जनयुद्ध दिवसमा बिदा दिने निर्णय एमालेसमेतको सरकारले गरेको होः सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस १७ असोज २०८० १८:११
24
SHARES
जनयुद्ध दिवसमा बिदा दिने निर्णय एमालेसमेतको सरकारले गरेको होः सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको बताएकी छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताइन्।

‘आज हामी जुन व्यवस्थामा छौँ, त्यो व्यवस्थाको जग जनयुद्ध नै हो’, उनले भनिन्, ‘यदि जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुदैनथ्यौँ।’

मन्त्री शर्माले जनयुद्धका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका विचारसँग सरकारको सहमति नरहेको बताइन्।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा अध्यक्ष ओलीले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको विषयलाई लिएर सरकारको आलोचना गरेका थिए। जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको प्रवक्ता शर्माको भनाइ छ।

‘जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने विषय मन्त्रिपरिषद्ले निर्णय गरिसकेको हुनाले यस सन्दर्भमा अनावश्यक द्वेष फैलाउने कार्य ‘खोला तर्ने, लौरो बिर्सने’ जस्तै हो’, मन्त्री शर्माले भनिन्, ‘एमालेसमेतको सरकारले उक्त निर्णय गरेको हो, जनयुद्ध कुनै खास पार्टी र व्यक्तिको विषय रहेन।’

प्रकाशित: १७ असोज २०८० १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =