गाउँमा साहुले उठिबास, सहरमा प्रहरीले लाठीचार्ज

रमेश भारती १४ फागुन २०८० १८:४८
26
SHARES
गाउँमा साहुले उठिबास, सहरमा प्रहरीले लाठीचार्ज

काठमाडौँ- सुनसरी सेतुबगरकी ७१ वर्षीया ठिठ्ना कोइरीको ३० वर्ष त ऋण तिर्दैमा बितेको छ। तीन साताभन्दा बढी लगाएर काठमाडौँ आएकी उनी केही दिनदेखि निरन्तर धर्नामा छिन्। ७१ वर्षको उमेरमा पनि ऋणकै पिर रहेको उनको गुनासो छ। उनका पतिले गाउँकै साहु वसन्त कुहारसँग ११ वर्षअघि ८ लाख ३५ हजार ऋण ब्याजमा लिएका थिए।

आठ लाख ३५ हजार ऋणको २५ लाख ब्याज र १२ कठठा जग्गा साहुलाई बुझाउँदा पनि ऋण नसकिएपछि परिवार बिचल्लीमा परेको कोइरीको गुनासो छ। सुनसरीको झुम्का बजारनजिकैको १२ कट्ठा जग्गा साहुले ५ वर्षअघि लगेपछि अहिले अधियाँमा बस्नुपरेको काठमाडौँको भृकुटीमण्डपमा भेटिएकी कोइरीले बताइन्। ‘दुई छोरीको विवाह गर्न लिएको ऋण दिएका थियौँ। ऋण तिर्दा–तिर्दा कहिले सकिएन। ऋणकै पिरले दुई छोरा भारत पसे। अहिले घर आउन डराउँछन्।’

बुढाबुढीले अधियाँ गरेर कमाएको सबै पैसा साहुलाई तिर्नुपर्ने उनले बताइन्। ‘साहुले ऋण सकियो कहिल्यै भन्दैनन्। अब त काम गर्न हातगोडा पनि लाग्दैन। कसरी ऋण तिर्ने हो।’ उनले पहिला पनि सामान्य ऋण लिएर धान र मैक साहुलाई बुझाउने गरेकी थिइन्। ११ वर्षअघि लिएको ऋणले भने कोइरीको सबै सम्पत्ति गुमाउनुपरेको छ।

महोत्तरीकी तुलसा यादव पनि घर छाडेर आन्दोलनमा होमिएकी छन्। साढे एक वर्षको दूधेबालक च्यापेर उनी आन्दोलनका हिँडेकी हुन्। सात वर्षअघि तुलसाका पति जितेन्द्र यावदले वैदेशिक रोजगारीमा मलेसिया जान महोत्तरीकै विलास साहसँग दुई लाख रुपैयाँ ऋण लिएका थिए। मिटरब्याजमा लिएको दुई लाख रुपैयाँ साहलाई हरेक वर्ष ७० हजार रुपैयाँका दरले तिर्दा पनि साँवा रकम नसकिएको तुलसा गुनासो गर्छिन्।

साहुले अहिलेसम्म पाँच लाखभन्दा बढी ब्याज लिएको उनले बताइन्। उनी भन्छिन्, ‘कि पैसा ले, कि तँ काम गर्न आइज भनेर साहुले धम्की दिन्छन्। साहुले मलाई दिनहुँ ऋण दे भनेर दबाब दिन्छ।’ उनका पति अहिले पनि वैदेशिक रोजगारीका क्रममा साउदीमा छन्।

साहुलाई साँवाको तेब्बर ऋण तिर्दा पनि नसकिएको उनले बताइन्। तुलसाले भनिन्, ‘त्यही भएर १७ महिनाअघि श्रीमान् विदेशबाट आए पनि घरमै लुकेर फेरि फर्किनुभयो। हामीलाई साहुले राम्रो खान–बस्न पनि दिएको छैन।’

सप्तरीकी गंगामायाको समस्या पनि उस्तै छ। उनले छोराको उपचार गर्न साहु अमृतकुमार यादवसँग तीन वर्षअघि चार लाख रुपैयाँ ऋण लिएकी थिइन्। श्रीमान्‌ले कतारमा कमाएको  ९ लाख तिर्दा पनि साँवा नघटेपछि आन्दोलनमा आउनुपरेको बाध्यता सुनाइन्। ‘साहुले एक वर्षअघि सप्तरी बजार नजिकै भएको एक कठ्ठा जमिन पनि लग्यो। चार लाख ऋणको ७० हजार ब्याज पनि माग्छ। कति ऋण तिर्नु?’, उनले भनिन्, ‘ऋणकै कारण १४ वर्षदेखि श्रीमान् विदेशमा छन्। यता घरमा भनेजस्तो खान पाएको छैन। छोराछोरीलाई राम्रो पढाउन सकेको छैन।’

६ वर्षीय छोरासँगै लिएर उनी पनि आन्दोलनमा छिन्। ‘गाउँमा साहुले ऋण मागेर बसी सक्नु हुँदैन। यता सहरमा सरकारले आन्दोलन गर्दा लाठी हानेर खेदाउँछ। अब मर्न पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ’, गंगामायाले भनिन्।

मिटरब्याज तथा ठगीविरुद्धको किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह सरकारले मिटरब्याजसम्बन्धी ल्याएको कानुन अपुरो रहेको बताउँछन्। पीडितलाई आश्वासन मात्र दिने काम भएको गुनासो उनको छ। अदालती प्रक्रिया रोक्न नसकेको र पक्राउ पुर्जी जारी हुन नछोडेको कारण आफूहरू फेरि आन्दोलनमा आउनुपरेको उनले बताए।

समितिले फर्जी तमसुक, दृष्टि बन्धक, छिनुवा खारेज हुनुपर्ने र त्यसको क्षतिपूर्ति पीडितले पाउनुपर्ने, अदालती प्रक्रिया रोकिनुपर्ने, अधिकारसम्पन्न र शक्तिशाली न्यायिक आयोग गठन गर्नुपर्ने माग राखेको छ।

समितिको अगुवाइमा गत माघ १६ गते झापा र कञ्चनपुरबाट मिटरब्याज पीडितको न्यायका लागि भन्दै पैदलयात्रा सुरु गरेका थिए।

गत वर्ष चैतमा सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच सहमति भएको थियो। पाँचबुँदे सहमतिअनुसार सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले आठ महिनाको अध्ययनपछि मंसिरमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा उल्लेख भएका सिफारिस कार्यान्वयन गर्नुपर्ने, फर्जी तमसुक, दृष्टिबन्धक, चेक अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायतका माग पीडितहरूको छ।

प्रकाशित: १४ फागुन २०८० १८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =