आईपीएल : हैदराबादमाथि कोलकताको रोमान्चक जित

हिमाल प्रेस ११ चैत २०८० ७:५३
12
SHARES
आईपीएल : हैदराबादमाथि कोलकताको रोमान्चक जित इन्डियन प्रिमियर लिग

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदराबादविरुद्ध चार रनको जित निकालेको छ।

शनिबार राति इडेन गार्डेनमा सम्पन्न खेलमा कोलाकाताले चार रनको रोमाञ्चक जितसहित विजयी सुरुआत गरेको हो।

कोलकाताले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०४ रनमात्र बनाउन सक्यो।

हैदराबादका हेनरिक क्लासेनले आक्रामक ब्याटिङ गर्दै २९ बलमा आठ छक्कासहित ६३ रन बनाए पनि टिमको हार टार्न सकेनन् । मयंक अग्रवाल र अभिषेक शर्माले समान ३२ रन जोड्दा राहुल त्रिपाठीले २०, आइदेन मार्करमले १८, सहबाज अहमेदले १६ र अब्दुल समादले १५ रन थपे।

कोलकाताका हर्षित रानाले तीन विकेट लिए। चार ओभर बलिङ गरेका हर्षितले ३३ रन खर्चिए । आन्द्रे रसेलले दुई विकेट लिँदा वरुण चक्रवर्ति र सुनिल नारिनले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २०८ रनको योगफल खडा गरेको थियो। कोलकाताबाट आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले २५ बलमा तीन चौका र सात छक्कासहित ६४ रन बनाए। ११९–६ को अवस्थाबाट उनले रिंकु सिंहसँग ८१ रनको साझेदारी गर्दै कोलकातालाई बलियो योगफलसम्म डोहोर्याएका थिए। रिंकले २३ रन थपे।

ओपनर फिल साल्टले ४० बलमा तीन चौका र तीन छक्कासहित ५४ रन बनाए। ५१–४ को कठिन अवस्थाबाट साल्टले रमनदीप सिंहसँग ५४ रनको साझेदारी गर्दै कोलकाताको मध्यक्रम सम्हालेका थिए । रमनदीपले ३५ रन जोडे।

हैदराबादका टी नटराजने तीन विकेट लिए। मयंक मार्कन्डेले दुई विकेट लिँदा कप्तान प्याट कुमिन्सले एक विकेट हात पारे।

शनिबारकै पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध चार विकेटको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो।

प्रतियोगितामा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै, दोस्रो खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =