वाइडबडी घोटाला : विदेशी नागरिकसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा*

हिमाल प्रेस २२ चैत २०८० १५:३७
276
SHARES
वाइडबडी घोटाला : विदेशी नागरिकसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा* जीवनबहादुर शाही

काठमाडौँ- वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा विदेशी नागरिकसहित ३३ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार दिउँसो ३ बजे विशेष अदालतमा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३३ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

विशेष अदालतका सहायक प्रवक्ता यज्ञराज रेग्मीका अनुसार मुद्दा दर्ता भइसकेको र म्याद लिने प्रक्रिया सुरु भएको छ।
‘अख्तियारले वाडडबडी खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै ३३ जनाविरुद्ध मुद्दा दायर गरेको छ,’ उनले हिमालप्रेससँग भने, ‘अख्तियारले एक अर्ब ४७ करोड १० लाख ८५ हजार आठसय ८२ रुपैयाँ रकम बिगो माग गरेको छ।’

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकार, तत्कालीन भन्सार विभाग प्रमुख शिशिर ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने, पर्यटन सचिव शंकर अधिकारीलगायत ३३ जनाविरुद्ध मुद्दा दायर भएको हो।

२०७३ मा करिब २४ अर्ब रूपैयाँमा दुईवटा वाइडबडी एयरबस जेट विमान खरिद प्रक्रिया अघि बढाइएको थियो। निगमले दुईवटा वाइडबडी विमान भित्र्याएलगत्तै खरिद प्रक्रिया अपारदर्शी भएको भन्दै लामो समययता विरोध हुँदै आइरहेको छ।

संसदको सार्वजनिक लेखा समितिले २०७५ सालमा गरेको छानबिनमा विमान खरिद गर्दा निगमलाई करिब ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ नोक्सान भएको ठहर गरेको थियो।

*शीर्षक सच्याइएकाे।

प्रकाशित: २२ चैत २०८० १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =