तनहुँमा जिप दुर्घटना हुँदा २२ वर्षीय युवाको मृत्यु, सात घाइते

हिमाल प्रेस ६ फागुन २०८० ८:३४
8
SHARES
तनहुँमा जिप दुर्घटना हुँदा २२ वर्षीय युवाको मृत्यु, सात घाइते

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ नारीघाटमा शनिबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जिपमा सवार चितवनको इच्छाकामना गाउँपालिका-६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा चितवनको इच्छाकामना-५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना-६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका-२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका-३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन्।

घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ। जिप चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ। रासस

प्रकाशित: ६ फागुन २०८० ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =