वर्ष २०८० : फिल्ममा देखिएका नयाँ अनुहार

हिमाल प्रेस २८ चैत २०८० १५:५२
24
SHARES
वर्ष २०८० : फिल्ममा देखिएका नयाँ अनुहार

काठमाडौँ- वर्ष २०८० मा नेपाली फिल्ममा थुप्रै नयाँ अनुहार देखिए। नेपाली फिल्म निर्माणको संख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहारको आकर्षण बढिरहेको छ। व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि यो वर्ष केही नयाँ कलाकारले सम्भावना देखाएका छन्।

यस वर्षको पहिलो महिना वैशाखमा प्रदर्शन भएको फिल्म ‘नाइँ नभन्नु ल–६’ बाट आशीर्वाद क्षेत्रीले डेब्यु गरे। व्यावसायिक रुपमा उनको सुरुआत सफल नभए पनि सम्भावना बोकेको कलाकारका रुपमा हेरियो। आँचल शर्मा, पल शाह, वर्षा राउत, अनुभव रेग्मीजस्ता स्थापित कलाकारलाई पहिलोपटक निर्देशक विकासराज आचार्य यसपटक भने असफल भए।

असारमा प्रदर्शन भएको ‘बगान’ मार्फत अभिनयमा अभिनेत्री प्रमिला कार्की उदाइन्। टेलिभिजनकर्मीका रुपमा परिचित अभिनेत्री कार्की पनि स्थापित कलाकार सरोज खनाल, करिश्मा मानन्धरसँगै पर्दामा देखिएकी थिइन्। अभिनेता खनालले नै निर्देशन गरेको फिल्मले स्वदेश र विदेशको प्रदर्शनमार्फत लगानी सुरक्षित गरेको निर्माण पक्षको दाबी छ।

अभिनेत्री कार्कीले कलाकार नै निर्देशक हुँदा आफ्नो यात्रा सुरुआत सहज भएको बताइन्। ‘टेलिभिजनमा काम गरेका पनि क्यामेरासँग सहज थिएँ,अभिनय गर्ने तरिका कलाकारकै शैलीमा बुझेपछि मैले पात्रलाई अपनाएँ, त्यसपछि मलाई निकै सहज भयो’, अभिनेत्री कार्कीले भनिन्।

मंसिरको अन्तिम साता प्रदर्शन भएको फिल्म ‘दुई कदम’ बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गरे। अभिनेता लिम्बू फिल्मसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेसनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन्। अभिनेत्री गिरी मोडलिङ हुँदै फिल्मको पर्दामा आइपुगेकी हुन्।

‘अभिनयलाई सरल रुपमा लिनु हुन्न भन्ने मैले महसुस गरे,यहाँ मेहनत निकै आवश्यक छ’, अभिनेत्री गिरीले भनिन्,‘आफ्नो अभिनयबाट दर्शकको मन जित्न मैले सक्दो कोसिस गरेकी छु, मैले पाइरहेको प्रतिक्रिया निकै सकारात्मक छ।’

माघे सङ्क्रान्ति लक्षित गर्दै पुसको अन्तिम साता प्रदर्शन गरिएको फिल्म ‘पर्खी बसेँ तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरुआत गरे। दीपक श्रेष्ठले निर्देशन गरेको फिल्ममार्फत सुरुआत गर्न पाउँदा उनीहरू दुवै हर्षित छन्। मण्डला नाटकघरबाट फिल्ममा आएका अभिनेता श्रेष्ठले अन्य केही फिल्ममा समेत अभिनय गरिसकेका छन्।

‘पहिलोपटक पर्दामा देख्न पाउँदाको अनुभव व्यक्त गर्न सक्दिनँ, यो समयका लागि मैले सङ्घर्ष गरेको छु, यो अवसरमार्फत मैले अन्य मौका सृजना गर्ने कोसिस गरेको छु’, अभिनेता श्रेष्ठले भने,‘आफूभन्दा अग्रज कलाकारसँग अभिनय गर्दा सुरुमा केही असहजता भएको थियो, उहाँहरूले नै सहजता दिएपछि मैले केही दृश्यलाई ढुक्कसँग गरेँ।’

पुसमै प्रदर्शन भएको फिल्म ‘चित्रा’ मार्फत सन्तोष अधिकारीले पनि अभिनय सुरु गरे। यद्यपि उनलाई व्यावसायिक रुपमा सफलता प्राप्त भएन। फागुनको दोस्रो साता प्रदर्शन गरिएको फिल्म ‘गोर्खा वारियर’ मार्फत अभिनयको सुरुआत गरेका रितेश चाम्स पूर्वसैनिक पनि हुन्। सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको फिल्ममा अभिनय गर्ने कलाकार सैनिक देखिनुपर्ने भएकाले अभिनेता चाम्सलाई अवसर दिएको निर्देशक मिलन चाम्सले बताए।

उनले भने,‘रितेश आफैँमा अभिनय सिकिरहनुभएको कलाकार हो। उहाँलाई लिएपछि मैले सैनिक देखाउन मेहनत गर्नु परेन। उहाँले ब्रिटिस सेनामा हुँदा युद्ध नै लडिसक्नुभएको छ। उहाँको भविष्य अन्य पात्रमा पनि उज्ज्वल नै छ।’

फिल्म वितरक करण श्रेष्ठले वितरण गरेका अधिकांश फिल्ममा नयाँ अनुहार छन्। नयाँ फिल्मका बारेमा सुरुआतमा विश्वस्त गर्न प्रदर्शकलाई गाह्रो नहुने होइन। यद्यपि देखिने प्रचार सामग्रीले सहज बनाउने श्रेष्ठले बताए।

‘नयाँ अनुहारले अवसर पाएर नै पुरानो हुने हो। त्यसैले उनीहरूलाई सघाउनै पर्छ। म नयाँ अनुहार भएका फिल्मकर्मीलाई प्रचारप्रसार ध्यान दिन आग्रह गर्ने गर्छु। यसले फिल्मसँगै उदाउँदै गरेका कलाकारलाई फाइदा पुग्छ’, श्रेष्ठले भने,‘फिल्म भवनमा दर्शक बढेसँगै व्यापार बढ्ने भएकाले सुरुआती समयमा हाम्रो भूमिका महत्त्वपूर्ण भएता पनि अन्ततः विषयवस्तुले नै आकर्षण गर्नुपर्छ।’

जोखिम उठाउन चाहने फिल्मकर्मीले नयाँ अनुहारलाई लिएको पाइन्छ किनकि स्थापित अनुहारले केही हदसम्म लगानी सुरक्षित गर्न मदत गर्ने विश्वास छ। यस वर्ष पर्दामा देखिएका नयाँ अनुहारले अभिनयमा सम्भावना देखाए पनि अधिकांशले निर्माताको लगानी सुरक्षित गर्न सकेनन्। यद्यपि जोखिम नमोल्ने हो भने नयाँले अवसर पाउँदैनन्।

आउँदो वर्ष वि‍.सं २०८१ मा फिल्म ‘११:५५’ मार्फत सागर खनाल, फिल्म ‘फर्की फर्की’ मार्फत रवि काफ्ले र समृद्धि अर्याल, फिल्म ‘बलिदान’ मार्फत अभिनेता विराज भट्टका छोरा समीर भट्टलगायत सम्भावना बोकेका नयाँ अनुहारले अभिनयमा पाइला टेक्दै छन्। उनीहरूले पाएको अवसरलाई निरन्तरता कसरी दिन्छन् यो भने आउँदो समयले नै थाहा दिनेछ। रासस 

याे पनि

यी हुन् २०८० का चर्चित ६ फिल्म

प्रकाशित: २८ चैत २०८० १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =