आरती शाहको मृत्युको अनुसन्धान गर्न सीआईबीको टिम पठाउन गृह मन्त्रालय तयार

हिमाल प्रेस ३० फागुन २०८० ७:१७
22
SHARES
आरती शाहको मृत्युको अनुसन्धान गर्न सीआईबीको टिम पठाउन गृह मन्त्रालय तयार

काठमाडौँ- आरती शाहको शंकास्पद मृत्यु भएको घटनाबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पठाउन गृह मन्त्रालय तयार भएको छ।

मंगलबार गृह मन्त्रालयका अधिकारीहरूले पीडित परिवारसँग सो सहमति गरेका हुन्। ५ बुँदे सहमतिसँगै १० महिनादेखि आन्दोलनरत शाहका परिवारले आन्दोलन फिर्ता लिएका छन्।

सहमति अनुसार २०८० जेठ ७ मा धनुषाको जनकपुर उप-महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा शंकास्पद रूपमा मृत फेला परेकी आरती शाहको मृत्युबारे ब्युरोले थप अनुसन्धान गर्नेछ।

सीआईबीको टोलीलाई जनकपुर पठाउनेसहित ५ बुँदे सहमतिमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई, काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेत र उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरेका छन्।

ब्युरोको टोलीले काम थालेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी अधिकारीहरूले पीडित परिवारमाथि कुटपिट र दुर्व्यवहार गरेको घटनाबारे पनि अनुसन्धान गर्न ब्युरोको टोलीलाई कार्यादेश दिइएको छ।

सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा पुनः अभियोजन गर्न पीडित पक्ष र गृह मन्त्रालयका अधिकृतहरू सहमत भएका छन्।

सहमतिमा आरतीका परिवारको तर्फबाट उनकी आमा निर्मला देवी शाह, दाजु प्रेम शाह र मामा सन्तोषकुमार शाहले हस्ताक्षर गरेका छन्। छलफलमा सांसद प्रभु शाह पनि सहभागी थिए।

प्रकाशित: ३० फागुन २०८० ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =