पोखरा लिटरेचर फेस्टिभलमा ६० सेसन

विजय नेपाल २५ माघ २०८० १७:२७
10
SHARES
पोखरा लिटरेचर फेस्टिभलमा ६० सेसन

पोखरा- पोखरामा फागुन पहिलो साता हुने ‘सूर्य नेपाल गाथा नेपाल लिटरचेर फेस्टिभल–२०२४’ मा ५८ भन्दा बढी सेसन संचालन गरिने भएको छ। फेस्टिभल आयोजक बुकवर्म फाउन्डेसनलले सूर्य नेपालको मुख्य प्रायोजनमा आगामी ३ देखि ७ फागुनसम्म फेवाताल किनार वाराहीघाटमा शब्दशक्तिको उक्त उत्सव गर्न लागेको हो।

बिहीबार पत्रकार सम्मेलनमा लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्रांगणबाट सुरु फेस्टिभलको यो ११ औं संस्करणले पनि विगतमा झैं सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने विश्वास व्यक्त गरे।

फेस्टिभलका यस वर्ष पनि देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ। फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने उनले बताए।
फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको अनुमान छ। वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवं कार्टुन प्रदर्शनी, गोर्खा वुमन ः एन इको इन द स्टोरी प्रदर्शनी पनि फेस्टिभलका अवसरमा गरिने आयोजकले जनायो।

यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस’का लेखक काई बर्डको सहभागिता हुँदै छ। यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ समेत जितेको थियो। साथै उक्त पुस्तकमा आधारित ओपन हाइमर चलचित्र बनेको छ।

फेस्टिभलमा प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन्। उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिभलमा चर्चा गर्नेछिन्। उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो।
विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन्। उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन्। उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्टसमेत भएको थियो।

साथै, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत्प्रवचन रहने छ। श्रेष्ठले ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिने कार्यक्रम छ। फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृंखला खतिवडालगायतको सहभागिता रहनेछ।

यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको पनि उपस्थिति रहनेछ। नेता सीके राउत, लेखक खगेन्द्र संग्रौला, प्राडा कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवं उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकाशानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैंकर तथा रास्वपाका नेता अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेतृ समीक्षा बास्कोटालगायतको पनि सहभागिता रहनेछ।

गायक बद्री पंगेनी, गजलकार एवं लेखक शीतल कादम्बिनी, कवि डा. नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार संगीता थापा, गजलकार सुमन स्मारिका पनि सेसनमा जम्नेछन्।

फेस्टिभलमा कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्ड आदि समूहको कन्सर्ट हुँदैछ। फेस्टिभलका अवसरमा लेखक कुमार नगरकोटीले कुटुम्ब ब्यान्डसँग रिसाइटेसन कार्यक्रमसमेत छ।

पहिलो दिन ३ गते दिउँसो उद्घाटनसँगै कार्टुन प्रदर्शनीदेखि विद्वत्प्रवचनलगायत कार्यक्रम सञ्चालन हुनेछन्। भोलिपल्ट बिहान १० देखि साँझ ७ बजेसमै विभिन्न सत्र सञ्चालन हुने आयोजक संस्थाका भरत कोइरालाले बताए। पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको उनको भनाइ छ।

आयोजक संस्थाका केशवशरण लामिछानेले नेपाल लिटरेचर फेस्टिभल पोखरामा एउटा ब्रान्डका रुपमा स्थापित भइसकेको जनाए। ‘पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेका छन्,’ उनले भने, ‘पोखराका लागि कुनै एउटा बहुप्रतीक्षित फेस्टिभल छ भने, नेपाल लिटरेचर फेस्टिभल नै हो।’

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले कला, साहित्यदेखि राजनीति र दर्शनसम्मको भोक जगाइदिने अनि मेटाइदिने अवसर फेस्टिभलले दिएको बताइन्।

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूलनाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको दाबी छ। यसपालि फेस्टिभल प्रवर्द्धक पोखरा महानगरपालिका हो।

प्रकाशित: २५ माघ २०८० १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =