बेलढुंगाको आकर्षण

हिमाल प्रेस २ फागुन २०८० २०:४३
6
SHARES
बेलढुंगाको आकर्षण

ढोरपाटन (बागलुङ)- चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। बर्खादेखि सुनसान बनेको बेलढुंगामा अहिले दैनिकजसो पर्यटक आउन थालेपछि चहलपहल बढेको हो।

बागलुङको काठेखोला गाउँपालिका-३ ओखले र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लको शिरमा अवस्थित बेलढुंगा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो। सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि बेलढुंगामा पर्यटक आगमनमा वृद्धि भएको छ।

समुद्री सतहदेखि दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुंगालाई पर्यटकीय गन्तव्य बनाउनका लागि गण्डकी प्रदेश र काठेखोला गाउँपालिकाले बर्सेनि लगानी गर्दै आएको छ। उच्च पहाडी क्षेत्रमा रहेको हुँदा यहाँबाट धौलागिरीसहित दर्जनौँ हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ। सूर्योदय हेर्नका लागि पनि पर्यटक बेलढुंगा पुग्ने गरेका हुन्।

बेलढुंगा नजिकै खाना बस्न र स्थानीय कला संस्कृतिसँग रम्नका लागि सामुदायिक घरबास (होमस्टे) रहेको हुँदा विदेशी पर्यटक पनि समयसमयमा यहाँ आउने गरेको पाइन्छ। बागलुङ र म्याग्दी दुवै तर्फदेखि गाडी तथा पैदलयात्रामार्फत यहाँ पुग्न सकिन्छ।

दसैँ र तिहारको बीचमा दैनिक करिब पाँच सयको हाराहारीमा पर्यटक आएका थिए भने त्यसपछि माघ पहिलो सातासम्म बेलढुंगा सुनसान रहेको बेलढुंगा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले बताए।  माघयता झण्डै एक हजार दुई सय पर्यटक बेलढुंगा आएको उनको भनाइ छ।

अधिकांश पर्यटक दिउँसो आएर साँझ फर्कने गरेको सुनाउँदै घरबासमा बास बस्ने गरी आउने निकै कम भएको उनको भनाइ छ। आधा दशक अगाडिसम्म सुनसान जस्तै रहेको बेलढुंगा केही वर्षयता पर्यटकले भरिभराउ हुँदै गएको अध्यक्ष श्रीसले ताए।

सरकारले पनि यस क्षेत्रको विकासका लागि चासो देखाएको उनी बताउँछन्। गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरिएको २ लाख ५९ हजार र गण्डकी प्रदेश सरकारको २० लाख बजेट विनियोजन गरेको भन्दै यस वर्ष पनि गाउँपालिकाबाट पाँच लाख विनियोजन भएको श्रीसको भनाइ छ।

पोहोर साल देउराली डाँडादेखि बेलढुंगासम्म जोड्ने २ लाख ६० मिटर पदमार्गका स्लेट ढुंगा बिछ्याएको  र बागलुङ नगरपालिका-६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल ल्याण्ड बनाएको भन्दै यसवर्ष ‘भ्यू प्वाइन्ट’ व्यवस्थापन गर्न थालिएको उनले बताए।

पछिल्लो समय बिदाको दिन विभिन्न संघसंस्था तथा विद्यालयबाट विद्यार्थी घुम्न र उच्च पहाडी हावापानीसँग रम्नका लागि आउने गरेका छन्। बागलुङ बजारबाट गाडीमा एक घण्टा र म्याग्दीको बेनीबाट एक घण्टामा बेलढुंगा पुग्न सकिन्छ।

बेलढुंगा नजिकै म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम छ। यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुंगा चढ्न आउने गरेका छन्। दुई वर्ष अगाडिसम्म बेलढुंगामा जोखिम मोलेर चढ्नुपर्थ्यो भने अहिले पदमार्गमार्फत सहज रुपमा टुप्पोमा पुग्न सकिन्छ।

लामो समय बुटवल बसेर पर्वतस्थित घर आएका विशाल घिमिरेले आफूहरू १२ जनाको टोली मोटरसाइकलमै बेलढुंगा घुम्न आएको बताए।

घिमिरेले बेलढुंगामा घण्टौँ बसेर योगा गर्दा मनमा शक्ति पैदा हुने भन्दै करिब पाँच घण्टा यस क्षेत्रमा बिताएको सुनाए। बेलढुंगालाई रमाइलो गर्ने स्थलका साथै योगा आश्रमका रुपमा विकास गर्न सुझाए।

‘जल, जंगल, जमिन, हिमाल, पहाडलगायत अनगिन्ती दृश्य देखिने यो ठाउँ निकै उत्कृष्ट छ, यसलाई राज्यले ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्छ,’ उनले भने,  ‘मलाई यो ठाउँ प्राकृतिक उपचार केन्द्र जस्तो लाग्यो, पहिलो पटक आउँदा धेरै घुम्न पाएको थिएन, तर यसपटक धेरै समय बसियो, यहाँको प्रकृतिसँग रमाइयो, फेरि पनि आउने छौँ।’

कास्की नयाँ पुलका वीरेन्द्र जोशीले सामाजिक सञ्जालमा भिडियो र तस्बिर देखेर घुम्न आएको सुनाए। ६ जनाको टोली गलकोटको मूर्तिकलासम्म घुम्ने गरी यात्रामा निस्किएको भन्दै पहिलो दिन बागलुङको बञ्जीजम्प, दोस्रो दिन बेलढुंगा र तेस्रो दिन गलकोट नगरपालिका-५ टेवा स्थित मूर्तिकलामा पुगेर फर्किएको बताए। बेलढुंगाबाट देखिने दृश्यले आफूलाई मोहित बनाएको जोशीको भनाइ छ। रासस

प्रकाशित: २ फागुन २०८० २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =