एमाले कास्की अधिवेशन सुरु, सर्वसम्मत नेतृत्व चयनकाे प्रयास गरिँदै

विजय नेपाल १० चैत २०८० १६:०९
12
SHARES
एमाले कास्की अधिवेशन सुरु, सर्वसम्मत नेतृत्व चयनकाे प्रयास गरिँदै

पोखरा- नेकपा एमाले कास्कीको ११औँ जिल्ला अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ। नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओली नआएपछि महासचिव शंकर पोखरेलले अधिवेशन उद्घाटन गरेका छन्। पार्टीलाई एकताबद्ध गराएर लैजानुपर्नेमा पार्टीको जिम्मेवार पदमा रहेका नेताहरूकै गुट देखिएको छ।

मौसमको खराबीसँगै स्वास्थ्य अनुकूल नभएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली नआएको एक नेताले जानकारी दिए। जारी उद्घाटन समारोहमा बोल्ने वक्ताले पार्टी एकतामा जोड दिँदै मिसन–८४ सफल पार्नुपर्ने बताएका छन्। एकतामा जोड दिइए पनि एमाले कास्कीमा भने आन्तरिक कलह छ। यहाँ गण्डकीका पूर्वमुख्यमन्त्रीहरू समेत रहेका एमाले नेताहरू पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको प्यानल देखिने गरेका छन्।

यसै वर्ष भएको एमाले गण्डकीको पहिलो अधिवेशनमा पनि पार्टी उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारीको प्यानल सतहमै देखियो। गुरुङ प्यानलबाट नेतृत्वमा बाजी मारेका नवराज शर्मा समर्थित कार्यकर्ताले अधिवेशनस्थल पोखरा सभागृहमा ‘पिआर कमरेड हाईहाई’ भन्दै नाराबाजी गरेका थिए।

गत वर्षकाे स्थानीय तह चुनावमा पोखरा महानगरको मेयर टिकटमा पनि आन्तरिक कलहले एमालेले उपमेयर जिते पनि कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीलाई मेयर पद सुम्पिन पुगेको थियो। अहिले जारी कास्की जिल्ला अधिवेशनमा पनि नयाँ नेतृत्व छानिँदै गर्दा गुरुङ र अधिकारी प्यानलले नेतृत्वमा आ–आफ्नो दाबी गरेका छन्। शनिबार साँझसम्म सर्वसम्मत प्रयास सफल नभए आइतबार मतदान प्रक्रियामा जाने सम्भावना छ।

कास्की जिल्ला इन्चार्जको जिम्मेवारी पाएकी थममाया थापा कास्की जिल्ला गण्डकी प्रदेशकै राजधानी पोखरा भएकोले यहाँबाट सर्वसम्मत् गरी एकताको सन्देश दिनुपर्नेमा आफूहरूको जोड रहने बताउँछिन्। उनका अनुसार पार्टीमा विचारबारे छलफल र बहस स्वभाविक भएको र यसलाई गुटउपगुटको संज्ञा दिन नहुने जिकिर गर्छिन्। तर, गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म म्याग्दी र गोरखाको सम्पन्न अधिवेशनमा गुट उपगुट देखिएको थियो।

म्याग्दीले सर्वसम्मत पदाधिकारी पाए पनि गोरखामा मतदानबाट टुंगो लगाइएको थियो। कास्कीमा आगामी नेतृत्वका लागि अहिलेका सचिव बैनबहादुर अधिकारी क्षत्रीले आकांक्षा राखेका छन्। उनी खगराज अधिकारीनिकट मानिन्छन्। यस्तै, पृथ्वीसुब्बा गुरुङनिकटका दीपक पौडेल, माधव बास्तोला, तेजनारायण अधिकारी पनि नेतृत्वको लागि चर्चामा छन्। सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), कर्णबहादुर गुरुङ, सुरेन्द्र गुरुङ लगायतको चर्चा छ।

दुई दिनसम्म चल्ने अधिवेशनको दोस्रो दिन आइतबार बन्दसत्र लगायत चुनावी कार्यक्रम पोखरा सभागृह हलमा हुनेछ। आगामी २ वर्षका लागि १ सय २२ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष मनबहादुर गुरुङले बताए। त्यसमा १२ जना पछि मनोनीत हुने छन्।

अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधिले भाग लिएका छन्। कास्कीका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, इलाका कमिटी शाखालगायतबाट उनीहरू छानिएका हुन्। जिल्ला अध्यक्ष मनबहादुर गुरुङले राजनीतिक, सचिव बैनबहादुर अधिकारीले संगठनात्मक र कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रकाशित: १० चैत २०८० १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =