उपचारमा सबैको सहज पहुँचले मात्रै क्षयरोग अन्त्य हुन्छ : विज्ञ

हिमाल प्रेस ७ फागुन २०८० १९:२४
24
SHARES
उपचारमा सबैको सहज पहुँचले मात्रै क्षयरोग अन्त्य हुन्छ : विज्ञ

काठमाडौँ- विज्ञहरूले क्षयरोग अन्त्यका लागि यसको निदान र उपचारमा सबैको सहज पहुँच हुन जरुरी रहेको औँल्याएका छन्।

विश्व सामाजिक मञ्चको अवसरमा हेल्थ टिभी अनलाइन र सिटिजन न्युज सर्भिसले संयुक्त रुपमा आयोजना गरेको क्षयरोग सम्बन्धी कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले क्षयरोग अन्त्य गर्नका लागि छुटेका बिरामीको खोजी नै पहिलो प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए। उनले यसै पनि नेपालमा उपचारको सफलता निकै राम्रो भएको भन्दै समस्या निदानमै भएको जिकिर गरे।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा। प्रज्वल श्रेष्ठले नेपालमा क्षयरोग अन्त्यका लागि विभिन्न कार्यक्रम हुँदै आएको भए पनि अझै यसमा ‘एक्स्ट्रा इफोर्ट’ लगाउनुपर्ने बताए।

हाल नेपालमा बर्सेनि ६९ हजार नयाँ क्षयरोगी थपिने उनको भनाइ छ। उनीहरूमध्ये ४५ प्रतिशत बिरामी उपचारका लागि आएका छैनन्।

नेपाल क्षयरोग निवारण संस्थाका एडभाइजर डा‍. सागर राजभण्डारीले क्षयरोग नियन्त्रणका लागि सबैभन्दा महत्त्वपूर्ण राजनैतिक इच्छाशक्ति र प्रतिबद्धता चाहिने बताए। क्षयरोग कार्यक्रम सहजरूपमा चलाउन सक्ने नेतृत्वलाई काम गर्ने वातावरण दिनुपर्नेमा उनले जोड दिए।

यसै गरी ग्लोबल फन्ड कार्यक्रमअन्तर्गत सेभ द चिल्ड्रेनका सिनिअर टेक्निकल एडभाइजर डा. आशिष श्रेष्ठले क्षयरोग अन्त्यका लागि सबै बिरामीले समान र समतामूलक रूपमा उपचारको सेवा पाउनुपर्ने बताए। उनले भने, ‘अहिलेको मुख्य समस्या भनेकै धेरै बिरामी उपचारको पहुँचमा नहुनु हो। पहुँचमा नभएका उनीहरू समक्ष कसरी पुग्ने भनेर काम गर्न जरुरी छ।’

कार्यक्रममा नेसनल युथ मुभमेन्ट अगेन्स्ट ट्युबरक्लोसिसकी कार्यकारी निर्देशक मिलन कार्कीले क्षयरोग अन्त्यका लागि युवाहरूको भूमिका र सहभागिता अपरिहार्य भएको जिकिर गरिन्।

कार्यक्रममा स्टप टीबी पार्टनरसिपकी कार्यकारी निर्देशक डा. लुसिका डुटुई र मोल्बायो डायग्नोष्टिकका अध्यक्ष सुमित्र मित्राको भिडियो सन्देश समेत प्रस्तुत गरेका थिए।

प्रकाशित: ७ फागुन २०८० १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =