दलित हेल्प डेस्कमा जाँदैनन् पीडित

रमा केसी ४ चैत २०८० १८:४३
30
SHARES
दलित हेल्प डेस्कमा जाँदैनन् पीडित

सुर्खेत– दलितमाथि विभेद, अपमान र हिंसाका घटना हुने तर उजुरी भने नभएपछि सुर्खेतमा दलित सुदायका अगुवाहरूले प्रहरी कार्यालयमै हेल्प डेस्क स्थापनाको माग गरे। लामो प्रयासपछि डेढ वर्षपछि जिल्ला प्रहरी कार्यालयमा ‘दलित हेल्प डेस्क’ स्थापना भयो।

हेल्प डेस्क स्थापना भएपछि समस्या पर्‍यो भनेर एकजना पनि नआएको कार्यालयका महिला सेल प्रमुख प्रहरी नायब निरीक्षक संगीता रसाइलीले बताइन्। जनशक्ति र अन्य व्यवस्था गरे पनि सेवाग्राही नआएपछि हेल्प डेस्क प्रयोगविहीन हुन पुगेको छ।

रसाइलीले भनिन्, ‘धेरैको माग पछि स्थापना भएको दलित हेल्प डेस्कतिर कसैको पनि नजर जान सकेको छैन। डेढ वर्ष अवधिमा एकजनाले पनि सेवा लिन आएका छैनन्।’
रसाइलीका अनुसार दलित समुदायलाई प्रहरीमा सेवा लिन आउँदा सहज होस् भन्ने उद्देश्यले दलित हेल्प डेस्क स्थापना गरिएको थियो। हेल्प डेस्क स्थापना भएपछि त्यहाँ सेवा लिन आउनेछन् भन्ने अपेक्षा पनि प्रहरीलाई थियो।

रसाइलीले प्रहरीमा दलित हेल्प डेस्क स्थापना भएको विषयमा सर्वसाधारणलाई जानकारी दिनुपर्ने सुझाव दिइन्। ‘जसका लागि हेल्प डेस्क स्थापना गरिएको हो, उही समुदाय सेवा लिन नआउने हो भने त्यसको के काम?’ उनको प्रश्न छ। प्रहरीले विभिन्न ठाउँमा सचेतनामूलक कार्यक्रम गर्दा दलित महिला हेल्प डेस्क स्थापना गरेको विषयमा जानकारी गराउँदै आएको छ। साथै सेवा लिन आउन पनि आग्रह गर्दै आएको रसाइलीले बताइन्।

दलित महिला संघ सुर्खेतका अध्यक्ष मञ्जु सुनारले हेल्प डेस्क दलितमैत्री हुन नसक्दा सेवा लिन नआएको बताउँछिन्। प्रहरी कार्यालयभित्रै हेल्प डेस्क स्थापना गरेको हुँदा पीडितहरू सेवा लिन नआएको उनको बुझाइ छ। उनले भनिन्, ‘दलित समुदायका लागि प्रहरीमा दलित हेल्प डेस्क स्थापना हुनु सकारात्मक भए पनि दलितमैत्री हुन नसक्दा सेवा लिन पीडितहरूले असहज मानेका हुन सक्छन्।’

अन्त्तरजातीय विभेदले निम्त्याएका विभिन्न घटनाले पनि हेल्प डेस्कमा आकर्षण नभएको उनले बताइन्। ‘पीडित भएका दलित समुदाय प्रहरीकहाँ जान थप अप्ठ्यारो महसुस गर्ने हुँदा परिसरबाहिर हेल्प डेस्क स्थापना गर्न सकेको भए सहज पहुँच हुन सक्थ्यो।’ विभिन्न बहानामा दलितमाथि विभेद कायमै जारी रहेको र पीडित अवस्थामा कुरा राख्न जाँदा प्रहरीभित्र असहज मान्ने गरेको अध्यक्ष सुनारको बुझाइ छ।

प्रकाशित: ४ चैत २०८० १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =