कोशीमा रोपिएको असन्तुष्टि कोशीमै चर्किएपछि नयाँ गठबन्धन बन्यो : विष्णु पौडेल [अन्तर्वार्ता]

रमेश भारती २२ फागुन २०८० १३:१७
112
SHARES
कोशीमा रोपिएको असन्तुष्टि कोशीमै चर्किएपछि नयाँ गठबन्धन बन्यो : विष्णु पौडेल [अन्तर्वार्ता]

एमाले, माओवादी, रास्वपा र जसपासहित नयाँ गठबन्धन बनेको छ। एक वर्षपछि यिनै चार दलले फेरि पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा गठबन्धन गरेका छन्। नयाँ गठबन्धन बनेपछि कांग्रेससहित अन्य केही साना दल सरकारबाट बाहिरिए। नयाँ गठबन्धनले सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँट कार्यदल बनाएको छ। कार्यदलमा रहेका एमालेका उपाध्यक्ष विष्णु पौडेल सरकार परिवर्तनभन्दा पनि देश र जनताका लागि काम गर्नुपर्ने जिम्मेवारी राजनीतिक दलमाथि थपिएको बताउँछन्। विगतमा अर्थ मन्त्रालयको नेतृत्व गरिसकेका पौडेल पनि मन्त्रीका आकांक्षी छन्। नयाँ गठबन्धन र समसामयिक विषयमा एमाले उपाध्यक्ष पौडेलसँग रमेश भारतीले गरेको कुराकानी :

एमाले-माओवादी गठबन्धन कसरी सम्भव भयो?

राजनीति छलफल र सहमतिमै अघि बढ्ने हो। कोशीको मुख्यमन्त्री छनोट प्रक्रियापछि नेकपा माओवादी र नेपाली कांग्रेसबीच असन्तुष्टि चुलिँदै थियो। माओवादीका केही नेताले गठबन्धनको विकल्प खोज्नुपर्ने आवाज उठाइरहेका बेला एमालेसँग छलफल सुरु भयो।

कोशी प्रदेशबाट सुरु भएको असन्तुष्ट राष्ट्रियसभाको निर्वाचनसम्म आइपुग्दा कोशीमै चर्कियो। राष्ट्रियसभाको निर्वाचनको मतपरिणामपछि माओवादी र कांग्रेस दुवै सत्ता गठबन्धनप्रति असन्तुष्ट देखिन थाले। त्यसपछि भएको छलफलबाट नयाँ तरिकाले गठबन्धन गर्न सहमति भएको हो।

एमालेले कतिवटा मन्त्रालय पाउने सहमति भएको छ? अनि सरकारमा तपाईँको जिम्मेवारी के होला?

छलफल जारी छ। सबै मन्त्रालयको बाँडफाँट सहमतिमै हुन्छ। मन्त्रालय बाँडफाँटका लागि बनेको कार्यदलमा म आफैँ छु। कार्यदलमा माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव हुनुहुन्छ। गठबन्धन भएका कारण धेरै कुरा मिलाएर र मिलेर जानुपर्ने हुन्छ। यही मन्त्रालय चाहिन्छ भनेर अडान लिन मिल्दैन।

गत वर्ष प्रचण्डसँग धोका पाएको एमालेले यसपटक कसरी विश्वास गर्‍यो त?

प्रधानमन्त्री स्वयंले कांग्रेससँगको सरकारमा पिल्सिएर काम गर्न समस्या देखिएको बताउनुभएको छ। एमाले र रास्वपासँगको गठबन्धनमा काम गर्न सहज हुने उहाँको बुझाइपछि नयाँ गठबन्धन बनेको हो। त्यही भएर यसपटक गठबन्धनमा सहभागी पार्टी जिम्मेवार भएर काम गर्नेछन्। एमाले, माओवादी, रास्वपा र जसपा अहिले गठबन्धनमा छन्।

गत वर्ष पनि यही गठबन्धन थियो।  बीचमा केही समस्या उत्पन्न भएका कारण गठबन्धनले निरन्तरता पाउन सकेन। आगामी दिनमा सबै पार्टी गठबन्धन र सरकारको कामकारबाही राम्रो गर्दै जाने हो। यहाँ विश्वास र अविश्वासको कुरा आउँदैन।

एक वर्षअघि टुटेको गठबन्धन फेरि जोडियो। अब यो गठबनधन २०८४ को निर्वाचनसम्म टिक्छ?

सरकार भनेको जनताको हो। जनप्रतिनिधि भएपछि जनताप्रति जवाफदेहिता हुनुपर्छ। अहिले यस्तोउस्तो भन्ने बेला भएको छैन। कुनै दलको बहुमत नहुँदा गठबन्धन बनाएर सरकार चलाउनुपर्ने अवस्था छ। त्यही भएर आगामी दिनमा सरकार सञ्चालनमा गठबन्धनले विशेष ध्यान दिनुपर्ने देखिन्छ। २०८४ को निर्वाचनसम्म गठबन्धन लैजाने गरी सरकारमा सहभागी पार्टीबीच छलफल हुनेछ।

सरकार बन्नुअघि नै गठबन्धनको टीकाटिप्पणी सुरु भयो। राजनीतिक पार्टीको विश्वास टुट्दै गाएको हो?

प्रधानमन्त्रीले आफ्ना सबै मन्त्रीलाई बिदा गरेर सोमबार एमाले, माओवादी र रास्वपाका एकएकजना मन्त्री नियुक्त गर्नुभएको छ। सरकारको कामकारबाही अगाडि बढाउने र गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तर दिँदै काम गर्ने हो। अहिले सरकार बन्नुको मुख्य उद्देश्य पनि यही हो।

अहिले गठबन्धन र सरकारको आयुको बारेमा प्रश्न गर्नु गलत हो। सरकार बनेपछि कामको मूल्याकंन गर्दै सरकार र गठबन्धनमाथि प्रश्न गर्नुपर्छ। नयाँ समीकरणअनुसार सरकार बन्दैछ। विगतका गल्तीको समीक्षा गर्दै नयाँ कोर्स बनाएर गठबन्धन अघि बढ्छ।

जनतामा पछिल्लो समय राजनीतिककै कारण वितृष्णा बढेको छ। जसका कारण केही मात्रमा राजनीतिक दलमाथि प्रश्न उठ्नु स्वाभाविक हो। आगामी दिनमा जनताको विश्वास र जनमैत्री काम गर्नुपर्छ। यो गठबन्धनले जनतामा नयाँ आशा ल्याउनेछ।

एमालेभित्रै प्रचण्डले प्रधानमन्त्री पदका लागि फेरि धोका दिन्छन् भन्ने प्रश्न पनि उठ्न थालेको छ। यसमा तपाईँको भनाइ के छ?

बाहिर जे पनि हल्ला हुन सक्छ। अहिले सहमतिमा गठबन्धन बनेको हो। सहमतिअनुसार नै उहाँले आफ्नो भूमिका निर्वाह गर्नुहुन्छ भन्ने एमालेलाई विश्वास छ। विगत भएका घटना ब्रिसिएर एमालेले नयाँ ढंगमा गठबन्धन गरेको हो। यस विषयमा गठबन्धनभित्रका सबै दल गम्भीर हुनुपर्छ। नत्र जनताले मूल्यांकन गर्नेछन्।

प्रकाशित: २२ फागुन २०८० १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =