कतार र साउदीसँग श्रम सम्झौता गरिँदै, घरेलु कामदार पनि समेटिने

रमेश भारती २९ माघ २०८० १७:३७
66
SHARES
कतार र साउदीसँग श्रम सम्झौता गरिँदै, घरेलु कामदार पनि समेटिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र कतारका श्रममन्त्री डा. अलि विन समिख अल मारीबीच अबुधाबीमा भएको छलफल। तस्बिर सौजन्य : राजीव पोखरेल

काठमाडौँ- सरकारले साउदी अरेबियासँग एक महिनाभित्रै द्विपक्षीय श्रम सम्झौता गर्ने भएको छ। यूएईको ‘अबुधाबी डायलग’मा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका मानव संसाधन तथा सामाजिक विकासमन्त्री ई-अहेमद बिन सुलाईमान अल राझीबीच यस्तो सहमति भएको हो।

‘साइडलाइन’ बैठकमा साउदीका अधिकारीहरूसँग नेपालले श्रम सम्झौताको प्रस्ताव गरेको थियो। नेपालको प्रस्तावलाई साउदी सरकारले स्विकारेको र एक महिनाभित्र श्रम समझदारी हुने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले जानकारी दिए। उनका अनुसार साउदीले केही बुँदामा छलफल गरेर नेपालसँग श्रम सम्झौता गर्ने आश्वासन दिएको छ।

सोहीअनुसार नेपालले तयारी गर्ने पोखरेलले यूएईबाट जानकारी दिए। नेपालले विगत ८ वर्षदेखि साउदी सरकारसँग श्रम सम्झौताका लागि गृहकार्य गर्दै आएको छ।

बैठकमा नेपाली पक्षले प्रस्तावित सम्झौतामा ‘स्वच्छ भर्ना प्रणाली’सहित सामाजिक सुरक्षा, कामदारको कार्य घण्टा, बिमा, पेसागत स्वास्थ्य सुरक्षालगायतका विषयलाई समेट्नुपर्ने माग बैठकमा राखेको छ।

नेपाली कामदारका अधिकार सुनिश्चित नभएको अवस्थामा पनि अदक्ष नेपाली कामदारको ठूलो संख्या साउदी अरेबिया गइरहेको छ। नेपाल र साउदी अधिकारीहरूबीच पटकपटक श्रम सम्झौताका विषयमा छलफल भए पनि साउदी अरेबियाले जनरल वर्करसँगै घरेलु श्रमिकका लागि छुट्टै श्रम समझदारी गर्ने अडान लिँदा श्रम सम्झौता हुन सकेको छैन।

नेपाल र साउदी अरेबियाका अधिकारीबीच अबुधाबीमा भएको द्विपक्षी वार्तामा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका मानव संसाधन तथा सामाजिक विकासमन्त्री ई–अहेमद बिन सुलाईमान अल राझीलगायत। तस्बिर सौजन्य : राजीव पोखरेल

साइडलाइन बैठकमा सीपमूलक जनशक्ति उत्पादनका निम्ति नेपालमा तालिम केन्द्र स्थापना गर्न साउदी सरकारले दिएको सहयोगलाई निरन्तरता दिने, श्रमिकको सीप तथा क्षमता बढाउने विषयमा सहकार्य गर्नेबारे छलफल भएको प्रवक्ता पोखरेलले जानकारी दिए।

उनका अनुसार साउदी सप्लाई कम्पनीमा लगिएका कामदारको ‘अकामा’ नबन्ने तथा उनीहरूलाई काम तथा तलब नदिने समस्या समाधानका लागि पनि आग्रह गरिएको छ। ‘छलफलमा कफाला प्रणालीले सिर्जना गरेको समस्याको समाधान तथा विभिन्न कारणले मृत्यु भएका कामदारको शव छिट्टै नेपालसम्म पठाउन सहजीकरण गर्ने विषयमा नेपाली पक्षले साउदी पक्षको ध्यानाकर्षण गराएको छ’, उनले भने।

श्रमिकहरूको गुनासो यथाशक्य छिटो सम्बोधन गर्न बैंकिङ र स्वास्थ्य सूचना प्रणालीको प्रयोग बढाउने, स्वदेशमा हुने पूर्वप्रस्थान अभिमुखीकरण र सीप तालिमलगायतका कामलाई डिजिटाइजेसन गर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ।

कतारसँग पनि नयाँ श्रम सम्झौताको तयारी

कतारसँग सन् २००३ मा भएको द्विपक्षीय श्रम सम्झौता विस्थापित गर्दै नयाँ श्रम सम्झौता गर्ने तयारी छ।

नेपाल र कतारबीच आइतबार साइडलाइन बैठक भएको थियो। यूएईमा श्रममन्त्री भण्डारी र कतारका श्रममन्त्री डा. अलि विन समिख अल मारीबीच छलफल भएको हो।
बैठकमा कतारी अमिर तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका समयमा हस्ताक्षर हुने गरी श्रम सम्झौतापत्र तयार गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए।

कतारी अमिर गत २० र २१ कात्तिकमा नेपाल आउने तय भएर पछि स्थगित भएको थियो। तर छिट्टै कतारी अमिर थानीले नेपाल भ्रमण गर्ने योजना छ। कतारले पनि साउदी अरेबियाले जस्तै घरेलु कामदारका विषयमा सम्झौता गर्न चाहेको छ। त्यहीअनुसार नेपालले पनि सरकारी स्तरमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ।

श्रम मन्त्रालयका अनुसार सम्झौता पुनरवलोकन गर्न दुवै देशले अनलाइनमार्फत छलफल अघि बढाउने निर्णय भएको छ। साउदी र कतारसँग हुने श्रम सम्झौतामा घरेलु कामदार पनि समेटिने गरी छलफल भइको श्रम मन्त्रालयले जनाएको छ।

अबुधाबी डायलग : सधैँ विभेदमा बिदेसिएका श्रमिक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =