यी हुन् २०८० का चर्चित ६ फिल्म

सुस्मिता बजगाईं २० चैत २०८० १७:११
218
SHARES
यी हुन् २०८० का चर्चित ६ फिल्म

काठमाडौँ- वैशाख १ मा तीनवटा फिल्म प्रदर्शन भयो- ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’। चैत ९ देखि प्रदर्शनरत ‘महाजात्रा’ सहित हलमा वर्षभरिमा गरी ४८ वटा फिल्म प्रदर्शन भए। शुक्रबार ‘बद्री बहादुर’ प्रदर्शन हुँदैछ। वर्षको अन्तिम दिन चैत ३० मा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ प्रदर्शनको तयारीमा छ। ४८ मध्ये अधिकांश फिल्म सफल हुन सकेनन्। केही फिल्मले मात्रै दर्शकको मन जिते र राम्रो व्यापार गरे। प्रस्तुत छ वर्षभरिका चर्चित ६ फिल्म।

जारी

यस वर्षको चर्चित पहिलो फिल्म हो ‘जारी’। वर्षको सुरुमै प्रदर्शन भएको फिल्मले घरेलु बक्स अफिसमा १०० दिन मनायो। चलचित्र विकास बोर्डको तत्थ्यांकअनुसार फिल्मले १७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

फिल्मका लेखक र निर्देशक उपेन्द्र सुब्बा हुन्। कवि तथा लेखक उपेन्द्रको यो डेब्यु फिल्म हो।

फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य कलाकारका रूपमा छन्। लिम्बू समुदायको जारी प्रथासँग सम्बन्धित फिल्ममा कलाकार रोयदीप श्रेष्ठ, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बालगायतको अभिनय छ।

यस फिल्ममा समावेश गरिएको ‘रीत’ र ‘चरी बस्यो’ गीत चर्चित छ। शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठले सम्पादन गरेको फिल्मका निर्माता रामबाबु गुरुङ हुन्।

दिमाग खराब

यस वर्ष घरेलु बक्स अफिसमा १०० दिन मनाउने दोस्रो फिल्म हो ‘दिमाग खराब’। निश्चल बस्नेत निर्देशित फिल्म जनता र शक्तिको कथामा बनेको छ। फिल्मले १० करोड रुपैयाँभन्दा माथि ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।

फिल्ममा निर्देशक निश्चलसहित अर्पण थापा, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नवीन खड्कालगायतको अभिनय छ।

फिल्मको पटकथा आकाश बरालले लेखेका छन्। मनोज पण्डितको स्क्रिप्ट रहेको फिल्म सामाजिक र राजनीतिक विषयमा केन्द्रित छ। फिल्ममा समावेश ‘हितैको माया’, ‘झम्के झमा झम’, ‘बिरामी मुलुक’, ‘हजुरी’ र ‘यो देश’ बोलका गीत चर्चित छन्। निमेष श्रेष्ठले सम्पादन र सुुशन प्रजापतिले छायांकन गरेको फिल्मका निर्माता रौनकविक्रम कँडेल हुन्।

परदेशी २

अर्को चर्चित फिल्म हो ‘परदेशी २’। असोजमा प्रदर्शन भएको फिल्मले घरेलु बक्स अफिसमा ५१ दिन मनाएको थियो। यो सुपरहिट फिल्म ‘परदेशी’को सिक्वेल हो। बिदेसिएका नेपाली युवा र गाउँघरमा एक्लै रहेका आमाबुवाको कथालाई फिल्मको मुख्य विषयवस्तु बनाइएको छ।

आफ्नो सन्तान विदेश जाँदा परिवार कुन अवस्थामा पुग्छ र बिरामी आमाले अन्तिम समयसम्म पनि सन्तानको मुख हेर्न नपाउँदाको पीडा फिल्ममा देखाएको छ।

गायक तथा संगीतकार प्रकाश सपूतले यसैबाट फिल्ममा डेब्यु गरे। फिल्ममा उनी मुख्य भूमिकामा छन्। नारायण रायमाझीले निर्देशन गरेको फिल्ममा रमेश बीजीको कथा तथा पटकथा लेखन छ।

फिल्ममा प्रकाशसहित वर्षा शिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ।

फिल्म निर्देशक रायमाझी र राजेश वंशल (अग्रवाल) ले संयुक्त लगानीमा बनेको हो। फिल्ममा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन र अष्ट महर्जनको द्वन्द्व निर्देशन छ। यस फिल्मको ‘परदेशी छुकछुके रेलैमा’, ‘कुरा सीधा छ’ र ‘हिजो काम आज काम’ गीत चर्चित छ। फिल्मले करिब ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।

पशुपति प्रसाद २ : भष्मे डन

यस वर्षको अर्को चर्चित फिल्म हो ‘पशुपति प्रसाद २ : भष्मे डन’। कात्तिकमा प्रदर्शन भएको फिल्मका निर्देशक दीपेन्द्रकुमार खनाल हुन्। फिल्मले करिब ८ करोड कमाएको निर्माण टिमको दाबी छ।

यो २०७२ सालमा सार्वजनिक प्रदर्शन भएको ‘पशुपति प्रसाद’ सिक्वेल फिल्म हो। फिल्ममा पशुपति प्रसादको मृत्यु भएपछि भष्मे डनको जीवनमा आइपर्ने उतारचढाव देखाइएको छ।

भष्मेकै कथामा आधारित फिल्ममा रवीन्द्रसिंह बानियाँ, स्वस्तिमा खड्का, सौगात मल्ल, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।

कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादनमा बनेको फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। यस फिल्म समावेशको ‘दुई चुल्ठी बाट न’ र ‘प्रेम शरणम्’ गीत चर्चित छन्।

नाङ्गो गाउँ

यस वर्षको अर्को चर्चित फिल्म हो ‘नाङ्गो गाउँ’। भदौमा प्रदर्शन भएको फिल्मले ४ करोड ९० लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ। फिल्ममा सामान्य मान्छे कसरी राजनीतिमा आउँछ भन्ने देखाउन खोजिएको छ। कलाकार दयाहाङ राई र शिशिर वाङ्देलको चुनावी प्रतिस्पर्धा फिल्मको विषयवस्तु हो।

फिल्ममा अन्य कलाकार मिरुना मगर, कार्म शाक्य, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरीलगायतको अभिनय छ।

फिल्मको पटकथा लेखन र निर्देशन दीपेन्द्र लामाले गरेका हुन्। जय श्रेष्ठले लगानी गरेको फिल्म आलोक शुक्लाको छायांकन र बनिश शाहको सम्पादनमा बनेको छ।
निर्माण टिमले फिल्मको दोस्रो सिक्वेल बनाउने घोषणासमेत गरिसकेका छन्। फिल्ममा समावेश ‘सुन सुन सुन्दरी’ र ‘पहिलो नम्बर’ गीत चर्चित छ।

महाजात्रा

चैत ९ देखि विश्वव्यापी प्रदर्शनरत फिल्म ‘महाजात्रा’ यस वर्षको चर्चित फिल्ममा परेको छ। फिल्मले पहिलो सातामा ६ करोड २४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ। प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको फिल्म ‘जात्रा’ को तेस्रो सिक्वेल हो।

फिल्ममा मुख्य तीन पात्र फणीन्द (विपिन कार्की) जोयस (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा)ले कामको सिलसिलामा एक गाडी पैसा लुकाइदिने संघर्षसहित भष्टाचारी र तस्करीको नाइके पक्रिने कथामा आधारित छ।

कमेडी जनरामा बनेको फिल्ममा अन्य कलाकार हरिवंश आचार्य, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, शिशिर वाङ्देल, सुमन कार्की, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ। फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञेश्वर निरौला हुन्। ‘महाजात्रा’को ‘हाम्रो जोडी’ बोलको गीत निकै चर्चित छ।

कुन महिना कति फिल्म प्रदर्शन?

वैशाखमा आठवटा : ‘जारी’, ‘बिहे पास’, ‘बुलाकी’, ‘प्रसाद २’, ‘नाइँ नभन्नू ल ६’, ‘कैदीको पत्र’, ‘ज्याकी: आई एम ट्वान्टी वान’ र ‘हल्कारा’

जेठमा ६ वटा : ‘डाकिनी’, ‘ए सुन साथी’, ‘टुल्की’, ‘हुक्का’, ‘वेलकम टु हेम्जाकोट’ र ‘नीरफूल’

असारमा तीनवटा : ‘अन्तिम संस्कार’, ‘परस्त्री’ र ‘बगान’

साउनमा तीनवटा : ‘लुङा’, ‘ए ढाक्रे दाई’ र ‘अदृश्य’

भदौमा आठवटा : ‘हिँड्दा हिड्दै’, ‘जुलेबी’, ‘महानगर’, ‘जय हो’, ‘गणपति’, ‘ऐंचो पैंचो’, ‘एक भागवत र एक गीता (सामाजिक कथा) र ‘नाङ्गो गाउँ’

असोजमा चारवटा : ‘कौसीद’, ‘वानर सेना’, ‘बासेन्जी’ र ‘परदेशी २’

कात्तिकमा दुईवटा :  ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘दिमाग खराब’

मंसिरमा दुईवटा : ‘जम्प’ र ‘दुई कदम’

पुसमा दुईवटा : ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’

माघमा दुईवटा : ‘दयारानी’ र ‘हात्तीछाप’

फागुनमा ६ वटा : ‘जिग्री’, ‘गोर्खा वारियर’, ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’, ‘काँडेतार’, ‘उपहार : द जर्नी अफ लाइफ’ र ‘रङ्गेली’

चैतमा चारवटा : ‘महाजात्रा’, प्रदर्शनको तयारीमा  ‘बद्री बहादुर’, ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =