आज मगर एकता दिवस मनाइँदै

हिमाल प्रेस १५ फागुन २०८० ८:४३
10
SHARES
आज मगर एकता दिवस मनाइँदै

काठमाडौँ- देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन्। मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन्।

नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर संघका उपाध्यक्ष इन्द्र फालमगरले बताए।

मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उनले बताए।

‘विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ फालमगरले भने।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसंख्याको ६.९ प्रतिशत हुन आउँछ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) का आठवटै पालिकाले संघको ४२औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै दिवसका अवसरमा आज आफ्ना मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् ।

चारवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयीत्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।

प्रकाशित: १५ फागुन २०८० ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =