कोशी टप्पुको पर्यावरणमा केही घण्टा विचरण [तस्बिरहरू]

विवेक विवश रेग्मी ५ फागुन २०८० १६:४०
78
SHARES
कोशी टप्पुको पर्यावरणमा केही घण्टा विचरण [तस्बिरहरू]

इटहरी- मौसम उराठलाग्दो बनेको छ। हरिया रुख सुकेका छन्। जाडो सकिएजस्तै गरी छिप्पिएको घाम लागिरहेको छ। रुखहरू सुके पनि चराचुरुंगीको आवाज मिठो संगीतजस्तो बुलन्द सुनिरहेको छ।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा शुक्रबार दिउँसो करिब दुई घण्टा आसपास रुमल्लिँदा यहाँ चराचुरुंगी चारो टिपेर मुखमा च्यापिरहेका, वन्यजन्तु एकतमासले चरिरहेका र केही भने उघ्राएर आनन्दले सुतिरहेका दृश्य देखियो।

खासगरी अहिले पर्यटक आवागमनको मौसम भएका कारण छिटपुट आन्तरिक तथा बाह्य पर्यटक देखा परे। उनीहरू वन्यजन्तुलाई नियालेर मनोरञ्जन लिइरहेका भेटिन्छन्। भारतसँग सीमा जोडिएको भण्टाबारी नाकाबाट बढीजसो पर्यटकहरू आरक्ष क्षेत्रमा आउँछन्। अन्य समयमा बाक्लो संख्यामा पर्यटक नआए पनि शनिबार भने यहाँ अनगिन्ती मात्रामा पर्यटक आउने स्थानीयवासीको भनाइ छ।

कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट स्थान्तरण गरिएका दुई गैँडा हेर्नका लागि पनि पर्यटक बढ्दै गएका छन्। उनका अनुसार पुष्पा र अञ्जली नामका दुई वटा पोथी गैँडा अहिले हात्तीसँगै चरनमा जान्छन्।

कोशी प्रदेशको सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरी जिल्लामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र एक सय ७५ वर्ग किलोमिटर क्षेत्रफल छ। आरक्षमा पाँच सय ८७ प्रजातिका नदी तटीय वनस्पति, अर्ना, जंगली हात्ती, डल्फिन, सालक, चितुवालगायत ४० प्रजातिका जनावर, सात सय २६ प्रजातिका चराहरू, एक सय ४१ प्रजातिका माछा तथा ७७ प्रजातिका पुतलीको बासस्थान रहेको अनुसन्धानकर्ताहरू बताउँछन्।

आरक्ष क्षेत्रमा विभिन्न जनावर, चराचुरुंगीबारे अध्ययन र अनुसन्धान गर्नका लागि पनि बाक्लो संख्यामा मानिस आउने गरेको गौतम बताउँछन्। ‘पछिल्लो समयमा गैँडालाई हेर्नकै लागि पनि पर्यटकहरू आउने गरेका छन्,’ गौतम भन्छन्, ‘अहिले पर्यटनको सिजन भएका कारणले पनि आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावतको क्रम बाक्लिएको छ।’ अहिले गैँडालाई कोसी टप्पुमै बासस्थान ‘स्विटेबल’ बनाउने अभ्यास भइरहेको उनको भनाइ छ।

तस्बिरहरू : विवेक विवश रेग्मी/आरबी कटवाल

प्रकाशित: ५ फागुन २०८० १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =