नेपाल-यूएई श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान यूएई इच्छुक

हिमाल प्रेस ३१ जेठ २०८० २१:१४
4
SHARES
नेपाल-यूएई श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान यूएई इच्छुक

काठमाडौँ- नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (यूएई) सरकारबीच श्रम सम्झौता नवीकरण गरिएको छ। बुधबार काठमाडौँमा नेपाल र युएई सरकारबीच आगामी ४ वर्षका लागि सम्झौता नवीकरण गरिएको हो।

सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको बैठकले आगामी चार वर्षका लागि नवीकरण सम्झौता गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सम्पन्न बैठकमा यूएई सरकारका तर्फबाट अब्दुल्ला अलनुइमीले नेपालबाट घरेलु कामदार लैजान इच्छुक रहेको बताए। साथै उनले सोको प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गरे।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली श्रमिकलाई यूएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहजरूपमा नेपाल ल्याउने व्यवस्था र जेल तथा कैदमा रहेका नेपाली श्रमिकको विवरणबारे पनि छलफल गरिएको थियो।

नेपालका तर्फबाट समितिमा भाग लिने कार्यदलको नेतृत्व गरेका मन्त्रालयका सहसचिव राजिव पोखरेलले द्विपक्षीय समझदारीको पुनरावलोकनका साथै नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगारसम्बन्धी पछिल्ला कानुनको जानकारी गराए।

उनले नेपाली श्रमिकको विवरण तथा आलेखबद्ध रूपमा यूएईमा रहेका नेपाली श्रमिकलाई आममाफीसहित नेपाल फिर्तीमा सहजीकरणका विषयमाथि छलफलको प्रस्ताव राखेका थिए।

नेपाली श्रमिकको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य, स्वच्छ तथा मर्यादित भर्ना प्रक्रियाजस्ता विषयमाथि छलफल भएको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए।

बैठकमा यूएई सरकारका तर्फबाट नेतृत्व गरेका सहायक उपसचिव अब्दुल्ला अलनुइमीले नेपाल सरकारका तर्फबाट राखिएका प्रस्ताव सम्बोधन गर्न यूएईको प्रवासी मन्त्रालय सकारात्मक रहेको बताए। रासस

प्रकाशित: ३१ जेठ २०८० २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 1 =