सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट-वे प्रकरण : विकल र सुनिल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति

हिमाल प्रेस १८ चैत २०८० १५:२९
6
SHARES
सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट-वे प्रकरण  : विकल र सुनिल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति

काठमाडौँ– भ्रष्टाचार आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमति पाएको छ।

विशेष अदालतले आइतबार उनीहरू दुईलाई थप २१ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो। अख्तियारले उनीहरूलाई १० माघमा पक्राउ गरेको थियो। त्यसयता उनीहरू अख्तिारको हिरासतमा छन्।

गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी उपर विशेषमा मुद्दा चलाइएका पौडेलद्वयलाई आयोगले बयानका लागि पटक-पटक आउन ताकेता गर्दा पनि नआएपछि नियन्त्रणमा लिएको थियो। सुनिलमाथि नेसनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोप लागेको छ भने विकलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको आरोप छ। नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना नै उनीहरूले विदेशी बैंकमा खाता खोलेर रकम जम्मा गरेको अख्तियारले बताएको छ।

‘…नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको र विकल पौडेलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति(पीआर)समेत लिएको’  अख्तियारले भनेको छ।

दुई सचिवसमेत मुछिएको नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिलसहित ९ जनाविरुद्ध गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। त्यतिबेला पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक थिए।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) अन्तर्गत खरिद भएको पेमेन्ट गेटवेमा संलग्नहरूमाथि अख्तियारले २३ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। यस्तै, गत वैशाखमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकलसहित ९ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विकलसहित ९ जनाविरुद्ध मुद्दा हालेको थियो। अख्तियारले विकलविरुद्ध ६९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी माग गरेको थियो।

प्रकाशित: १८ चैत २०८० १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =