पिस कोरका २२ स्वयंसेवकले लिए शपथ

हिमाल प्रेस २२ चैत २०८० १९:२७
पिस कोरका २२ स्वयंसेवकले लिए शपथ

काठमाडौँ- पिस कोरका २२ स्वयंसेवकहरूले आज (बिहीबार) अमेरिकी राजदूत डिन आर. थम्पसन र पिस कोर-नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ लिएका छन्।

यससँगै यी नयाँ स्वयंसेवकहरू नेपालमा काम गरिसकेका झन्डै ४ हजार पिस कोर स्वयंसेवकहरूको सङ्ख्यामा जोडिएका छन्।

सन् १९६२ यता नेपाल आएका अमेरिकी स्वयंसेवकहरूको यो २०९औँ समूह हो। नेपाली र अमेरिकी सरकारबीच सन् १९६२ मा नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो।

कार्यक्रममा बोल्दै राजदूत थम्पसनले भने, ‘सन् १९६१ मा पिस कोर कार्यक्रमको स्थापना हुँदा राष्ट्रपति केनेडीले भन्नुभएको थियो, ‘स्वयंसेवक पुरुष र महिलाहरूले आफूलाई खटाइएको देशका नागरिकहरूसँगै काम गर्नेछन् र उनीहरूसँगै बस्नेछन् अनि उनीहरूले गरेकै काम गर्नेछन्, उनीहरूले खाएकै खाना खानेछन्, उनीहरूले बोलेकै भाषा बोल्नेछन् भन्ने अपेक्षा गरिन्छ’ यो कुरा त्यस बेला पनि सत्य थियो र अहिले पनि उस्तै छ।’

पिस कोरका स्वयंसेवकहरू नेपाली परिवारसँग बस्ने, उनीहरू र समुदायका अन्य सदस्यसँगै खाना खाने, नेपाली भाषा सिक्ने, तलबको साटो थोरै भत्तामा काम गर्ने गरेको उनले बताए।

गत माघ महिनामा नेपाल आइपुगेका यी २२ जना पिस कोर स्वयंसेवकले आफ्नो सेवाको तयारीस्वरूप काभ्रे जिल्लामा ११ हप्‍ता लामो सघन भाषिक, अन्तर्सांस्कृतिक तथा प्राविधिक प्रशिक्षण पूरा गरेका छन्। स्वयंसेवकहरूलाई गण्डकी तथा बागमती प्रदेशका पाँच जिल्लामा खटाइएको छ, जहाँ उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको समन्वयमा सरकारी विद्यालयहरूमा अंग्रेजी पढाउनुका साथै खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्ने दूतावासले जनाएको छ। यस नयाँ समूहसँगै नेपालका सात जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकहरूको संख्या ४० पुगेको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पिस कोर विश्‍व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको अन्तर्राष्‍ट्रिय सेवा सञ्‍जाल हो । विश्‍वभरिका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्‍त परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्दछन्।’

प्रकाशित: २२ चैत २०८० १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =