जटिल कठिनाइका बीच चिनियाँ अर्थतन्त्रले गरेको उपलब्धि

अजय अलौकिक २३ फागुन २०८० ११:०४
10
SHARES
जटिल कठिनाइका बीच चिनियाँ अर्थतन्त्रले गरेको उपलब्धि चीनको राजधानी बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित राष्ट्रिय जन कांग्रेस (एनपीसी) को उद्घाटन बैठक। तस्बिर : सिन्हवा/रासस

बेइजिङ- बेइजिङ समयअनुसार मंगलबार, मार्च ५ तारिख बिहान ९ बजे १४ औँ चिनियाँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशन बेइजिङको थ्येनआनमनमा अवस्थित जन बृहत् सभा भवनमा सुरु भएको छ।

यसै गरी, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन सोमबारबाट उद्घाटनसँगै सुरु भएको छ। यी दुई अधिवेशनहरू, राष्ट्रिय जनकांग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) का वार्षिक अधिवेशनलाई नै चीनको दुई अधिवेशन भन्ने गरिन्छ। यी दुई अधिवेशनहरू एक हप्तासम्म चल्ने छन्।

बेइजिङमा लगभग एकैसाथ हुने यी अधिवेशनहरूले अघिल्लो वर्षको कामको समीक्षा र मूल्याङ्कनसँगै चालु वर्षको राष्ट्रिय कार्यसूची निर्धारण गर्ने गरिन्छ। विशेषतःएनपीसी अधिवेशनको महत्त्वपूर्ण विषय सरकारी कार्य प्रतिवेदनको समीक्षा हो र यसले विगतका उपलब्धिहरू उजागर गर्दै चालु वर्ष र त्यसपछिकालागि विकास लक्ष्यहरू निर्धारण गर्दछ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रले चिनियाँ आधुनिकीकरणको खोजीमा आर्थिक पुनरुत्थानको गतिलाई मजबुत बनाउने प्रयास गरिरहँदा यी अधिवेशनहरूले चीनमा मात्र नभई विश्वव्यापी रूपमै ध्यान खिच्ने गर्दछ। यसबाहेक, यहाँ प्रस्तावित तथा अनुमोदित नीति र योजनाले विश्वलाई दूरगामी प्रभाव पार्ने क्षमता पनि बोकेको हुन्छ। यसर्थ, अहिले विश्वको ध्यान चीनतर्फ मोडिएको छ।

आगामी अधिवेशनका सत्रहरूमा एनपीसीका प्रतिनिधिहरूले चालु वर्षकालागि विकास योजनाको मस्यौदाको संशोधन र बजेटको समीक्षा गर्ने छन्। यसका अतिरिक्त, सन् २०२४ जन गणतन्त्र चीनको स्थापनाको ७५ औँ वर्षगाँठ भएकोले र साथै १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) मा उल्लिखित लक्ष्य र कार्यहरू हासिल गर्ने महत्त्वपूर्ण वर्षका रूपमा रहेको हुँदा यस वर्षको ‘दुई अधिवेशन’ को महत्त्व अझै विशेष भएको छ।

मंगलबार, मार्च ५ तारिखबाट सुरु भएको १४ औँ चिनियाँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनमा चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा प्रधानमन्त्री ली छ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गरेका छन्।

आफ्नो कार्य प्रतिवेदनमा प्रधानमन्त्री ली छ्याङले अघिल्लो वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको भावना चौतर्फी रुपमा अपनाउने पहिलो वर्ष हुनुका साथै यस सरकारको ऐन बमोजिम जिम्मेवारी वहन गरेको पहिलो वर्ष भएको औँल्याए।

चीन तीव्र गतिमा बढ्दै गरेको मुख्य आर्थिक शक्ति भएको र चीनको आर्थिक विकासको वृद्धि दर विश्वका मुख्य आर्थिक समुदायहरुमध्ये अग्रस्थानमा रहेको बताउँदै यसरी उल्लेख गरे। आर्थिक विकास समग्ररुपमा स्थिरताका साथ पुनरुत्थान हुँदैआएको छ। सन् २०२३ मा चीनको कुल गार्हस्थ उत्पादन मात्रा १२६० खर्ब चिनियाँ युआन नाघेको छ, जुन सन् २०२२ को तुलनामा ५.२ प्रतिशतले बढेको छ। चीनको आर्थिक विकासको वृद्धि दर विश्वका मुख्य आर्थिक समुदायहरुमध्ये अग्रस्थानमा रहेको छ। सन् २०२४ मा आर्थिक वृद्दि दर लक्ष्य ५ प्रतिशतको हाराहारीमा रहने छ।

सहर तथा गाउँबस्तीमा नयाँ थपिएको रोजगारीको संख्या १ करोड २४ लाख ४० हजार पुगेको छ भने सहर तथा गाउँबस्तीमा बेरोजगारी दर ५.२ प्रतिशत रहेको छ। उपभोक्ता मुल्यसूची ०.२ प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय आय तथा खर्च आधारभूतरुपमा सन्तुलित छ।

‘फ्यूचर इण्डस्ट्रिज’ भावी उद्योगको व्यवस्थित रुपरेखा बनेको छ भन्दै उन्नत उत्पादन उद्योग तथा आधुनिक सेवामूलक उद्योग गहनरूपमा मिसिएको पनि उनले औँल्याए। आधुनिक उद्योगको प्रणालीको निर्माणमा महत्त्वपूर्ण प्रगति हासिल भएको छ। परम्परागत उद्योग तीव्र गतिले नयाँ खालको उद्योगमा परिणत गरिएको र रणनीतिक नवोदित उद्योगको गतिशीलरूपमा विकास हुँदै आएको उनको भनाइ छ। महत्त्वपूर्ण उद्योगको सिर्जनात्मक उपलब्धि अन्तर्राष्ट्रिय उन्नतस्तरमा पुगेको  प्रधानमन्त्री लीले बताए। चीनबाट उत्पादित ठूलो विमान सी ९१९ को व्यापारिक सञ्चालन सुरु भएको छ, चीनबाट उत्पादित ठूलो पानीजहाजको सफल निर्माण भएको छ, नयाँ ऊर्जायुक्त मोटरगाडीको उत्पादन तथा विक्री मात्रा विश्वमा ६० प्रतिशतभन्दा बढी पुगेको छ।

विज्ञान तथा प्रविधिको आविष्कारमा नयाँ उपलब्धि हासिल भएको तथा अन्तरिक्ष इञ्जिन, ग्यास टर्बाइन, आणविक ऊर्जाबाट बिजुली निकाल्ने चौथो पुस्ताको उपकरणलगायत उन्नत प्रबन्धहरुको अनुसन्धानमा विशाल प्रगति हासिल भएको आफ्नो प्रतिवेदन प्रस्तुतिमा भने। एआई तथा क्वान्टम प्रविधिलगायत अग्रस्थानमा सिर्जनात्मक उपलब्धिहरुसँगै क्षमता निरन्तररुपमा उकासिँदै आएको छ। प्रविधिसम्बन्धी करार रकम २८.६ प्रतिशतले बढेको बताए।

तस्बिर : सिन्हवा/रासस

प्रतिव्यक्ति आम्दानी ६.१ प्रतिशतले वृद्धि भएको छ भने सहर तथा गाउँघरका बासिन्दाको आम्दानीको भिन्नता निरन्तररूपमा घट्दैगएको छ। विपन्न अवस्थाबाट उन्मूलन भएका ग्रामीण क्षेत्रका बासिन्दाको आम्दानी ८.४ प्रतिशतले वृद्धि भएको छ। चीनले अनिवार्य शिक्षा, आधारभूत पेन्सन र आधारभूत चिकित्सालगायतका वित्तीय सहायतालाई बढाउनुका साथै सहायता र प्रत्याभूति दिने व्यक्ति र परिवारको परिधिको विस्तार गर्दै आएको छ। यसबाहेक, १ त्रिलियन यूआन बराबरको बण्ड जारी गर्ने बताइएको छ।

बितेको १ वर्षमा अधिकांश जटिल कठिनाइहरू आइपरे तापनि चीनको अर्थतन्त्रले प्रगतिशील विकासमार्फत् प्रशस्त उपलब्धि प्राप्त गरेको छ। देशभरको साझा प्रयासमार्फत् चीनले पूरै वर्षभरिको निर्धारित विकास लक्ष्यलाई साकार तुल्याउनुबाहेक धेरै पक्षहरूमा सकारात्मक परिवर्तन हुने प्रवृत्ति पनि देखापरेको छ।

‘नयाँ युगमा आर्थिक कार्य राम्रोसँग चलाउने बुझाइलाई गहन पार्नुका साथै ठुल्ठूला कठिनाइलाई जित्ने मूल्यवान अनुभवको संकलन गरेका छौँ। तथ्यबाट के प्रमाणित छ भने कमरेड सी चिनफिङ केन्द्रीत रहनुभएको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको दृढ नेतृत्वमा चिनियाँ जनताले साहस, बुद्धिमत्ता र क्षमता लिएर जुनसुकै कठिनाई, अवरोध र खतरालाई जित्ने छन्। चीनको विकासको भविष्य आशावादी र उज्ज्वल हुने छ,’ प्रधानमन्त्री लीले भने।

सुधार तथा खुलापन कार्यलाई गहनरूपमा बढाइने तथा उत्पादन क्षेत्रमा वैदेशिक लगानीमा लगाइएका प्रतिबन्धहरू सबै हटाइने बताए। उनले ‘बेल्ट एण्ड रोड’को संयुक्त निर्माण गर्ने अन्तर्राष्ट्रिय प्रभाव शक्ति अझ स्पष्ट बढेको पनि औँल्याए। चीनले विश्व शान्ति तथा विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। साथै रक्षा बजेट ७.२ प्रतिशतले बढाउँदै १.६७ त्रिलियन युआन पुर्याउने प्रस्ताव गरिएको छ। पश्चिमाको विशेष ध्यानकेन्द्रित विषय पनि यही नै हो।

१४ औँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशन अघि मार्च ४ तारिख जन बृहत् सभा भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो, जहाँ अधिवेशनका प्रवक्ता लौ छिन च्येनले अधिवेशनको कार्यसूची र जनकांग्रेस कार्यका सम्बद्ध विषयहरूबारे देशीविदेशी पत्रकारहरूको चासोलाई सम्बोधन गरेका थिए। यस क्रममा चीन अमेरिका सम्बन्ध चासो र जिज्ञासाको मुख्य विषय बनेको थियो।

अमेरिकाले आफ्नो वचनबद्धताको अक्षरश: पालना गर्दै चीनसँग मिलेर चीन-अमेरिका सम्बन्धका ‘५ वटा संयुक्त महत्त्वपूर्ण स्तम्भ’ लाई सुदृढ पार्नुका साथै दुवै देशका राष्ट्रनायक बीच सान्फ्रान्सिस्को भेटघाटमा सम्पन्न मतैक्य र अभिलाषालाई व्यवहारमा उतार्न सक्ने आशा प्रवक्ता लौले व्यक्त गरे। प्रवक्ता लौका अनुसार, चालु वर्ष चीन र अमेरिका बीच दौत्य सम्बन्ध कायम भएको ४५ औँ वार्षिकोत्सव भएकाले दुवै देशका विधायक संस्था बीच अझ बढी आवतजावत, अझ बढी संवार्ता र अझ बढी आदानप्रदानको आवश्यकता रहेको छ। ‘दुवै पक्षले आपसी समझदारीलाई प्रवर्द्धन गर्दै चीन-अमेरिका सम्बन्धको स्थिर विकासकालागि रचनात्मक भूमिका निर्वाह गर्दैजाने आशा छ,’ उनले भने।

अघिल्लो वर्ष (सन् २०२३) चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको भावनालाई पूर्णरूपमा कार्यान्वयन गर्ने पहिलो वर्ष हुनुका साथै कोभिड-१९ महामारीको तीन वर्षपछिको आर्थिक पुनरुत्थान र विकासको पहिलो वर्ष थियो। यसबाहेक, २०२३ मा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि भएको छ र विश्व आर्थिक वृद्धिमा यसको योगदान ३० प्रतिशतभन्दा बढी रहेको छ। जटिल तथा गम्भीर अन्तर्राष्ट्रिय वातावरण र आन्तरिक सुधार तथा विकास कार्यहरू सामु चीनका राष्ट्रपति सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिस्ट पार्टीको बलियो नेतृत्वमा चीनको उच्च गुणस्तरीय आर्थिक विकास दृढरूपमा अगाडि बढेको देखिन्छ।

समग्रमा आगामी दिनमा पनि चिनियाँ अर्थतन्त्रको उच्च गुणस्तरीय विकासले विश्व अर्थतन्त्रको विकासलाई बलियो गति दिने नै छ। चीन तीव्र गतिमा बढ्दै गइरहेको मुख्य आर्थिक शक्ति हुनुका साथै ५.२ प्रतिशतको वृद्धि दरसँगै सन् २०२३ मा चीनको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) १२६ त्रिलियन यूआन पुगेको छ। १२.४४ मिलियन रोजगार सिर्जना गरिएको छ भने प्रविधिको ट्रान्जेक्सन २८.६ प्रतिशतले बढेको छ र पर क्यापिटा डिस्पोजेबल इनकम ६.१ प्रतिशतले वृद्धि भएको छ।

ऐतिहासिक रेकर्ड सिर्जना गर्दै अन्नबालीको उत्पादित मात्रा १३ खर्ब ९० अर्ब किलो पुगेको छ। चीनको आर्थिक विकास तथा विभिन्न वैश्विक पहलहरूले विश्वलाई एउटा सुरक्षित घर बनाउन सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ। त्यसर्थ, जारी दुई अधिवेशनका नीति तथा योजनाहरूले चीनलाई मात्र नभई विश्वलाई नै अवसर र फाइदा पुग्ने विश्वास छ।

प्रकाशित: २३ फागुन २०८० ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =