‘सफा हिमाल अभियान’ टोलीलाई ब्यानर हस्तान्तरण

हिमाल प्रेस २९ चैत २०८० २१:३५
14
SHARES
‘सफा हिमाल अभियान’ टोलीलाई ब्यानर हस्तान्तरण

काठमाडौँ- सर्वोच्च शिखर सगरमाथालगायत हिमालको फोहर संकलनार्थ खटिने नेपाली सेनाको टोलीलाई ब्यानर हस्तान्तरण गरिएको छ। नेपाली सेनाद्वारा आज (बिहीबार) आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान–२०२४’ का टोली संयोजक सेनानी आदित्य कार्कीलाई नेपालको राष्ट्रिय झण्डासहितको ब्यानर हस्तान्तरण गरेका छन्।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइमा सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गरिने छ। उक्त अभियानमा सेनाका तालिम प्राप्त १० जना र १८ शेर्पा सहयोगीले फोहर सङकलन गर्नेछन्। ‘सफा हिमाल अभियान–२०२४’ मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शव तथा १० टन फोहर सङ्कलन गरिने नेपाली सेनाले जनाएको छ।

सफा हिमाल अभियान टोली आगामी वैशाख २ गते सगरमाथातर्फ प्रस्थान गर्ने र ५० दिनसम्म अभियान सञ्चालन हुने सेनाले जनाएको छ। सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर संकलन गर्ने योजना छ। सो अवसरमा प्रधानसेनापति शर्माले पर्वतीय पर्यावरण सुरक्षा एक सार्वजनिक महत्वको विषय भएकाले हिमाल सफाइ अभियान सरोकारवाला सबैको साझा प्रयास, समन्वय र सहकार्यबाट मात्र सफल हुने बताए।

पर्यावरण सुरक्षामा करिब पाँच दशकको सक्रिय सहभागिता एवं सफा हिमाल अभियानमा विगत पाँच वर्षदेखिका अनुभव र यस वर्षको विस्तृत तथा व्यवहारिक योजनाले गर्दा यस अभियानले सफलतापूर्वक आफ्नो लक्ष्य प्राप्त गर्ने प्रधानसेनापति शर्माले विश्वास व्यक्त गरे।

प्रकाशित: २९ चैत २०८० २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =