माधव सापकोटालाई ज्ञानेन्द्र शाहीको जवाफ : म बच्चाको घाँटी रेटेर सांसद भएको होइन

हिमाल प्रेस १३ फागुन २०८० १३:४६
12
SHARES
माधव सापकोटालाई ज्ञानेन्द्र शाहीको जवाफ : म बच्चाको घाँटी रेटेर सांसद भएको होइन

काठमाडौँ- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफू मान्छे मारेर सांसद नभएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै शाहीले आफूलाई जनताले निर्वाचित गरेकाले कसैले राजीनामा दे भन्दैमा नदिने बताए। उनले आफूले बच्चाको घाँटी रेटेर सांसद नभएको जवाफ दिए।

उनीभन्दा अगाडि माओवादी केन्द्रका सांसद माधव सापकोटाले व्यवस्थाकाे विरोध गर्ने अनि मन्त्री पनि बनिहाल्ने भन्दै राप्रपालाई व्यंग्य गरेका थिए। जसको जवाफमा शाहीले यो व्यवस्थामा सबैको अधिकार रहेकाे जवाफ दिए।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा २७४ ले यो व्यवस्था चाहिने वा नचाहिने भन्ने कुरा पनि संशोधन गर्न पाइन्छ भन्ने कुरा स्पष्ट उल्लेख गरिएको दाबी गरेका हुन्।

प्रमुख सचेतक शाहीले आफूले फरक विचार राख्दैमा केही सांसदहरुले राजीनामा मागेको भन्दै आक्रोश व्यक्त गरे। उनले जुम्लाका जनताले आफूलाई निर्वाचित गराएर पठाएको हुनाले कुनै अमुक व्यक्तिले राजीनामा माग्दैमा दिन नसकिने उनको भनाइ थियो।

प्रवक्ता शाहीले आफूहरुले हत्या, हिंसा कुनै पनि जघन्य अपराध गरेर नआएको हुनाले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको पनि पटक-पटक दोहोर्‍याए।

उनले भने, ‘बालकुमारीमा दिनदहाडै गोली हानेर मारियो। त्यो पनि युवालाई। फक्रक्क फक्रन नपाउँदै कोपिलामै चुडाइदियो। दुई नवजवान युवाहरुको सपना बालकुमारी नै उठाई दियौं। थिए होलान् तिनीहरुका पनि सपना। न्यानो लगाउने र मिठो खाने। रक्षक नै भक्षक भएपछि सम्माननीय सभामुख महोदय, न्याय खोज्ने अब हामी कहाँ जाने? आँखाबाट आँशु झार्दै भक्कानिएर रुन्छिन् तिनकी आमा। अपराधीलाई कारबाही गर्न भनि संसदमा आवाज उठाउँदा माग्छौं मेरो राजीनामा। सत्ता तिमै्र छ, शक्ति तिम्रै छ। जति दबाउन सक्छौ दबाऊ। दबिएर दबिँदैन यी आवाजहरु।’

प्रमुख सचेतक शाहीले आफूले जातको नाममा, धर्मको नाममा आफूले हिंसा नगरेकाले राजनीमा दिनुपर्ने कुनै कारण नभएको बताए।

प्रकाशित: १३ फागुन २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =