इटहरीमा मजदुरमाथि नगर प्रहरीको ज्यादती

विवेक विवश रेग्मी १ चैत २०८० १८:३०
232
SHARES
इटहरीमा मजदुरमाथि नगर प्रहरीको ज्यादती तस्बिर : विवेक विवश रेग्मी

इटहरी- इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले मजदुरमाथि बल प्रयोग गरेका छन्। पूर्व-पश्चिम राजमार्गमा गुडिरहेका विद्युतीय ई-रिक्सा (सिटी सफारी) चालकमाथि बिहीबार नगर प्रहरीहरूले लाठी चार्ज गरेका हुन्।  ‘माथिको आदेश भन्दै’ नगर प्रहरीले मजदुर वर्गमाथि लाठी चार्ज गरेपछि मजदुरहरू आक्रोशित बनेका छन्।

यसअघि इटहरी उपमहानगरले मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट यहाँ भित्रने सफारीहरूलाई टाइम कार्ड लागू गरेको थियो। नगर सीमा क्षेत्रभित्र नगरले तोकेको समयसीमा मात्रै सफारी चल्नुपर्ने अन्यथा कारबाहीको प्रक्रिया अगाडि बढाउने उपमहानगरले निर्णय गरेको थियो। टाइम कार्ड लागू गरिएपछि उच्च अदालतमा रिट परेको थियो।

उच्च अदालत विराटनगरले सिटी सफारीलाई रोक्ने र अन्य कुनै पनि प्रकारको कर लिने कार्य नगर्न अन्तरिम आदेश दिएको थियो। सफारी चालकको पेसा व्यवसाय तथा रोजगारीमा प्रत्यक्ष असर पुग्ने भन्दै निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिए पनि उपमहानगरले आफूखुसी मुख्य राजमार्गमा सफारीको कागजपत्र जाँच गर्दै आएको थियो। मुख्य राजमार्गमा ट्राफिक प्रहरीले मात्रै सवारी जाँच गर्न पाउने कानुनी व्यवस्था छ।

कानुनी व्यवस्था लत्याउँदै उपमहानगरले सफारी व्यवस्थापनका नाममा मजदुरमाथि यातना दिएको पीडितहरूको गुनासो छ। सफारी चालक इटहरी ४ निवासी नरबहादुर सुनार भन्छन्, ‘आज नगर प्रहरीले लछारपछार गरी कानुन नै हातमा लिएर लाठी चार्ज गर्‍यो। इटहरीका मेयर हेमकर्ण पौडेलको निर्देशन भन्दै नगर प्रहरीले मजदुरमाथि यातना दियो।’

सुन्दरहरैँचा नगरपालिकाबाट आउने सफारी जाँचका क्रममा सफारी चालकहरूले कुन कानुनमा नगर प्रहरीले चेक गर्ने अधिकार छ भनेर जिज्ञासा राख्दा लछारपछार गर्दै चालकमाथि लाठी चार्ज गरेको पीडित मजदुरहरूको भनाइ छ। नगर प्रहरीको यातनापछि इलाका प्रहरी कार्यालय इटहरीअघि भेला भएका मजदुरमध्ये सुनारले हिमाल प्रेससँग भने, ‘यहाँका नगर प्रहरीहरूले महिलालाई पाए, महिलालाई, पुरुषलाई पाए पुरुषलाई कुट्ने गरेको छ। मेयरले जे मन लाग्यो त्यही गरी नगर प्रहरीलाई कुट्न लगाउनुभएको छ। हाम्रो पेसा यही छ, के गरिखाने?’

मजदुरमाथि अत्याचार भएको उनको दुःखेसो छ। आफूहरूले उपमहानगरले तोकेबमोजिम पालिकामै सिटी सफारी दर्ता गरेर मजदुरी गरे पनि नगर प्रहरीले ज्यादती गरेको उनले बताए।

मुख्य राजमार्ग ट्राफिक प्रहरीको भए पनि नगर प्रहरीले सफारी चालकमाथि दुःख दिएको मजदुरहरूको भनाइ छ। अर्का सफारी चालक मीनराज ढकालले नगर प्रहरीबाट विभिन्न बहानामा कुटपिट गर्ने, लखेट्ने र यातना दिने काम भइरहेको बताए। नगर प्रहरीले सादा कागजमा ‘बाटो इजाजत नभएको’ भन्दै पाँच सय रुपैयाँको चिटसमेत काट्ने गरेको उनले बताए। ‘नगर प्रहरीले सादा पेपरमा चिट काटेर दुःख दिने गरेको छ। सादा कागजमा कुन आधारमा चिट काटियो?,’ उनले भने, ‘हामीले अदालतबाट मुद्दा जितिसकेको अवस्थामा मजदुरलाई लात हान्न मिल्छ?’

सफारी चालकको बिलबुक, लाइसेन्स माग्दै नगर प्रहरीले दुःख दिएको उनको भनाइ छ।

सुन्दरहरैँचा निवासी चालक सरिता सरदारका अनुसार नगर प्रहरी समूहले बाटो छेकेर चालकलाई दुःख दिने गरेको छ। ‘सफारी धकेलेर चाबी खोस्ने, दुःख दिने गरिएको छ,’ उनले भनिन्, ‘अति भएपछि आज त गाडी नै लैजा भनेर बुझाएँ।’ उनले नगर प्रहरीबाट आफूहरू आजित भएको बताइन्।

लाठी चार्जपछि इलाका प्रहरी कार्यालयमा नगर प्रहरीहरूले ‘माथिको आदेश’ भएको र माथि नै कुरा गर्न भनेका छन्। प्रहरी निरीक्षकको कार्यकक्षमा भेला भएका अर्जुन बस्नेतसहितका नगर प्रहरीले मेयर हेमकर्ण पौडेलको आदेश भएको र आफूहरूले जति छलफल गरे पनि केही नहुने प्रतिक्रिया दिए ।

‘मेयर साबको आदेश भएकाले सवारी जाँच गरेका हौँ,’ उनले भने, ‘हामीलाई भनेर पनि केही हुँदैन। उहाँसँगै कुरा गर्नुहोस्।’

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलले सवारीसाधनको जाँच गर्ने अधिकार ट्राफिक प्रहरीलाई मात्रै रहेको बताए। ‘कागजात चेक गर्ने अधिकार ट्राफिक प्रहरीलाई नै हो तर नगरपालिकाभित्र बेग्लै नीति पनि हुनसक्छ,’ उनले भने, ‘नियम उल्लंघन गरेको, कागजपत्र भए, नभएको भन्नेबारे ट्राफिक प्रहरीले मात्रै चिट काट्ने अधिकार छ।’

नगर प्रहरीले पार्किङ व्यवस्थापनको कुरामा मात्रै जरिबाना लिन सक्ने उनको भनाइ छ। नगर प्रहरीलाई चिट काट्ने अधिकार नरहेको एसपी पौडेलले बताए। उनभने, ‘नगर प्रहरीलाई चिट काट्न पाउने अधिकार छैन।’  मेयर पौडेलसँग यसबारे बुझ्न पटकपटक प्रयास गरे पनि फोन सम्पर्क हुन सकेन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =