सावित्राको दुई गोलको मदतले नेपाल समूह विजेता बन्दै वाफको सेमिफाइनलमा

हिमाल प्रेस १३ फागुन २०८० ५:५८
96
SHARES
सावित्राको दुई गोलको मदतले नेपाल समूह विजेता बन्दै वाफको सेमिफाइनलमा

काठमाडौँ- नेपाल वेष्ट एसियन फुटबल महानेसंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ मा प्यालेस्टाइनलाई ४–० ले हराउँदै नेपाल समूह ‘बी’ विजेता बनेको छ।
नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा गीता राना र रेखा पौडेलले समान एक गोल गरेका थिए ।

शनिबार राति साउदी अरेबियाको रियादमा प्यालेस्टाइन हराउँदा नेपाल समूह विजेता बनेको हो। समूह बी मा नेपाल अपराजित रहँदै सेमिफाइलनमा पुगेको हो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० ले हराएको थियो।

एक खेल अघि नै सेमिफाइलनमा पुगेको नेपालले फाइनल प्रवेशको लागि समूह ए को उपविजेता लेवनानसँग खेल्नेछ । अर्को सेमिफाइनलमा जोर्डन र प्यालेस्टाइन भिड्नेछन्।

महिला फुटबलको ३८ वर्षे यात्रामा नेपाल पहिलो पटक उपाधि जित्ने योजनामा छ । एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाल ऐतिहासिक उपाधि जित्ने लक्ष्यसहित साउदी पुगेको हो ।
रियाद मैदानमा नेपालले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गरेको हो । आक्रामक बनेको नेपालविरुद्ध प्यालेस्टाइन रक्षात्मक बनेको थियो । जसका कारण नेपाल गोल गर्न धेरै संघर्ष गरिरहेको थियो ।

खेलको ४१औं मिनेटमा सावित्रा भण्डारीले पहिलो गोल गरिन् । रेखा पौडेलले मध्यभागबाट निकालेको बललाई सावित्राले सहजै फिनिसिङ गरेकी हुन् । उनले देशको लागि ५१औं तथा प्रतियोगिताको सातौं गोल गरिन् ।

खेलको ६०औं मिनेटमा रेखाले दोस्रो गोल गरिन् । तीन रक्षक र गोलकिपरलाई बिट गर्दै सावित्राले हानेको प्रहार पोष्टमा लागेर फर्किएपछि सोही बललाई रेखाले सिक्स यार्ड बक्सभित्रबाट पोष्टको दिशा दिएकी थिइन् ।

८०औं मिनेटमा सावित्राले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरिन् । वैकल्पिक खेलाडी रश्मिकुमारी घिसिङले मिलाएको बललाई सावित्राले बक्स भित्रबाट पोष्टको दिशा दिँदै प्रतियोगितामा ब्यक्तिगत आठौं गोल गरेकी हुन् ।

इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै रक्षक गीता रानाले नेपालको लागि चौथो गोल गरिन् । सावित्रालाई प्यालेस्टाइन गोलकिपरले बक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा गीता सफल भएकी हुन् । प्रतियोगितामा उनको पहिलो गोल हो ।

प्रकाशित: १३ फागुन २०८० ५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =