पीजे क्लबले सञ्चारमन्त्रीलाई बुझायो ज्ञापनपत्र

हिमाल प्रेस २० फागुन २०८० २०:२८
30
SHARES
पीजे क्लबले सञ्चारमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ- फोटो पत्रकार क्लब नेपालको टोलीले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रि रेखा शर्मालाई भेटेर ज्ञापनपत्र बुझाएको छ।

कार्यवाहक अध्यक्ष दीपेश श्रेष्ठ, महासचिव प्रकाशचन्द्र तिमिल्सेना, कोषाध्यक्ष द्वारिका काफ्ले, सदस्यहरू अंगद ढकाल, दिपेन श्रेष्ठको टोलीले मन्त्री शर्मालाई श्रमजीवी फोटो पत्रकारहरूका विभिन्न समस्याबारे अवगत गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेको गरेको हो।

क्लबले छापा, विद्युतीय गरी मूलधारका विभिन्न सञ्चार संस्थामा रहेर काम गरिरहेका फोटो पत्रकारहरुको साझा समस्यालाई चार बुँदामा समेटेर ज्ञापनपत्र बुझाएको छ।

क्लबले सञ्चारमाध्यमहरूले आर्थिक मन्दीको बहानामा लामो समय कार्यरत श्रमजीवी फोटो पत्रकारहरुलाई एकतर्फी रुपमा निष्कासन गर्ने, राजीनामा गर्न दबाब दिने, समयमा मासिक पारिश्रमिक नदिने जस्ता कार्य रोक्न सम्बन्धित निकायमार्फत मन्त्रालयले आवश्यक निर्देशन दिनुपर्ने, मन्त्रिपरिषद्मा पुगेको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था यथाशीघ्र पारित गर्नुपर्ने, सरकारद्वारा आयोजना गरिने महत्त्वपूर्ण सार्वजनिक कार्यक्रममा फोटो पत्रकारहरुलाई सहज पहुँचको व्यवस्था गरिनुपर्ने र सरकारले फोटो पत्रकारको क्षमता अभिवृद्धिका निम्ति तालिमको व्यवस्था गर्नुपर्ने माग गरेको छ।

ज्ञापनपत्र बुझेपछि मन्त्री शर्माले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिकको विषय मन्त्रालयले मन्त्रिपरिषद्मा लगिसकेको जानकारी दिएकी छन्। मन्त्रिपरिषद्ले पूर्वाधार समितिमा पठाएको उनको भनाइ छ। समितिको संयोजक अर्थमन्त्री छन्।

‘उहाँ (अर्थमन्त्री)को व्यस्तता, बजेटको चटारो आदिका कारणले होला बैठक डाक्न सक्नुभएको छैन। मैले छिटो गरौँ भनिरहेकी छु। बरु यताबाट हामीले गरेको प्रस्तावअनुसार हुन्न भने कति गर्ने हो त घटाउने बढाउने के गर्ने छलफल गरौँ,’ उनले भनिन्, ‘कम्तीमा यति फिक्स भनेर राज्यले त निर्धारण गर्दिनँ पर्‍यो भनिराखेकी छु। स्वाभाविक रुपमा बजेट प्राथमिकता हो, समितिको अध्यक्ष संगीताजी पनि आइराख्नुहुन्छ। उहाँ प्रधानमन्त्री कार्यालय अर्थ मन्त्रालय धाइराख्नुभएको छ। सबै मिलौँ, छिटो गरौँ भनेकी छु।’

प्रकाशित: २० फागुन २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =