त्रिविमा उपकुलपतिदेखि क्याम्पस प्रमुखसम्ममा खुला प्रतिस्पर्धा हुनुपर्छ : भीसीका दाबेदार प्रा. चालिसे [भिडिओसहित]

हिमाल प्रेस २५ माघ २०८० ११:१३
218
SHARES
त्रिविमा उपकुलपतिदेखि क्याम्पस प्रमुखसम्ममा खुला प्रतिस्पर्धा हुनुपर्छ : भीसीका दाबेदार प्रा. चालिसे [भिडिओसहित] त्रिवि उपकुलपतिका दाबेदार प्रा. महानन्द चालिसे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा उपकुलपतिका दाबेदार महानन्द चालिसेले त्रिविका रेक्टर, रजिस्टार, डिन र क्याम्पस प्रमुख सबै खुला प्रतिस्पर्धाबाट छनोट गर्नुपर्ने बताएका छन्।

हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एड्टक’ मा कुराकानी गर्दै प्राध्यापक चालिसेले रेक्टर, रजिस्टार, डिन र क्याम्पस प्रमुख पनि खुला प्रतिस्पर्धाबाट छनोट गर्दै विश्वविद्यालयलाई दलीयकरणबाट मुक्त गर्नुपर्ने बताएका हुन्।

उनले भने,‘रेक्टर, रजिस्टार र डिन दलीयकरणमा गयो भने विश्वविद्यालय सकिन्छ। उपकुलपतिको नियुक्त भइसकेपछि रेक्टरमा पनि अब कसरी ल्याउने भन्ने कुरा त्यही प्रक्रियामा जानुपर्‍याे। रजिस्टारमा पनि जानुपर्‍याे। डिनहरू पनि त्यसरी आउनुपर्‍याे। क्याम्पस प्रमुखहरू पनि त्यसरी नै आउनुपर्‍याे।’

चालिसेले त्रिभुवन विश्वविद्यालयमा विगतदेखि विभिन्न विसंगतिहरू रहेको औँल्याउँदै अहिले व्यवस्थापन,प्राज्ञिक पक्षमा महत्त्वपूर्ण चुनौती रहेको बताए।

त्रिविमा झन्डै तीन दशकदेखि प्राध्यापन गर्दै आएका चालिसेले विश्वविद्यालय सुधार गर्नकै लागि आफूले उपकुलपतिमा दरखास्त दिएको बताए। उनले भने,‘विश्वविद्यालय सुधारका लागि मैले नेतृत्व गर्न सक्छु। कन्फिडेन्टका साथ मैले आवेदन दिएको हुँ। मसँग त्रिभुवन विश्वविद्यालय सुधारको खाका छ। त्यो खाकालाई कसरी कार्यान्वयन गर्ने, विश्वविद्यालयको अबको गन्तव्य के हो, उच्च शिक्षाको अबको गन्तव्य के हो भन्नेमा कंक्रिट भिजन नभई मैले आफूलाई उपकुलपति पदमा दाबी गरेको होइन।’

चालिसेले उनले त्रिवि सुधारको पहिलो कडी नै उत्कृष्ट पठनपाठन र दक्ष जनशक्ति भएको बताए। उनले भने,‘त्रिवि सुधारको पहिलो कडी उत्कृष्ट पठनपाठन हो। अहिले बजारमा त्रिवि बर्बाद भइसक्यो, खत्तम भइसक्यो भन्ने हल्ला छ। मैले त्यो देखेको छैन। थुप्रै सकारात्मक कुरा छन्।’ उनले सकारात्मक कुरालाई संस्थागत गर्न नसकिएको बताए। ‘व्यवस्थित र अनुसन्धानसँग जोड्न सकेनौँ। तिनीहरूलाई हामीले समुदाय र उद्योगसँग जोड्न सकेनौं। त्यसकारण अब विश्वविद्यालयलाई उत्कृष्ट पनपाठनको थलो कसरी बनाउने भन्ने मेरो प्रमुख खाका रहेको छ। दक्ष जनशक्ति पनि चाहिन्छ’, उनले भने।

उनले त्रिविको राजनीति सहायक क्याम्पस चिफसम्म पुगेको बताए। उनले आफू उपकुलपति भएमा त्रिविमा चमत्कारको थालनी गर्ने बताए। प्रा. चालिसेले भने, ‘कुनै मानिस उपकुलपतिमा नियुक्ति भएर आउँदा रातारात चमत्कार गर्न त सक्दैन तर सुरुआत चैँ गर्न सकिन्छ।’ सहायक क्याम्पस चिफसम्म दलीयकरण रहेको अवस्थामा त्यसलाई हटाउन त्यति सजिलो नभएको भनाइ उनको छ। ‘त्रिविको उपकुलपतिको भिजनलाई अरू अंगहरूले पनि अनुसरण गर्नुपर्छ। यसमा मैले चुनौती देखेको छु तर लिडरसिपलाई त्यसमा नै मजा हुन्छ’, उनले भने।

प्राध्यापक चालिसेले त्रिविमा विद्यार्थी राजनीति समस्या नभएको पनि बताए। सेमेस्टर प्रणालीपछि विद्यार्थी राजनीति कम हुँदै गएको दाबी उनको छ। उनले भने,‘त्रिविमा विद्यार्थी राजनीति समस्या होइन। सेमेस्टर सिस्टम आइसकेपछि कीर्तिपुरमा कुनै पनि विद्यार्थीहरू सर हाम्रो यो प्रोफ्रेसर भएन, यो इन्फास्ट्रक्चर भएन, हाम्रो यो भएन भनेर त्यति आउनुहुन्न। विद्यार्थीकै समस्या देखेको छैन।’

नेतृत्वमा बसेर विश्वविद्यालयमा दलीय भागबन्डामा नियुक्ति गर्दा ताला लाग्ने गरेको उनले बताए। उनले प्रश्न गरे, ‘नेतृत्वमा बसेर दलीय भागबन्डामा नियुक्ति गर्दा ताला लाग्दैन त?’

त्यसैगरी उनले त्रिभुवन विश्वविद्यालयमा अनुसन्धानमूलक क्रियाकलाप कम भइरहेको पनि बताए। उनले विदेशी विश्वविद्यालयको उदाहरण दिँदै भने, ‘तपाईँ अहिले संसारको कुनै पनि विश्वविद्यालयमा छिर्नुभयो भने केही न केही कार्यक्रमहरू भइरहेका हुन्छन्। कहीँ रिसर्च, कहीँ डिभेट, कतै शैक्षिक क्रियाकलाप भइरहेका हुन्छन् तर दुर्भाग्य! अहिले त्रिभुवन विश्वविद्यालयभित्र छिर्‍यौँ भने बौद्धिक, रिसर्चका क्रियाकलापहरू कम छन्। देखिँदैनन्।’

उनले प्राध्यापकले दलीय झोला बोकेका कारण नेपालमा प्राध्यापकको महत्त्व कम भएको बताए। चालिसेले भने,‘प्रोफेरले दलीयकरणको झोला बोक्ने होइन। दलीयकरणको झोला बोकेका कारण नेपालमा प्रोफेसरको मूल्य कम छ। प्रोफेसरको काम टिचिङमात्र होइन।’

त्रिवि उपकुलपतिका लागि ४३ जनाले दरखास्त दिएका छन्। हाल निमित्त उपकुलपतिमा प्रा.डा.शिवलाल भुसाल छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =