आमा र छोरी सँगै एसईईको तयारीमा

हिमाल प्रेस १३ चैत २०८० १६:५७
296
SHARES
आमा र छोरी सँगै एसईईको तयारीमा फाइल तस्बिर

भक्तपुर– सुमित्रा अधिकारी उमेरले ६० वर्ष भइन्। रामेछापमा जन्मेर काभ्रेपलाञ्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोट बस्दै आएकी उनी यतिबेला नाति उमेरका किशोरकिशोरीसँगै यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुँदैछिन्।

श्रीमान् पण्डित्याइँ गर्ने, छोराबुहारी र नातिनातिनी लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा पूरा गर्न उनी मध्यपुरथिमि नगरपालिका‐३ गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयमा भर्ना भएकी थिइन्। सुरुमा अंग्रेजी र गणित विषय अलि गाह्रो लागे पनि एसईई परीक्षा उत्तीर्ण गर्ने सपना पूरा गर्ने अठोटले उनी यहाँसम्म आइपुगेकी हुन्।

‘सानैदेखि पढ्ने इच्छा थियो। रामेछापमै भाइलाई विद्यालय पुर्‍याउन जाँदा कक्षा ३ सम्म त पढेँ’, उनले भनिन्, ‘त्यसपछि छोरी मान्छेले पढ्नुहुँदैन भनेर छुटाइदिनुभयो। अठार वर्षमै विवाह भयो। त्यसपछि पढ्ने रहर त्यत्तिकै छुट्यो।’

उनी त एउटा उदाहरणीय पात्र मात्रै हुन्। विगतका वर्ष जस्तै यस वर्ष पनि आस्था महिला विद्यालयबाट उनीजस्ता १२ जना हजुरआमा एसईई दिँदै छन्। बिहान र साँझ घरको काम सकाएर उनीहरू बाँकी समय पढाइमा बिताउँछन्। त्यसैमध्येकी एक हुन्, ३८ वर्षे अम्बिका अधिकारी। उनी घरको सबैकाम सकेर दिनभर पढाइमा व्यस्त हुन्छिन्।

करिष्मा आँटले साहस दियो

सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित आशापुरीकी ३८ वर्षीया कुमारी तामाङलाई नायिका करिष्मा मानन्धरले एसईई दिएको समाचारले उत्साहित बनायो। सिन्धुपाल्चोकमा जन्मिएर विवाह गरी आशापुरी आएकी उनीको विवाहपछिको पढाइ छुटेपनि पढ्ने रहर भने छुटेको थिएन।

तामाङ भन्छिन्, ‘पढ्ने रहर मरेकै थिएन,कक्षा पाँचसम्म त पढेकै हो, दैनिक समाचार हेर्ने पढ्ने गर्थे, एकदिन पत्रिकामा हिरोइन करिष्मा मानन्धरले एसईई दिएको फोटो समाचार देखेँ, त्यसपछि गुगलमा कहाँ–कहाँ महिला पढ्ने स्कुल छन् भनेर सर्च गर्दै गएँ, यो विद्यालय देखेँ। भोलिपल्टै विद्यालय आएँ र पढ्न सुरु गरेँ।’

उनी बिहान घरको सबै काम सकाएर छोरीलाई प्ले ग्रुपमा राखेर १० बजेको विद्यालय भेट्याउन पुग्छिन्। साँझ घरमा छोराछोरीसँगै गृहकार्य गर्छिन्। सुरुमा गाई र बाख्रा पालेर बस्न सुझाव दिनेहरू अहिले उनको आँट देखेर प्रशंसा गर्न थालेका छन्।

जिरी दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका‐४ हर्षचोक बस्दै आएकी ३० वर्षीया राधिका खत्री १६ वर्षीया छोरी जेनिशासँगै एसईई परीक्षा दिने तयारीमा  छिन्। कक्षा ५ सम्म माइतीमै पढेकी उनले विवाहपछि छुटेको पढाइलाई आस्था महिला विद्यालयले जोडिदिएपछि एसईईमा आफ्नै छोरीसँगै सहभागी हुने अवसर जुटेको छ।

एसईई परीक्षा उत्तीर्ण गरी जेटिए पढ्ने लक्ष्य लिएको बताउँदै उनले सुरुमा घरबाट पढ्न नजाउ भन्दा भागी भागी विद्यालय आउने गरेको र अहिले परिवारले सहयोग गर्दा अगाडि बढ्न सहज भएको अनुभव सुनाइन्। आफूलाई नआएको छोरीले सिकाउने गरेको बताउँदै उनले भनिन्,’परीक्षा नजिक आयो, हामी आमाछोरीसँगै पढ्छौँ, नआएको कुरा छोरीले सिकाउँछिन्, एसईई पास गरेपछि मेरो कृषि पढेर जेटिए बन्ने लक्ष्य छ,छोरीको नर्स पढ्ने लक्ष्य छ।’

खोटाङ घरभई हाल सूर्यविनायक‐३ बालकोट बस्दै आएकी ५२ वर्षकी शोभा राईले माइतीमा कक्षा २ बाट छुटेको पढाइलाई यसै विद्यालयमार्फत अघि बढाएकी छन्। श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्वाह नगरी विद्यालय आएको सुनाउँदै उनी पहिला कुरा काट्नेहरू अहिले प्रशंसा गर्न थालेको बताउँछिन्।

जेठानीले यसै विद्यालयबाट एसईई दिएपछि श्रीमान् आफैँले यही स्कुलमा भर्ना गरिदिएर कक्षा ५ बाट छुटेको पढाइ पूरा गर्ने अवसर जुरेको रामेछाप घरभई बालकोट आइएकी ४० वर्षीया जुनकिरी थापामगरले सुनाइन्।

त्यस्तै कथा ४२ वर्षे भवानी भुजेलको पनि छ। उमेरले चार दशक कटेपनि उनीमा पढ्ने जाँगर भने मरेको छैन। साँखु जन्मेर हाल सिपाडोल हुँदै सल्लाघारी बस्दै आएकी उनलाई श्रीमान्, स्नातकोत्तर तह पढ्दै गरेको छोरा र स्नातक तहकी छोरीले पढ्न सहयोग गरेकाले एसईईसम्म आइपुगेको बताउँछिन्।

२०७२ को भूकम्पले दोलखाबाट नयाँठिमी बसाइँ सरेकी ३८ वर्षीय अम्बिका अधिकारी यहाँ आएर जागिर गर्ने क्रममा आफ्नै नामसम्म चिन्न नसक्दा पढाइको वास्तविक महत्त्व बुझेर यही स्कुलबाट पढाइ सुरु गरेको बताउँछिन्।

मध्यपुरथिमिकी स्थानीयवासी ४५ वर्षीया कृष्णमाया तकोको कक्षा १२ सम्म पढ्ने इच्छा आउँदो एसईईपछि पूरा हुने बताउँछिन्। छोराछोरी स्नातक तहसम्म पढाएकी उनले विवाहअघि ५ कक्षाको पढाइ पूरा गरे पनि थप पढ्ने इच्छा भने अब पूरा हुने भएको छ।

यही विद्यालयबाट एसईईको तयारीमा रहेका राधिका आचार्य, सरला भण्डारीलगायतले पढ्ने महिलाहरुले नै आफू पढ्न आउँदा कुरा काट्ने गरेको बताउँदै जसले कुरा काटेपनि एसईई परीक्षा उत्तीर्ण हुने अठोट राखेका छन्। २०६९ देखि एसईई परीक्षामा सहभागी हुँदै आएका यस विद्यालयका हजुरआमाले अहिलेसम्म १२ औँ समूहसम्म आइपुग्दा एक सय ६२ जनाले एसएलसी तथा एसईई  दिइसकेको आस्था महिला विद्यालयकी प्रधानाध्यापक बिना देउजाले बताइन्।

प्रकाशित: १३ चैत २०८० १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =