परेको ताइवानीको जनजीवन गत साता आएको भूकम्पले अस्तव्यस्त बन्यो।

विश्वको धेरै जनसंख्या भारतमा

भारत चीनलाई उछिन्दै विश्वकै धेरै जनसंख्या भएको मुलुक बन्यो। भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान थ्री अवतरण गराएर सफलता हासिल पनि यसै वर्ष गरेको हो। चन्द्रयान थ्री पृथ्वीमा डाटा पठाउन पनि सफल भयो।

यसैगरी भारतको मणिपुरमा मैतेइ र कुकी जनजातिबीच समावेशिताको विषयलाई लिएर चर्किएको द्वन्द्व र उत्तराखण्डको उत्तराकाशीमा सिल्याकारा सुरुंगमा फसेका ४१ कामदारको १७ दिनपछि उद्धार गरिएको घटना पनि यस वर्षका महत्त्वपूर्ण घटनाका रूपमा रहे।

भारतमा आर्थिक मन्दीको असर परिरहे पनि धार्मिक स्थलको विकास गरिरहेको छ। राम मन्दिरको भव्य उद्घाटन पनि यसै वर्ष भएको हो। त्यो घटनाले विश्वमा हिन्दुत्वको महत्त्वलाई बढाएको छ।

आर्थिक मन्दीको प्रभाव

विश्वमा देखिएको आर्थिक संकटले अमेरिकासहित सबै युरोपेली मुलुक प्रभावित भए। अमेरिकाका सिलिकन भ्याली र सिग्नेचर बैंकसहितका तीनवटा बैंक बन्द भए। अमेरिकामा स्टार्ट-अप कम्पनीहरूलाई ऋण दिने बैंकहरू एकपछि अर्को गर्दै धराशयी बने। प्रविधि क्षेत्रका व्यापक कर्मचारी कामबाट निकालिए।

प्रविधिको क्षेत्रमा मानव सभ्यतामा कायापलट गर्ने घटना खासै भएनन्। यही वर्र्ष प्रविधि क्षेत्रको खर्च ४४ खर्ब डलरमा पुग्यो। यो अघिल्लो वर्षको भन्दा ५ प्रतिशत धेरै हो। ठूलो हिस्सा फाइभजीको क्षेत्रमा खर्च भएको छ। कृत्रिम बौद्धिकताको उपस्थिति कम देखिए पनि आगामी ७ वर्षमा यो १३ गुणा बढ्ने अनुमान गरिएको छ।

क्रिप्टोकरेन्सीको पतन र टीकटकमा प्रतिबन्ध

क्रिप्टो बजारमा क्रिप्टोकरेन्सी विनिमय मञ्च एफटीएक्सको पतन अनि घोटालाको प्रभाव देखियो। यी घटनाले १४ वर्षदेखिको क्रिप्टोकरेन्सीको अस्तित्वलाई धमिलो बनाइदिएको छ।

सर्ट भिडियो सेयरिङ एप टिकटक सञ्चारमाध्यममा खबर बनेर छाइरह्यो। सर्वसाधारणमाझ निकै लोकप्रिय यो एपमा पहुँच सीमित बनाउन अमेरिका, युरोप र क्यानडाले निकै प्रयास गरे। यसको तर्क चाहिँ टिकटकको माउ कम्पनी बाइटडान्सलाई सम्भावित सुरक्षा चुनौतीका रूपमा देखाए। एपमाथि कडाइ गर्ने क्रम जारी रहँदा टिकटकका प्रमुख कार्यकारी अधिकारी सोउ चिउले अमेरिकाको प्रतिनिधिसभामा बयान दिनुपर्‍यो।

अमेरिकामा केही सरकारी र कलेज क्याम्पसका स्मार्टफोनमा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लगाइयो। तर अमेरिकामा सर्वसाधारणले अहिले पनि टिकटक मज्जाले चलाइरहेका छन्। टिकटकमाथि पूरै प्रतिबन्ध लाग्ने हो कि भन्ने भयले सामाजिक सञ्जाल तरंगित भइरह्यो। नेपालमा लोकप्रिय बनेको टिकटकमा सरकारले प्रतिबन्ध लगायो। मेटाको रिलजस्ता प्रतिस्पर्धीहरूको बजार हिस्सामा बढोत्तरी भयो।

एआईको प्रभाव

यस वर्ष प्रविधि क्षेत्रमा सबैभन्दा चासोको विषय बन्यो कृत्रिम बौद्धिकता (एआई)। हलिउडमा लेखक र कलाकारले महिनौँसम्म हडताल गरेर फिल्मको प्रोडक्सन ठप्प पार्नुको कारण पनि एआई नै थियो।

एआईका जन्मदाताहरूले यसको दुरुपयोगले मानवीय अस्तित्व धरापमा परेको अभिव्यक्ति दिए। भारतमा एआईको दुरुपयोग गरेर केही चर्चित अभिनेत्रीको नक्कली भिडियो र फोटो भाइरल बनाइयो।

नोभेम्बरमा जेनरेटिभ च्याटबोट च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईको सञ्चालक समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) र सह-संस्थापक स्याम अल्टम्यानलाई एक्कासि बर्खास्त गरिदियो। ओपनएआईमा माइक्रोसफ्टको १३ अर्ब डलर लगानी थियो। लगत्तै ओपनएआईले अल्टम्यानलाई सीईओका रूपमा फर्कायो। ओपनएआई अहिले एआई उद्योगमा मुख्य खेलाडी हो।

आइफोन कम्पनी एप्पल भीआर बजारमा छिर्‍यो। एलन मस्कले एक्स (ट्विटर)मा व्यापक उथलपुथल मच्चाए। कुनै बेला अमेरिकाको सबैभन्दा मूल्यवान स्टार्टअपका रूपमा रहेको स्पेस सेयरिङ कम्पनी विवर्क टाट पल्टिएर अदालती संरक्षणमै गयो। प्रविधि कम्पनीमाथि एक पछि अर्को गर्दै मुद्दा परेका छन्।

भारतमा निर्वाचनको वातावरण

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास भएको भारतमा अप्रिल १९ देखि लोकसभाको चुनाव सुरु हुँदैछ। राजनीतिक दलहरू निर्वाचनमा होमिएका छन्।
लोकसभा चुनावमा ९६ करोड ८८ लाख २१ हजार ९ सय २६ मतदाताले मतदान गर्नेछन्। ५ सय ४३ सदस्यीय लोकसभामा जसले बहुमत ल्याउँछ उसले पाँच वर्ष भारतमा शासन गर्छ। लोकसभा निर्वाचनको नतिजा एकै पटक आउनेछ। अप्रिल १९ मा सुरु हुने मतदान जुन १ मा सकिनेछ। जुन ४ मा नतिजा आइसक्नेछ।

दक्षिण एसियामा सर्वमान्य नेता बन्न संघर्षरत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ अग्रसर रहेर सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई तेस्रो पटक बहुमत दिलाउने कसरतमा छन्। भाजपाले सन् २०१४ र २०१९ को लोकसभा निर्वाचनमा उनकै अगुवाइमा बहुमत ल्याएको थियो। निरन्तर दुई कार्यकाल बहुमत ल्याएर हौसिएका मोदी तेस्रो पटक झन् बढी सिट जित्ने आकांक्षासहित सक्रिय छन्। भाजपाले तेस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री बन्ने उद्घोष गरिसकेको छ। भाजपा दुई तिहाई मतसहित निर्वाचित गराएर एकछत्र राज गर्ने तयारीमा छ। प्रमुख प्रतिपक्षी दल कांग्रेस आई त्यसलाई रोक्ने रणनीतिमा छ।

कमजोर बन्दै इस्लामिक स्टेट

इस्लामिक स्टेट समूह (आईएस) ले कुनै बेला उत्तरपूर्वी सिरियादेखि उत्तरी इराकसम्मको भूमि नियन्त्रणमा राख्न सकेको थियो। यो समूह २०८० मा कमजोर देखियो। बीबीसीको सर्वेक्षणमा पनि यसको गतिविधिमा आधाभन्दा कमी आएको छ। जसको कारण सो समूहको नेतृत्वमा पनि क्षति पुगेको छ। उक्त समूहको इजिप्ट, यमन र लिबियामा रहेका शाखा निष्क्रिय छन्। अफ्रिकामा पनि यसको प्रभाव कम भएको छ। गाजा क्षेत्रमा यसको उपस्थिति कम देखिएको छ। स्लामिक स्टेटले युगान्डामा हमला गर्दा ४० बालबालिकाको ज्यान गएको थियो।

अरमेनिया-अरजरबैजान द्वन्द्व

अरमेनिया र अजरबैजानबीच नागोरनो र कराबख क्षेत्रलाई लिएर लामो समयदेखि विवाद भइरहेको थियो। सन् २०२० को युद्धविराम सम्झौता भंग गर्दै त्यहाँ द्वन्द्व सुरु भएको थियो। यसै वर्षको युद्धमा एक सय बढीले ज्यान गुमाएका छन्। दुई मुलुकबीच नागोरो र कराबख क्षेत्रलाई लिएर भएको विवाद समाधानका लागि युरोपेली युनियन, अमेरिका र रुसले पहल गरे पनि सफल भएन।

भेनेजुएला र गुएना

दक्षिण अमेरिकी क्षेत्रको सुरक्षामा भेनेजुएलाका राष्ट्रपति निकोसल मडुरोको महत्त्वाकांक्षाले चुनौती थपिएको छ। इसिक्युबो क्षेत्रको विवादलाई लिएर गुएनालाई भेनेजुएलामा गाभ्ने महत्त्वाकांक्षी योजनामा मडुरो अघि बढाउँदा द्वन्द्व कायमै छ। इसिक्युबो क्षेत्रमा पेट्रोलियम पदार्थको प्रशस्त भण्डारण रहेकाले दुई मुलुकले यसमा विवाद भइरहेको छ। आगामी डिसेम्बरभित्र यस इलाकालाई लिएर जनमत संग्रहको तयारी भइरहेकोे छ। जनमत संग्रहको नतिजाले मडुरोलाई गुएना गाभ्ने अनुमति दिनेसक्ने र उनले गुएनामा हमला गर्न सक्ने भन्दै गुएना र ब्राजिलका सेनाहरु उच्च सतर्कतामा छन्।

२०१९ मा घोषणा गरिएको कोभिड विश्व स्वास्थ्य आपत्काललाई विश्व स्वास्थ्य संगठनले अन्त्य गरेको पनि यही वर्ष हो। अमेरिकाले आफ्नो आकाशमा चिनियाँ जासुसी बेलुनलाई क्षेप्यास्त्र प्रहार गरी खसालेको घटना पनि यो वर्षको चर्चित घटनामा पर्छ।

क्रिकेटमा यस वर्ष दुई ठूला विश्वकप प्रतियोगिता भए। भारतमा एक दिवसीय विश्वकप आयोजना भयो। यो खेलमा आयोजक भारतलाई हराउँदै अस्ट्रेलियाले उपाधि जित्यो। महिला विश्वकप पनि यही वर्ष भयो। अस्टेलिया र न्युजिल्यान्डमा भएको प्रतियोगितामा इंग्ल्यान्डलाई हराउँदै स्पेनको महिला टोली विश्व च्याम्पियन बन्यो। चीनको हान्जाउमा एसियन गेम्सको आयोजना भयो। आयोजक चीनले ३०० भन्दा बढी पदक जितेर खेलमा पनि आफू अब्बल रहेको प्रमाणित गर्‍यो।

प्रकाशित: ३० चैत २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + one =