इटहरीका विद्यालयमा एकै पोसाक : अदालतले दिएन अन्तरिम आदेश

हिमाल प्रेस ७ चैत २०८० २०:०५
38
SHARES
इटहरीका विद्यालयमा एकै पोसाक : अदालतले दिएन अन्तरिम आदेश

इटहरी- इटहरी उपमहानगरले इटहरी क्षेत्रका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने विषयमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। इटहरी उपमहानगरविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

माघ २५ मा इटहरीको शिक्षा समितिले उपमहानगरभरीका सबै विद्यालयमा भादगाउँले टोपीसहितको पोसाक अनिवार्य गर्ने, निजी विद्यालयहरूले शैक्षिक सामग्री किनबेच गर्न नपाउने, भर्ना शुल्क एकपटकभन्दा बढी लिन नपाउने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सुनसरीले उच्च अदालतमा रिट दायर गरेको थियो। बुधबार न्यायाधीशहरू विपुल न्यौपाने र कृपासुर कार्कीको इजलासले प्याब्सनको मागअनुसार इटहरीको निर्णयविरुद्ध अन्तरिम आदेश दिन नपर्ने ठहर सुनाएको हो।

अदालतले संविधानको एकल अधिकार सूचीमै आधारभूत र माध्यमिक तहको शिक्षा भएको सम्झाउँदै स्थानीय तहलाई त्यस्तो अधिकार हुने बताएको छ।

‘नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल अधिकारको सूचीमा आधारभूत र माध्यमिक शिक्षा उल्लेख भएको एवम् स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले स्थानीय तहलाई आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा ऐन बनाउन सक्ने अधिकार प्रदान गरेको सन्दर्भमा’ आदेशमा भनिएको छ।

‘इटहरी उपमहानगरपालिकाको नगरसभाद्वारा जारी गरेको शिक्षा ऐन, २०७९ को दाता १०२ १ ले नगरपालिकालाई विद्यार्थीको लागि एकै किसिमको पोसाक तोक्न सक्ने अधिकार प्रदान गरेको र ऐनको दफा १३५ ले शुल्क निर्धारण सम्बन्धी व्यवस्था गरेकोमा विपक्षीका तर्फबाट विद्यार्थीसँग लिने शुल्क निर्धारण गरिसकेको भन्ने नदेखिएको र कानून विपरीत शुल्क निर्धारण गरेको अवस्थामा सम्बन्धित विद्यालयले कानुनी उपचारको प्रकृया अवलम्बन गर्न सक्ने अवस्था रहेकै देखिंदा तथा निवेदनमा उठाएको विषय वस्तुका सम्बन्धमा पछि अन्तिम सुनुवाई हुँदाका अवस्थामा उल्लिखित कानुनी व्यवस्था समेतको व्याख्या विवेचना भई ठहरे बमोजिम हुन सक्ने अवस्था रहेकै हुँदा निवेदकको माग बमोजिमको अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिएन।’

प्रकाशित: ७ चैत २०८० २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eleven =