हात्तीपीडितका समस्या सुन्दै कांग्रेस

विवेक विवश रेग्मी २१ माघ २०८० १८:२६
34
SHARES
हात्तीपीडितका समस्या सुन्दै कांग्रेस

इटहरी- आइतबार बिहानको समय। अरूबेला आम निर्वाचनका बेला मत माग्न आउने नेताहरू यसबेला भने सर्वसाधारणका बालीनाली र घर वरिपरि घुमिरहेका थिए।

आम निर्वाचनबाहेक पार्टीको आन्तरिक चुनावमा कार्यकर्ताका घरमा पुग्ने नेताहरू आइतबार भने कुनै पार्टीको कार्यक्रम, भेला वा निर्वाचनका लागि गएका होइनन्।

पछिल्लो समय सुनसरीको इटहरी क्षेत्रमा हात्तीले उपद्रो मच्चाउँदा समस्या हुँदै आएकाले आइतबार नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) ले ‘समुदायमा कांग्रेस’ कार्यक्रम अन्तर्गत ‘हात्ती प्रभावित क्षेत्र’मा पुगेर जनताको गुनासो सुनेको हो।

कोशी प्रदेशका सुनसरी, मोरङ र झापामा पछिल्लो समय जंगली हात्तीले वितण्डा मच्चाइरहेको छ। यसैबेला जनताको समस्यामा कांग्रेसले सम्बोधन गर्नुपर्ने भन्दै उक्त कार्यक्रमको आयोजना गरिएको कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुुबेक्छु देवानले बताए।

‘समुदायमा जाऔँ, समुदायलाई सुनौँ भनेर इटहरी १९ बाट यो कार्यक्रमको सुरुआत गरिएको हो,’ उनले भने, ‘आज हामीले जनगुनासो सुन्यौँ, भत्किएका घरहरू हेर्‍यौँ। हात्ती सम्बन्धी विज्ञ ल्याएर केही सचेतसमेत गरायौँ।’

जनतामा हात्तीका कारण त्रास फैलिएको र बस्नै समस्या भइरहेको बेला जनताका समस्यामा कांग्रेस रहेको सन्देश दिन पनि उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए। उनका अनुसार इटहरी-१९ बाट सुरु भएको उक्त कार्यक्रम, वडा नं. २०, २ हुँदै ३ मा पुगेर समापन गरिएको थियो।

नेता तथा कार्यकर्ताहरूले पैदल नै हिँडेर जनताको घरदैलोमा पुग्दै समस्या तथा गुनासाहरू सुनेका थिए। हात्तीपीडितहरू सम्बन्धित निकायमा पुग्न नसकिरहेको अवस्थामा आफूहरूले पुलको काम गरिरहेको देवानले बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय राजीव ढुंगाना, प्रदीप सुनुवार, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राई, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, पूर्व राज्यमन्त्री तथा कांग्रेस नेता सीताराम मेहता, कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल, इटहरी-२० का वडाध्यक्ष मणिराम श्रेष्ठ, कांग्रेस इटहरीका युवा नेता विकास केसीसहितका नेता तथा कार्यकर्ताहरूले जनताको घरदैलोमै पुगेर गुनासो सुनेका थिए। उनीहरूले हात्ती प्रभावित क्षेत्रको निरीक्षण गर्दै उचित राहतका लागि पहलसमेत गर्ने बताएका थिए।

गुनासो सुनेपछि हात्तीबाट मानवीय क्षति हुन नदिनका लागि आफूहरू आ-आफ्नो क्षेत्रबाट जस्तोसुकै काम गर्न पनि पछाडि नहट्ने उनीहरूले प्रतिबद्धता जनाए।

कार्यक्रममा उपस्थित भएका हात्तीसम्बन्धी जानकार अर्जुन कार्कीले हात्तीले बीसौँ वर्षपछिसम्म पनि आफू हिँडेको बाटो हिड्ने र आफूलाई जिस्काउने, चलाउनेलाई आक्रमण गर्न सक्ने भएकाले सचेत रहन आग्रह गरे। ‘हामी हात्तीको ठाउँमा आएका हौँ, हात्ती हामी भएको ठाउँमा आएका होइनन्,’ उनले भने, ‘मान्छे सुरक्षित रहनका लागि हात्तीलाई जिस्काउन हुँदैन। हात्तीले मानिसको आवाज र गन्धबाट बीसौँ वर्ष पछिसम्म पछ्याउँछ।’

इटहरी-१९ का स्थानीय सुरेश राईले हात्तीबाट सुरक्षित हुन सरकारले जनताका पक्षमा काम नगरिरहेकाले सचेत गराए। उनले भने, ‘मोरङ र झापामा के भइरहेको छ थाहा छैन। तर हाम्रो समस्यामा स्थानीय सरकारले सम्बोधन गरेको छैन।’

आफूहरू दिनभर काम गरेर आउनुपर्ने र साँझमा घर आउँदा रातभर हात्ती धपाउँदै बस्न बाध्य हुनुपरेको उनको भनाइ छ। ‘बजारमा बस्नेहरूलाई त केही छैन, हामी गाउँमा बस्नेहरूलाई हात्ती खेद्नुपर्ने बाध्यता छ,’ उनले भने।

इटहरी-२ का ध्रुव अधिकारीले साँझ ४ बजेदेखि नै हात्ती धपाउनुपर्ने बाध्यता रहेको बताए। ‘घर बाहिर निस्किदा मार्छ कि भन्ने डर छ। घर भित्र बसौँ, मानव बस्तीमा पस्ला कि भन्ने डर छ,’ उनले भने, ‘हात्ती मानव बस्तीमा पस्न नदिनका लागि सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यक देखिन्छ।’

पछिल्लो समय इटहरी क्षेत्रमा दुई दर्जन बढी हात्तीको बथान आउँदा मानव बस्ती रातभर जाग्राम बस्दै आएका छन्। खास गरी भारतबाट आएका जंगली हात्तीको बथान यतै रमाउँदा समस्या हुँदै आएको छ।

प्रकाशित: २१ माघ २०८० १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =