समीक्षा

फिल्म रङ्गेली : मजबुत कथावस्तुमा फितलो प्रस्तुति

हिमाल प्रेस २८ फागुन २०८० १५:३६
8
SHARES
फिल्म रङ्गेली : मजबुत कथावस्तुमा फितलो प्रस्तुति

काठमाडौँ- शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक फिल्म रङ्गेली अहिले प्रदर्शनमा छ। निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित रङ्गेली यही फागुन २५ गते रिलिजमा आएको हो।

‘ग्याङस्टर’ श्रेणीमा पर्ने यस फिल्ममा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रूपेश झा, सुन्दर धिताल छन्। फिल्म केन्द्रीय पात्रहरू विजय, भगवान् दादा र जुनकिरीको वरिपरि घुम्छ, जसको बाटो अप्रत्याशितरूपमा एकार्कासँग जोडिएको हुन्छ।

विजय (दयाहाङ राई) आमाबाबुको वियोगमा परेको मानिस हो। ऊ बाल्यावस्थादेखि नै तोता भाई यादव (रूपेश झा) की हजुरआमाको साथमा हुर्केको हुन्छ। परिस्थितिले उसलाई अन्धकारको बाटोमा डोर्‍याउँछ । उसलाई फिल्मभित्रको एक शक्तिशाली व्यक्तित्वमा रूपान्तरण गराइएको छ। उसले सानैदेखि समाजमा बलियो आफ्नो स्थान बनाउने दृढ संकल्प राखेको हुन्छ। जसका कारण उसले साथी समेत गुमाउनु र अन्य अकल्पनीय घटना हुनुले फिल्मको कथालाई रोचक बनाएको छ।

रङ्गेलीमा शक्ति र प्रभावको प्रतीकको रूपमा भगवान् दादा (अर्पण थापा) रहेको छ। ऊ राजनीतिक आरोहणको ठूलो महत्वाकांक्षामा छ। विजय र भगवान् दादाबीचको असमझदारी फिल्मको केन्द्रीय द्वन्द्व र शक्ति हो। विरोधाभासयुक्त विचारधारा र व्यक्तिगत प्रतिशोधले उत्तेजित विजय र भगवान्को सम्बन्ध द्वन्द्वमा परिणत हुन्छ।

उनीहरूको एक पटक-सम्बन्धित सम्बन्ध विश्वासघात र महत्वाकांक्षाको भरमा टुक्रिन्छ, जसले दर्शकलाई फिल्मको कथाको घुम्ती भेट्टाउन मद्दत गर्छ। फिल्ममा जुनकिरी (मिरुना मगर) पात्रमा आउने असामान्य बदलावमा दर्शक मोहित हुन्छन्। सन्की प्रहरी अधिकारी मानबहादुर ढकाल (प्रवीण खतिवडा)को प्रवेश हुने हरेक दृश्यमा दर्शकले मज्जा लिन्छन्। बीचबीचमा आउँदै जाँदै गर्ने ग्याङस्टर पात्रहरू छोटो तर प्रभावशाली भूमिकामा छन्।

दर्शकले सबैभन्दा मनोरञ्जन लिने फिल्मका पात्र हुन्, अभिनेता आर्यन सिग्देल। उनी अप्रत्याशित रूपमा अन्त्यमा आउँछन्। जतिञ्जेल रहन्छन्, तहल्का मच्चाउँछन्। उनको परिचय फिल्मको सुरुदेखि अन्तिमसम्मै रहने पात्र गट्टु भैया (सुन्दर धिताल)ले गराउँछन्, जुन रोचक छ। रंगेलीका कलाकारहरू प्रभावशाली छन्। प्रत्येक कलाकारले आफ्नो भूमिकामा गहिराइ र जटिलता ल्याउँछन्।

डर र शक्तिको खेलमा वफादार साथी, वफादार सहयोगी, असल र खराब नियतका प्रहरी अधिकारी, नैतिकतासहितका र नैतिक पतन भएका नेता, सोझा जनता, प्रेममा धोका सबै चरित्रहरू एकपछि अर्को गर्दै भित्रिन्छन्। वफादारी र महत्त्वाकांक्षाको साथ प्रभुत्व खोज्ने निर्दयी प्रतिद्वन्द्वीसम्म, प्रत्येक पात्रले कथामा तहहरू थपेको छ र आफूलाई पृथक् बनाउने प्रयास गरेको छ।

रङ्गेलीको निर्देशन र छायांकन पृथक देखिन्छ। फिल्मले दर्शकलाई डरलाग्दा अवस्थामा डुबाउँछ र अपराधको जालो बुझिने धमिलो र उज्यालो प्रकाशयुक्त कोठा, वातावरण र तनावको स्पष्ट भावना सिर्जना गर्दछ। प्रकाश र छायाको प्रयोगले दृश्यमा सौन्दर्य थपेको छ। हरेक कुनामा लुकेको अप्रत्याशित दृश्यलाई क्यामेराको कुशलरूपमा झल्काउन खोजेको छ।

यसको पटकथाले एकाध ठाउँमा केही बिस्तारै गति लिए पनि निर्देशकको कथा भन्ने शैलीलाई सफल रूपमा पछ्याउँछ। निर्देशक र लेखक एकै जना भएको कारण पनि फिल्मको ग्राफको गति बिग्रन पाएको छैन। निर्देशकले प्रयोग गरेका मेटाफोरहरूले दृश्य र कथालाई अलग स्वाद प्रदान गरेको छ। कलाकारहरूका चरित्र विकासमा निर्देशकले अथक मेहनत गरेको प्रस्ट देखिन्छ।

रङ्गेलीको अर्को पक्ष संवादमा गरिएको मेहनत र पाश्र्व संगीत हो। दृश्यहरूसँगै पछाडि सुनिने संगीतका ‘इफेक्ट’हरू शानदार छन्। फिल्मका खलपात्र अर्पण थापा र प्रहरी अधिकारी प्रवीण खतिवडाको लागि तयार गरिएका संवादले दर्शकको मथिङ्गल हल्लाउँछ। सबै पात्रको संवादमा पूर्वी नेपालको मोरङ जिल्लाको रङ्गेली क्षेत्र वरपर बोलिने स्थानीय भाषालाई आत्मसात् गर्दै तयार गरिएको संवाद विशेष छ।

नवप्रवेशी कलाकारहरू रुपेश झा, सुन्दर धिताल, सान डोमा, सुजन खतिवडालगायतले तारिफयोग्य काम गरेका छन्। फिल्ममा समावेश गीतहरू सान्दर्भिक नलाग्न सक्छन् भने सम्पादनमा केही मेहनत गर्न सकिन्थ्यो भन्ने महसुस हुन्छ। दर्शकलाई झन्डै तीन घण्टासम्म हलमा अडाउन चुनौतीपूर्ण रहेको अवस्थामा फिल्म अलि लामो भएको भान हुन्छ।

रङ्गेली अपराध र प्रतिशोधको कथा मात्र होइन, नेपालजस्तो देशमा रहने सामाजिक अवस्थाको प्रतिबिम्ब पनि हो। भलै फिल्ममा देखाइएको जस्तो गुण्डागर्दीमा उत्रिने पात्रहरू खुलेआम अस्तित्वमा त छैनन् तर भित्रीरूपमा अपराधको जालो भने अविश्वसनीय छ। यो फिल्मले त्यही सन्देश दिन खोजेको देखिन्छ। यो पहिचान, नैतिकता र शक्तिको खोजीका विषयवस्तु रहेको यो एक आकर्षक फिल्म यात्रा हो। जसले हाम्रो समाजको मनोभावलाई दर्शाउँछ।

प्रकाशित: २८ फागुन २०८० १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 13 =