फिल्म अनुभूति

वीर गोर्खालीको गाथा

सुस्मिता बजगाईं १६ फागुन २०८० १६:०१
178
SHARES
वीर गोर्खालीको गाथा

काठमाडौँ– नेपाललाई विश्वमाझ गोर्खालीको देश भनेर चिनिन्छ। गोर्खाली सेनाको कदर गर्दै तत्कालीन ब्रिटिस भारतीय सरकारले नेपाल शासकहरूलाई सम्मान गर्ने गरेको कुरा इतिहासमा वर्णित छ। केही देशको सुरक्षा अंगमा अझै पनि गोर्खाली सेनाको संलग्नता रहनुले पनि गोर्खाली वीरताको पहिचान विश्वभर रहेको पुष्टि हुन्छ।

तिनै गोर्खालीले युद्धमा कसरी बहादुरी देखाएर वीरगति प्राप्त गरे भन्ने विषयमा ‘गोर्खा वारियर’ फिल्म बनेको छ। निर्देशक मिलन चाम्सले आमदर्शकलाई फिल्ममार्फत पूर्वजको गाथालाई देखाउन प्रयास गरेका छन्। फागुन ११ गतेदेखि प्रदर्शन भइरहेको फिल्म कठिन परिस्थितिमा गार्खाली सैनिकले कसरी नेपालीको सान खुकुरीको प्रयोग गरेर लडाइँ जिते भन्ने बहादुरीको कथा छ।

पुरानै शैलीबाट कथाको उठान

आदि, मध्य र अन्त्य सहजै छुट्याउन सकिने ऐतिहासिक कथा भन्न निर्देशकले पुरानै शैली अपनाएका छन्। हरेक वर्ष बाजेले मानेमा फूल चढाएको देखेर नातिले किन चढाएको भनेर सोध्छ। बाजे (शिशिर बाङ्देल) ले आफ्नो साथी तथा पुर्खाले विश्वयुद्धमा वीरगति प्राप्त गरको दिन सम्झेर उनीहरूको सम्मानमा श्रद्धास्वरूप फूल चढाएको प्रतिक्रिया दिन्छन्।

हार्न नजानेका र मेरेर पनि पुस्तौँपुस्तासम्म अमर बनेका वीर गोर्खालीको कथा सुन्न नाति उत्साहित हुन्छ। अनि बाजे आफ्नो लडाइँकाे कथा सुनाउन थाल्छन्। फिल्ममा सन् १९४९ मा मलाया जंगलमा भएको इमरजेन्सी जंगल वारमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको युद्ध देखाइन्छ।

हराएको साथी खोज्न गोर्खाली सैनिक मलाया जंगल पुग्छन्। दुस्मनको हेडक्वार्टर पत्ता लगाउन रातदिन भौँतारिन्छन्। जंगलमा अनेकौँ दुःखकष्ट झेल्छन्। युद्धमा साथीहरु मारिएपछि क्याप्टेन एक्लै दुस्मनसँग लड्छ। साथीहरूलाई बचाउँछ। नातिबाजेकै दृश्यपछि फिल्म सकिन्छ।

कथावस्तुको सिलसिला केही हदसम्म उत्कृष्ट छ। फिल्म हेरिरहँदा कलाकारको अभिनयले इतिहासको कालखण्डलाई सम्झाइरहेको हुन्छ। एकातिर लडाइँ गर्दागर्दै अर्कातिर मानवीय भावना देखाइन्छ। एउटा दृश्यमा डुबिरहँदा दर्शकको ध्यान अन्यत्रै मोडिन पुग्छ। बीचबीचमा आउने परिवारको सिनले वारको इमोसनमा केही बाधा पुर्‍याइरहेको हो कि!

फिल्मको बलियो पक्ष भनेको ‘एक्सन’ हो। कब्जामा परेका साथीहरूलाई बचाउन गोर्खालीले बल, बुद्धि र नेपाली हतियारको प्रयोग गरेर कसरी युद्ध जित्छ, नेपालीलाई किन वीर गोर्खाली भनियो भन्ने कथा बुझ्न हलसम्म पुग्नुपर्ने हुन्छ।

जंगलैजंगलमा सकिएको कथा

करिब एक घण्टा ५० मिनेटको फिल्म घनघोरबाट जंगलबाट हुन्छ। जंगलमै हेड क्वाटर बनाएर युद्ध लड्ने भएर होला सुरुदेखि अन्तसम्म फिल्ममा प्रायः जंगलकै सिन देख्न सकिन्छ। बढी रातको समयलाई केन्द्रबिन्दुमा राखिएको छ।

त्यसो त फिल्मको कथा करिब ८० वर्षअघिको सामाजिक परिवेशलाई आधार बनाएर प्रस्तुत गरिएको छ। फिल्ममा प्रयोग गरिएको हतियार तत्कालीन अवस्थाकै देखिन्छ। त्यतिखेर युद्धमा रहेकाले कन्दमुल, जंगली जनावर र चराचुरुंगी मारेर त्यहीँ पोलेर खाने दृश्य फिल्ममा छ।

पिउने पानीका लागि बाँस र काठबाट बनाएको भाँडाको दृश्यले दर्शकलाई त्यही समयमा फर्काइदिन्छ। दुश्मनले थाहा नपाओस् भन्न सास फेर्न पनि बाँसको प्रयोग गरेका र वर्षात्को पानी थापेर जीवन चलाउने तरिकालाई निर्देशक चाम्सले फिल्ममा देखाएका छन्।

बुट्टयानको मुन्टा भाँच्दै र भुइँमा हिँडेको चिनो राख्दै जानु, जंगलको बीचमा दनदनी आगो बाल्नु, पछि त्यही बाटोमा दुश्मनहरू आउनु र एकै ठाउँमा सिध्याउने गोर्खालीको बुद्धिलाई निर्देशक चाम्सले दृश्यमा प्रस्तुत गरेका छन्।

वीर गोर्खालीको झल्को मेटाउन प्रयासरत पात्र

फिल्मका मुख्य पात्र हुन् रितेश चाम्स। मलाया जंगलमा युद्ध लड्न जाने टोलीको क्याप्टेन। युद्धको सुरुमै एक साथीको मृत्यु हुन्छ। क्रमशः सबैले ज्यान गुमाएपछि एक्लै भएर पनि बुद्धिका साथ दुश्मनसँग लड्नु, मर्‍यो भनेर फाल्दा पनि बाँचेर लडिरहने उनको अभिनय प्रशंसायोग्य छ।

जंगलको दृश्यमा अन्य दुई पात्रको संवाद आइरहन्छन्, कलाकार रियर राई र सुरज तमू। रियर धनेको भूमिकामा देखिन्छन् भने सुरज सुरदास।

दुवै पात्रको प्रत्येक संवादमा कमेडी भेटिन्छ। संयोगवश धनेलाई गोली लाग्छ र मृत्यु हुन्छ। फिल्ममा करिब अन्तिमसम्म देखिरहने पात्र सुरदासको संवादमा दर्शक रमाइरहेका हुन्छन्। उनको थिएटरको कला फिल्ममा जमेको छ। उनले बोल्ने थेगो (जाँठा) भने अलि बढी नै भएको हो कि? अन्तमा उनको मृत्युले दर्शक पनि निराश बन्छन्।

महिला कलाकार रेविका गुरुङ लाहुरेको पत्नी अर्थात्  ठूली पात्रको भूमिकामा छिन्। उनी लाहुर गएका पति आउने बाटो हेर्दै बसिरहेकी हुन्छिन्। गाउँमा घाँसदाउरा गर्ने, सासुको स्याहार गरेर घर सम्हालिरहेकी ठूली गोर्खाली सैनिकको पत्नी भएकोमा गर्व गर्छिन्।

गाउँमा अरु मानिस आउँदा पनि आफ्नै छोरा आएझैँ लाग्ने, लाहुर भएको छोरा फर्केर आउने आशामा बाँचिरहेका आमाको भूमिकामा कविता आले छिन्।

सन्तानको मुख हेर्ने धोको पूरा नहुँदै मृत्युवरण गर्न पुगेका कैयौँ आमा-बाको दर्दनाक अवस्थालाई निर्वाह गरेकी छन् उनले। आफ्नो मृत्युको अन्तिम क्षणमा पनि छोराकै चिन्ता गरेर बस्ने सन्तानप्रतिको बाबुआमाको ममता फिल्ममा देखाइएको छ।

दुश्मन देशको भूमिकामा रहेका खलपात्र सिद्धार्थ सिंहको ‘बोल्ड भ्वाइस’ ले तरंग ल्याउँछ। त्यस्तै छोटो भूमिका भए पनि विजय लामा, सारा राई, बिरुप गोले, सुमन राई, त्रिचु राईलगायत कलाकारको अभिनय उत्कृष्ट छ।

नेपाली परम्परा र बाध्यताको मिश्रण

बूढापाकाहरू भन्छन्, तत्कालीन समयमा एक घर एक गोर्खाली भन्ने प्रचलन थियो। त्यसैले रोजगारीका लागि प्रत्येक घरबाट युद्ध लड्नकै लागि नेपाली युवा सेनामा भर्ना हुन्थे।

जाडोमा परिवारलाई न्यानो कपडा लगिदिने, गाउँ फर्किएर बिहे गने, आमाको घर फेर्नेलगायतका सपना थाती राख्दै परिवारको फोटो हेर्दै लडाइँ लडिरहेको दृश्यले नेपालीको कष्टकर जीवनशैली झल्काएको छ।

गाउँको परिवेशमा ब्ल्याक एन्ड ह्वाइट रङको प्रयोग र आमा-दिदीबहिनीको वेषभूषालाई समयानुकूल बनाउन खोजिएको छ। गाउँको पुरानो शैलीको घर, रमाइलो डाँडापाखा, हिमालको दृश्यांकन लोभलाग्दो छ।

स्याल कराएको सुन्नुलाई अशुभ मान्ने, नराम्रो सपना देखेपछि केही भयो कि भन्ने शंका गर्ने, घरमा धामीझाँक्रीलाई चामल देखाएर जोखाना हेर्ने र खबर बुझ्ने लोकविश्वासलाई पनि फिल्मका कलाकारले अपनाएका छन्।

ग्रामीण भेगमा जीवनयापन गरिहेका नेपालीको दिनचर्या, पात्रको माध्यमबाट परिवारप्रतिको प्रेम र मनोदशा देखाउन निर्देशक चाम्स खप्पिस देखिएका छन्।

सात समुद्रपारि अर्काको देशमा लडाइँ लड्न गएका सुरुदेखि अन्तसम्म फिल्ममा प्रयोग गरिएको ध्वनि प्रभावशाली छ। युद्ध गर्न बनाइएको ‘सेट’ यथार्थजस्तै लाग्छन्।

फिल्मका ‘परिवार सात समुद्र पारी, आफू फाँड्दै जंगल र झाँडी’, ‘आत्मबल र विश्वास भयो भने दिनभरिको एकछिन र जीवनभरको तीन वर्ष उस्ताउस्तै हुन्छ’ लगायतका केही संवाद गहकिला छन्। नेपाली वीरताको गाथा समेटिएको र वार जनरामा बनेको फिल्म इतिहास रच्न सफल होस् शुभकामना!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =