आहा रारा गोल्डकप

थ्रीस्टार र आर्मी दुवै इतिहास रच्ने दाउमा

हिमाल प्रेस १९ माघ २०८० १६:५९
16
SHARES
थ्रीस्टार र आर्मी दुवै इतिहास रच्ने दाउमा

पाेखरा- पाेखरा रंगशालामा जारी २३ औं आहा रारा पाेखरा गाेल्डकपकाे उपाधि छिनोफानो शनिबार हुँदैछ। गोल्डकपको यस संकरणको फाइनल भेट थ्रीस्टार र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच पक्का भएको छ। पाँच पटकको विजेता थ्रीस्टार अर्काे उपाधि दाउमा हुँदा आर्मी पहिलाे पल्ट उपाधि जितेर इतिहास रच्न चाहन्छ।

शुक्रबार प्रिम्याच कन्फ्रेन्समा समेत दुवै टिमका प्रशिक्षक र कप्तानले आफूहरू उपाधि उचाल्न सक्षम रहेकाे र उपाधि आफ्नो पक्षमा पर्ने दाबी गरे।

आर्मीका काेच मेघराज केसीले फाइनल खेल निकै रोमाञ्चक हुने बताउँछन्। उनले आफू प्रशिक्षकको रुपमा रहँदै उपाधिको ह्याट्रिक गर्ने दाउमा रहेको सुनाए। आर्मीलाई उपाधि जिताएर आहा राराको इतिहासमा नाम लेखाउने उनको भनाइ थियो। उनले आहा राराले नेपालमा अनुभवी खेलाडीकाे विदेश पलायनबीच नयाँ खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर जुराएकाे बताए। कप्तान भरत खवासले फाइनल खेल निकै ‘टफ’ हुने संकेत गरे।

थ्रीस्टारक प्रशिक्षक विक्रम लामाले फाइनलमा मैदानभित्र मात्रै नभई बाहिरको माहोल उत्तिकै खरो हुने बताए। उनले कुनै बेला प्रशिक्षक रहेका मेघराज केसी र आफूबीचको प्रतिस्पर्धालाई समेत रोचक रुपमा हेरेको उनको भनाइ थियो। उनले पहिले गुरूकै निर्देशनमा रहेर खेल्ने गरे पनि आज गुरुसँगै प्रतिस्पर्धा गर्न पाउनु संयाेग भएको बताए।

थ्रीस्टारका कप्तान विराज महर्जनले आर्मी बलियो टिम भएको र थ्रीस्टार युवा खेलाडीहरुको टिम भएको सुनाए। उनका अनुसार आर्मीमा टिमको अनुभव भए पनि थ्रीस्टारमा खेलको अनुभव भएका युवाहरु रहेको जनाउँदै आफूहरु पनि इतिहास रच्नेतर्फ उन्मुख भएको दाबी गरे।

उद्घाटनमा आयोजक सहारा क्लब पाेखरालाई २-१ ले हराएकाे थ्रीस्टारले क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लबलाई २-० र सेमिफाइनलमा जाउलाखेल युथलाई १-० ले हराउँदै छैटाैं पटक उपाधि नजिक पुगेकाे हो।

आर्मीले पहिलाे खेलमा नवलपुरकाे राइजिङ स्टारलाई १-०, क्वाटरफाइनलमा साविक विजेता संकटालाई ३-० र सेमिफाइनलमा लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै सानदाररूपमा फाइनल प्रवेश गरेकाे हाे। २०६० देखि खेल्दै आएकाे आर्मी १५ पटककाे सहभागितामा चारपटक फाइनल पुगेर पनि उपाधिबाट वञ्चित छ। पछिल्लाे समय २०७५ मा आर्मी फाइनलमै थ्रीस्टारबाटै पराजित भएको थियो। यसपालि त्याे हारकाे बदला लिने पनि अवसर हुनेछ।

यो गोल्डकप विजेताले नगद १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने प्रतियाेगिता संयाेजक पूर्णबहादुर गुरूङले बताए। आयाेजक सहारा क्लब पाेखराले बर्सेनी प्रतियोगिता गरेर बचत रकम सहारा एकेडेमीमा खर्च गर्दै आएकाे क्लब अध्यक्ष केशवराज बरालले जानकारी दिए। गत ९ माघदेखि सुरू प्रतियोगितामा १२ टिम सहभागी थिए।

प्रकाशित: १९ माघ २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =