विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन आवश्यक : पूर्वमुख्यमन्त्री शाही

हिमाल प्रेस २४ फागुन २०८० २१:२१
52
SHARES
विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन आवश्यक : पूर्वमुख्यमन्त्री शाही

सुर्खेत- कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई व्यावहारिक र संस्कारी ज्ञान दिन आवश्यक रहेको बताएका छन्। इन्टरनेसनल कोअपरेटिभ एकेडेमीको २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा सम्बोधन गर्दै शाहीले उक्त कुरा बताएका हुन्।

उनले विद्यार्थीलाई समयको महत्त्व र व्यावहारिक ज्ञानको कमी भयो भने पढेको कुनै पनि अर्थ नलाग्ने हुँदा व्यावहारिक ज्ञान सिक्न आवश्यक रहेको बताए। उनले भने, ‘सबैलाई डाक्टर, इन्जिनियर बनाउन सकिँदैन। त्यहीअनुरुप यस विद्यालयले विद्यार्थीलाई विद्यार्थीको चाहनाअनुसारको शिक्षा दिन विभिन्न तरिका अपनाउँदै आएको देखेको छु।’

शिक्षकले विभिन्न क्षमता भएका व्यक्तिलाई एक ठाउँमा जोडेर राख्ने काम गरेको उनको भनाइ छ।

विद्यालयबाट एसएलसी पास भएका विद्यार्थीले बजारमा आफ्नो क्षमता प्रदर्शन गरिरहेको एकेडेमीका प्रिन्सिपल यामराज गिरीले जानकारी दिए। उनका अनुसार विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरु मेडिकल साइन्स, इन्जिनियरिङ, कृषि विज्ञान, नर्सिङ, व्यवस्थापनलगायतका विषयमा उच्च शिक्षा हासिल गरी विभिन्न क्षेत्रमा संलग्न भइरहेका छन्।

यसैगरी विद्यालयले सञ्चालन गरेको फुटबल एकेडेमीबाट प्रशिक्षित खेलाडी राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलमा सहभागी भइरहेका छन्। विद्यालयबाट सांस्कृतिक क्षेत्रमा पनि नेतृत्व गर्दै राष्ट्रिय स्तरमा समेत पहिचान बनाइसकेको उनले जानकारी दिए।

विद्यालयको आफनो सुविधा सम्पन्न भवन छ। कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्तकालय र मल्टिमिडियाका लागि दुईवटा प्रोजेक्टरको व्यवस्था छ। विद्यालयले साना र ठूला विद्यार्थीका लागि छुट्टाछुट्टै खेल मैदानको पनि व्यवस्था गरेको छ।

विद्यालयले आफ्नो शैक्षिक व्यवस्थापनका लागि तालिम प्राप्त तहगत, विषयगत र कक्षागत शिक्षकको व्यवस्था गरेको छ। कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिएको प्रिन्सिपल गिरीले बताए। एकेडेमीमा नर्सरीदेखि १२ सम्म गरी १०२५ जना विद्यार्थी अध्इयनरत छन्।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार, सदस्य, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख, वीरेन्द्रनगर शिक्षाका प्रमुख, सुर्खेत जिल्ला प्याब्सनका अध्यक्ष, वडा अध्यक्ष, शिक्षक, अभिभावकलगायतको उपस्थिति थियो।

२०६० सालदेखि सञ्चालनमा आएको विद्यालयबाट हालसम्म १६ वटा ब्याचले एसएलसी र एसईईमा सफलता हासिल गरिसकेको छ। यसैगरी आठ ब्याचको कक्षा १२ बाह्य परीक्षामा सहभागी गराइसकेको छ।

प्रकाशित: २४ फागुन २०८० २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =