कांग्रेसद्वारा सदन अवरोध [तस्बिरहरू]

दिपेश श्रेष्ठ २७ चैत २०८० १३:३९
10
SHARES
कांग्रेसद्वारा सदन अवरोध [तस्बिरहरू]

काठमाडौँ– नेपाली कांग्रेसले बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।  दुई घण्टा ढिला सुरु भएको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी दिएका हुन्।  नेपाली कांग्रेसकी सांसद सुशीला थिङले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानबिन गठन गर्नुपर्ने माग गरेकी थिइन्।

थिङले सडकमा लाखौँको संख्यामा सहकारी पीडितहरू लडिरहेको बताइन्। यसैगरी अर्बौँको रकम अपचलन भएको कुरा आएको उनको भनाइ छ।

उनले भनिन्, ‘सूर्यदर्शन सहकारीसहित ६ वटा सहकारीबाट एक अर्ब रुपैयाँ गोरखा मिडियामा लगानी भएको छ। कम्पनीले एक अर्ब रुपैयाँ लैजान पाउँछ कि पाउँदैन? यो गैरकानुनी काम गर्नेले दण्ड पाउँछ कि पाउँदैन? पाउँछ भने गोरखा मिडिया कम्पनीको सञ्चालक खोज्नु पर्दैन? कम्पनीले अर्बौँ रकम लिँदाका सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन? रवि लामिछानेका ठाउँमा जोसुकै भएको भए अनुसन्धान हुन्थ्यो होला? कानुन लाग्थ्यो होला?’

रवि लामिछाने भएकाले अनुसन्धान नै रोकिएको थिङले बताइन्। साथै उनले सरकार जबाफदेही हुनुपर्नेमा जोड दिइन्।  थिङले कांग्रेस संसदीय दलको बैठकको निर्णय पढाएर सुनाएकी थिइन्।

सत्ता पक्षीय सांसद मनीष झालाई बोल्न समय दिएपछि प्रतिपक्ष दलका सांसदहरूले विरोधमा उभिएका थिए। सत्ता पक्षीय सांसदहरूले पनि उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले पटकपटक गरेको आग्रह अस्वीकार गर्दै प्रतिपक्षीले संसद् बैठक अवरुद्ध गरेका हुन्।

यसअघि नेपाली कांग्रेसको संसदीय दलले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ। कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकपछि सहकारीको रकम अपचलमा स्वयं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका थिए।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री नै संलग्न भएकाले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि संसदीय समिति गठनको माग गरेको थियो। आफ्नो मागप्रति सरकार गैरजिम्मेवार हुन्छ र समिति नबनेसम्म संसद्मा हुने अवरोधको जिम्मा स्वयं सरकारले नै लिनुपर्ने कांग्रेसको भनाइ थियो।

   

प्रकाशित: २७ चैत २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =