नारायणकाजी कूटनीति?

प्रा.डा. कटक मल्ल २८ चैत २०८० ११:२७
548
SHARES
नारायणकाजी कूटनीति?

परराष्ट्रमन्त्री मुलुकको कूटनीतिक प्रमुख मानिन्छन्। भनिन्छ- परराष्ट्रमन्त्री बन्न  कूटनीतिक ज्ञान, क्षमता, भाषाशैली, विश्लेषणात्मक स्वभाव, वार्ताकार, शारीरिक र मानसिक रूपमा तन्दुरुस्त र साहसी हुनुपर्छ। विशेष गरी युद्ध र शान्तिको अन्तर्राष्ट्रिय राजनीतिमा अनिश्चितता र परिवर्तनको वर्तमान समयमा परराष्ट्रमन्त्रीले होसियारीपूर्वक विचार गर्नुपर्ने हुन्छ। यहाँ परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको कूटनीतिक प्रवृत्ति र उनले आगामी दिनमा अपनाउनुपर्ने व्यवहारका बारेमा चर्चा गरिएको छ। त्यसका लागि चिनियाँ र भारतीय कूटनीतिका प्रसंगहरूलाई सन्दर्भका रूपमा लिइएको छ।

चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री श्रेष्ठ नौदिने भ्रमण सकेर स्वदेश फर्किएपछि श्रेष्ठलाई उद्धृत गर्दै कान्तिपुर संवाददाता (चैत २०, २०८० कान्तिपुर) लेख्छन्, ‘नेपालमा आर्थिक लगानी, व्यापार प्रवर्द्धन, पर्यटन र प्रविधि हस्तान्तरणका तर्फबाट धेरै गम्भीर रूपमा सकारात्मक छलफल भएका छन्… केही समयपछि परिणाम निस्कन्छन्।’ यो भ्रमणबाट के परिवर्तनहरू आउँछन् भविष्यले बताउनेछ। यस सम्बन्धमा नेपालका लागि भारतीय पूर्वराजदूत राजदूत रञ्जित रेको अभिव्यक्ति स्मरणीय  हुन्छ।

रेले आफ्नो पुस्तक ‘काठमान्डू डिलेमा’ मा (सन् २०२१) लेख्छन् – ‘सन् २०१५ पछि नेपाल-भारत सम्बन्धमा कमी आएपछि केपी ओली चीनसँग नजिक भए, दिल्ली डराउन थाल्यो…नेपाल ‘चीनको अंगालोबाट पछि हट्ने’ आशामा छ’ (पृष्ठ ९७)। रेसहित भारतीय लेखकहरू प्रोफेसर एसडी मुनि र राजदूतहरु राकेश सुद, श्याम शरणद्वारा लेखिएका नेपाल-भारत पुस्तक सामग्री विश्लेषण गर्दा यी कुरा स्पष्ट हुन्छन्- उनीहरूको लेखाइमा संरक्षणवादी (पेट्रोनाइजिङ) अभिव्यक्ति देखिन्छ। अर्थात् नेपालीलाई अज्ञानी वा महत्त्वपूर्ण नभएको जस्तो सोच्ने व्यवहार गर्ने तर सम्झाउने उद्देश्यले लेखिएका हुन्छन्। उनीहरूमा आत्म-आलोचकको कमीका कारण विवेकको आत्म-संकट (क्राइसिस सेल्फ अफकन साइन्स) अभिव्यक्ति देखिन्छ। फलस्वरूप र ज्ञानविरोधी (एन्टी-नलेज) हुन्छन्।

नारायणकाजी रञ्जित रेको किताबबाट सजक हुनुपर्छ

परराष्ट्रमन्त्री श्रेष्ठका बारेमा भारतीय पूर्वराजदूत रेले एक आपत्तिजनक अभिव्यक्ति प्रस्तुत गरेका छन् (पृष्ट १५, १६, र १७)। भारतीय राजदूतले नेपाल प्रहरीको आईजीपी तोक्न आफूलाई कसरी सहयोग मागेको भन्ने पनि खुलासा गरेका छन्। रेको पुस्तकको प्रकाशन भएको झण्डै तीन वर्ष बितिसकेको छ तर श्रेष्ठले यस विषयमा अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्।

पूर्वराजदूत रे लेख्छन्, ‘माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चीनसँग निकट मानिन्छन्। एकपटक उहाँले मलाई उहाँको सचिवमार्फत बोलाउनुभयो र उहाँको निवासमा मसँग भेट्न आग्रह गर्नुभयो। म सहमत भएँ, किनभने यो पहिलो पटक भेटिएको थियो। केही महिनापछि मैले उहाँबाट अर्को अनुरोध प्राप्त गरेँ। मैले उहाँलाई इन्डिया हाउसमा बोलाएँ। मैले उहाँको आतिथ्य तिर्न चाहन्छु भनी उहाँको सचिवलाई बुझाएँ। फेरि मलाई बहाना दिइयो र श्रेष्ठको निवास हुँदै जाँदा राम्रो हुन्छ भनियो। भूकम्पको समयमा उहाँले आफ्नो सचिवमार्फत सन्देश पठाउनुभयो- आफ्नो इलाकामा केही राहत सामग्री पठाएर मद्दत गर्न चाहनुहुन्छ। म सजिलैसँग सहमत भएँ र भनेँ, हामीसँग राम्रो हस्तान्तरण समारोह हुन सक्छ। उहाँको राजनीति थाहा पाएर उहाँ सहमत हुनुहुन्न भन्ने मलाई थाहा थियो। अन्ततः आवश्यकतालाई ध्यानमा राख्दै हामीले उहाँलाई केही राहत सामग्री पठायौँ।’

राजदूत रे थप लेख्छन्, ‘यसअघिको सरकारमा परराष्ट्रमन्त्री हुँदा नारायणकाजी श्रेष्ठले पनि विदेशी कूटनीतिज्ञका लागि आचारसंहिता लागू गरेका थिए। उनले परराष्ट्र मन्त्रालयले सबै बैठकको व्यवस्था गरोस् भन्ने चाहे। साथै, यस्तो बैठकमा एक अधिकारी उपस्थित हुनेछ। राजदूत र राजनीतिक नेताहरू दुवैमा ट्याब राख्न एवम् स्वतन्त्र र स्पष्ट कुराकानी रोक्न यो स्पष्ट रूपमा थियो। यो लोकतन्त्रभन्दा एक अधिनायकवादी राज्यलाई ध्यानमा राख्दै थियो। कुनै पनि राजदूतले यो संहिताको वास्ता गरेनन्, न राजनीतिक नेताहरूले। संयोगवश नारायणकाजी श्रेष्ठ आफैँले मलाई एक्लै भेट्नुहुन्छ।’

उल्लिखित भारतीय राजदूतले लेखेको (निन्दनीय आलोचना) सही हो वा होइन त्यसको जवाफ परराष्ट्रमन्त्री श्रेष्ठले दिनु आवश्यक छ। यो सत्य हो भने मन्त्री श्रेष्ठले गल्ती दोहोर्‍याउनु हुँदैन।

चीनमा ‘कमरेड’ शब्द प्रयोग गर्नु हुँदैन

‘शिष्टाचार कसरी महत्त्वपूर्ण हुन्छ’ भन्ने चिनियाँ कूटनीतिज्ञ फू यिङको पुस्तक ‘माई एटिकेट जर्नी’ (सन् २०२१) मा उल्लेख छ।  उनले ३० वर्षको करियरमा शिष्टाचारबारे के सिकायो भन्ने लेखेकी छिन्। अन्य देशमा जस्तै चीनमा शिष्टाचार आफ्नै खालको हुनु स्वाभाविक हुन्छ। शिष्टाचारको इसारा र शरीर भाषा कसरी सम्बोधन गर्ने, भोजन र रेस्टुरेन्टमा शिष्टाचार कसरी गर्ने, उपहार कसरी आदानप्रदान गर्ने, व्यापार सम्बन्ध प्रवेश कसरी कायम गर्ने, व्यावसायिक परिस्थितिमा कसरी व्यवहार गर्नेजस्त विषय चीनको राजनीतिक संस्कृतिसँग सम्बन्धित छन्।

नेपालका कम्युनिस्ट पार्टीहरुले आफूलाई चिनियाँ कम्युनिस्ट पार्टी नजिक रहेको दाबी गर्छन्। ‘नेपालमा चिनियाँहरूको ओहोरदोहोरको एजेन्डामा कम्युनिस्ट एकता शीर्ष स्थानमा छ’ (अनिल गिरी, काठमाडौँ पोस्ट जनावरी १९, २०२४)। नेकपा-एमाले र माओवादीबीच गठबन्धन हुँदा प्रायः भारतीय भन्छन् – यो गठबन्धन चिनियाँहरूले आयोजना गरेको हो। तर नेपालले आर्थिक रूपान्तरणका लागि चीनबाट कुनै ठोस सहयोग प्राप्त गर्न सकेको छैन। चीनले नेपालको कम्युनिस्टलाई साँच्चै विश्वास गर्छ भन्ने शंकास्पद छ। यी कम्युनिस्ट पार्टीहरू सत्तामा हुँदा भारतसँग ऊर्जा सन्धि गरेका छन्।

कूटनीतिमा सम्भव भएसम्म चीनसँग स्थापित सम्बन्धहरू प्रयोग गर्न रामो हुन्छ भनिन्छ। चिनियाँहरू दुवै पक्षद्वारा भरपर्दो मध्यस्थकर्तामार्फत सम्पर्क गर्न रुचाउँछन्। सामान्यतया चिनियाँहरू अपरिचितहरूसँग व्यापार गर्न मन पराउँदैनन्। त्यसमा पनि मध्यस्थकर्ता चाहिन्छ। परिचय दिँदा उठ्नु र परिचयभरि खडा रहनु कूटनीतिक मर्यादा मानिन्छ। चीनमा पनि परिचय गर्दा र गराउँदा हात मिलाउने परम्परा छ। चिनियाँहरू शिर निहुराउन थोरै झुक्छन्। परिचय दिने क्रममा उनीहरूले पहिले आफ्नो पारिवारिक (अन्तिम) नाम बताउँछन् त्यसपछि नाम। उदाहरणका लागि चिनियाँ भाषामा लिउ जियानगुओ, पश्चिमी शैली प्रयोग गरेर श्री (मिस्टर) जियानगुओ लिउ। एंग्लो-स्याक्सन कूटनीतिक शब्द र शिष्टाचार चीनमा भन्दा बढी भारतमा उपयोगी हुन्छन्। जस्तै- सम्मानजनक शब्द (महामहिम) र अन्य कूटनीतिक सीपहरू प्रयोग गर्नु।

चीनमा ‘कमरेड’ शब्द गर्नु उपयुक्त हुँदैन भनिन्छ। यद्यपि चीन कम्युनिस्ट मुलुक हो (नेपाली कम्युनिस्टले ‘कमरेड’ शब्द प्रयोग गर्छन्)। चिनियाँ भाषामा ‘कमरेड’ को समानार्थी शब्द ‘तोंग्ज्ही’ प्रयोग गरिन्छ। कूटनीतिक भाषामा प्रस्तावलाई सीधै अस्वीकार गर्नु अशिष्ट मानिन्छ। उदाहरणका लागी जब एक भारतीय कूटनीतिज्ञले ‘म प्रयास गर्नेछु’ भन्ने जवाफ दिन्छ भने सामान्यतया त्यसको अर्थ नकारात्मक (‘नो’ वा नाइँ) हुन्छ। चिनियाँहरूको नाइँ भन्ने तरिका फरक छ। उनीहरूले बहाना संकेत गर्न सक्छन्।जस्तै- ‘म चाहन्थेँ तर मेरो कार्य तालिकाले भ्याउँदैन’ वा म ‘अन्त कतै व्यस्त छु’ आदि, इत्यादि।

चीन र भारतमा अन्धविश्वास

कूटनीतिज्ञ अन्धविश्वासी हुनु हुँदैन तर समाजमा अन्धविश्वास कस्तो छ भन्ने ज्ञान हुनुपर्छ। अतिथि देशका मानिसले कस्तो सोच्छन् भनी जान्नु सार्वजनिक कूटनीतिका लागि उपयोगी हुन सक्छ। उदाहरणका लागि विशेष शुभ दिन प्रयोग गर्न भारतीयहरूले अक्सर कूटनीतिक वा राजनीतिक प्रवचनमा रामायण र महाभारतका प्रसंग उद्धृत गर्छन्। सद्भाव, परोपकार, शिष्टाचार, बुद्धिमत्ता, इमानदारी र बफादारी परम्परागत चिनियाँ सांस्कृतिक मूल्य हुन्। जनवादी गणतन्त्र चीन स्थापनापछि अन्धविश्वासका विचार हट्सन थालेपनि चीनमा अझै अन्धविश्वासका विचार निकै मात्रामा छन्। चीनका आधाभन्दा बढी स्थानीय अधिकारीहरू कम्युनिस्ट पार्टीका सदस्यहरू (प्रतिबन्धित) भाग्य बताउने राशिफल र अन्य अन्धविश्वासमा विश्वास गर्छन्। भारतमा जस्तै चीनमा अनुहार र ताराहरू पढ्ने र सपना भविष्यवाणी गर्नेमा विश्वास गर्छन्। चीनमा टुटेको ऐना, नम्बर चारलाई अशुभ मानिन्छ किनभने यो ‘मृत्यु’ का लागि शब्दजस्तै सुनिन्छ र त्यसैले चिनियाँ भवनमा प्रायः चौथो तलाको अभाव हुन्छ। चीनमा घडी उपहार दिनु भनेको कसैलाई अन्तिम बिदाइ गर्नुजस्तै हो।

विशेषज्ञहरु भन्छन्- अन्धविश्वासी समाजमा मानिसको सामाजिक कल्याणमा नकारात्मक प्रभाव पार्न सक्छ किनभने तिनीहरू वित्तीय जोखिम लिने र जुवा खेल्ने व्यवहारसँग अत्यधिक सम्बन्धित छन्। अर्थतन्त्रको विकाससँगै चिनियाँ नागरिकको जीवनस्तरमा धेरै सुधार भएको छ तर धेरै विकसित देशहरूको तुलनामा अझै ठूलो खाडल छ। चीनको राष्ट्रिय शक्ति, प्रभाव र अन्तर्राष्ट्रिय स्थिति सबै विषयमा विगत दशकहरूमा वृद्धि भएको छ। विश्व परिवेशमा आएको ठूलो परिवर्तनले चिनियाँ कूटनीतिको मूल्याङ्कन र परिमार्जनका कारणले चिनियाँ कूटनीति एक अन्तर्राष्ट्रिय शक्तिका रुपमा उदय भएको छ। जब कसैले चिनियाँ कूटनीतिको अर्थ बुझ्ने वा बुझाउने प्रयास गर्छ उसले चीनको सरकारी नीति अन्तर्गत के विषयको विरोध, के को समर्थन र साथसाथै यसले के रक्षा गर्न खोज्छ भन्ने बुझ्नु महत्त्वपूर्ण हुन्छ।

असंलग्न परराष्ट्र नीति

असंलग्न आन्दोलन चीनको विश्वव्यापी भूराजनीतिक महत्त्वाकांक्षासँग मेल खान्छ, यद्यपि चीन असंलग्न आन्दोलनको सक्रिय सदस्य भएको छैन (पर्यवेक्षक सदस्य हो)। भारतले असंलग्नतालाई बहुसंलग्नतामा परिवर्तन गरेको छ। अन्तर्राष्ट्रिय द्वन्द्वका समयमा आफूलाई कुनै पनि सैन्य ब्लकसँग पङ्क्तिबद्ध नहुने नेपालको असंलग्न परराष्ट्र नीति छ। तटस्थता र असंलग्नता दुई फरक नीति हुन्। युद्धको समयमा तटस्थताले गैरहस्तक्षेपवादी नीति स्थापित गर्छ। असंलग्नता भनेको एक वा अर्को प्रकारको सैन्य गठबन्धनमा संलग्न नहुनु हो। मेरो विचारमा नेपालको भूराजनीतिक अवस्थाका आधारमा असंलग्न नीति उपयुक्त हुन्छ। तटस्थताले नीतिको लचकता बाँध्छ। असंलग्न नीतिले नीतिहरू सञ्चालन गर्न ठाउँ दिन्छ, महत्त्वपूर्ण समयमा नीतिलाई चलाउन मद्दत गर्दछ।

युक्रेन र गाजाको सन्दर्भमा नेपालले बढी आवाज उठाउनुपर्ने थियो। असंलग्न परराष्ट्र नीतिका कारण नेपालले युक्रेनमा रूसी आक्रमणको विरोधमा संयुक्त राष्ट्रसंघमा मतदान गर्‍यो। नेपाल तटस्थ राज्य भएमा यस्तो भोटिङ गर्नु विरोधाभासपूर्ण हुन्थ्यो। दक्षिण अफ्रिकाको असंलग्न विदेश नीतिमा प्यालेस्टिनीहरूलाई समर्थन देखाउँदै आएको छ। नेपाल र भारतले पहिले प्यालेस्टिनीहरूलाई समर्थन दिएका थिए तर अहिले दिएका छैनन्।

अन्तर्राष्ट्रिय कानुनको सबैले उल्लंघन गर्छन् भने एक्लै पालना कुनै अर्थ छैन भन्ने विचार यदाकदा आउन सक्छ। यस्तो सोच नेपालको हितमा छैन। चीन र भारतले आवश्यक पर्दा अन्तर्राष्ट्रिय कानुनलाई बेवास्ता गर्न सक्छन्। तर नेपालले अन्तर्राष्ट्रिय कानुनलाई बेवास्ता गर्न सक्दैन। असंलग्नता नै नेपालको राष्ट्रिय हित हासिल गर्ने एक मात्र उपयोगी माध्यम हो। जुन दिन नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन्छ त्यो दिन अहिलेभन्दा बढी विपत्तिमा प्रवेश गर्नेछ।

प्रकाशित: २८ चैत २०८० ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =