महाधिवेशन प्रतिनिधि चयन हुनैपर्ने भएपछि नेकपा एसका नेताहरू ‘भयभीत’ 

किरण पौडेल १८ माघ २०८० १७:४१
48
SHARES
महाधिवेशन प्रतिनिधि चयन हुनैपर्ने भएपछि नेकपा एसका नेताहरू ‘भयभीत’  फाइल तस्बिर

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि निर्वाचनबाट चयन गर्ने भएको छ। समाजवादीको माघ १४ र १५ मा सम्पन्न दोस्रो केन्द्रीय प्रतिनिधि बैठकले पार्टीको अन्तरिम विधानमा यस्तो प्रावधान राख्ने निर्णय गरेको हो। समाजवादीको महाधिवेशन आउँदो जेठमा हुने कार्यतालिका छ।

यसअघि केन्द्रीय कमिटीका नेताले महाधिवेशन प्रतिनिधि नबने पनि पदाधिकारीका लागि प्रतिस्पर्धी बन्न पाउने व्यवस्था थियो। अब भने पार्टीमा पदाधिकारी बन्न चाहनेले महाधिवेशन प्रतिनिधि चयन हुनुपर्छ। महाधिवेशन प्रतिनिधिले मात्रै पार्टीको पदाधिकारी वा अन्य पदमा चुनाव लड्न पाउँछन्।

समाजवादीको अन्तरिम विधानमा केन्द्रीय परिषद् सदस्य आयोजक कमिटी बन्ने र आयोजक कमिटी स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान थियो। समाजवादीको माघ १४ र १५ मा सम्पन्न दोस्रो केन्द्रीय प्रतिनिधि बैठकले नियम उल्ट्याएको हो।

‘यसअघि ५ सय प्रतिनिधिचाहिँ महाधिवेशन प्रतिनिधि नबनी पदाधिकारीमा उठ्न पाउँथे,’ समाजवादीका महासचिव घनश्याम भुसालले भने, ‘अब त्यस्तो पाइन्न। म अध्यक्षमा भिड्न चाहन्छु भने महाधिवेशनमा निर्वाचित हुनैपर्छ।’ ‘समानताको न्याय’का लागि भन्दै अन्तरिम विधानलाई संशोधन गर्दै परिषद्ले सबैले महाधिवेशन प्रतिनिधि बन्नुपर्ने प्रावधान बनाएको हो।

महाधिवेशन प्रतिनिधिको संख्याबारे निर्णय भएको छैन। महाधिवेशन प्रतिनिधिको मापदण्ड केन्द्रीय कमिटीको बैठकले बनाउने व्यवस्था छ। ‘प्रतिनिधिको मापदण्ड तोक्ने अधिकार केन्द्रीय कमिटीलाई छ,’ भुसालले भने, ‘एउटा पालिकामा ५० सदस्य बराबर एकजना वा एक सयजना बराबर दुईजना वा निश्चित संख्या बराबर एकजना चुनिन पाउने प्रावधान बन्न सक्छ।’

एउटा पालिकाका सबै सदस्य महाधिवेशन प्रतिनिधि बन्दैनन्। कमिटीमा लड्न चाहनेले प्रतिनिधि बन्न चाहे पनि चुनाव हुनसक्छ। पार्टी सदस्यता (पीएम) नवीकरण गरेको व्यक्ति महाधिवेशन प्रतिनिधि बन्न पाउने प्रावधान छ। ‘निर्वाचन कमिटी, क्षेत्रीय कमिटी, जनवर्गीय संगठनमा कति समय काम गरेको भन्ने प्रावधान बनाउन छलफल भइरहेको छ,’ समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले भने, ‘अहिले पार्टीले सदस्यता नवीकरण गर्न थालेको छैन।’

कार्यकर्तामा एमालेमा नवीकरण गर्ने कि समाजवादीमा भन्ने दोधार रहेको बुझाइ एकीकृत समाजवादीका नेताहरूको छ। तुलाधरले महाधिवेशन प्रतिनिधि बनाउन बलियो नियम राख्नुपर्नेमा छलफल भइरहेको बताए।

केन्द्रीय नेताकै पनि भूगोल भएमा हार्ने सम्भावना हुन्छ। केन्द्रीय नेताहरूको चासो यसमै रहेको समाजवादीका नेताहरू बताउँछन्। यसअघि एमालेमा पनि यही व्यवस्था थियो। एमालेमा पदाधिकारी आकांक्षा राखेका नेताले महाधिवेशन प्रतिनिधिमै हार्ने गरेका थिए। गुटगत प्रवृत्तिले पनि केन्द्रीय नेतालाई हराउने गरेको थियो। अब समाजवादीमा त्यही समस्या दोहोरिने सम्भावना रहेको एक नेताले बताए।

‘गुटगत प्रवृत्ति अस्वस्थकर हुन्छ। त्यसो भनेर महाधिवेशन प्रतिनिधिमा चुनाव नहुने भन्ने हुँदैन,’ महासचिव भुसालले भने। महाधिवेशन प्रतिनिधिमा मुलुकभरमा एक ठाउँबाट मात्र प्रतिनिधिमा लड्न पाइन्छ। ‘कोही महाधिवेशन प्रतिनिधि बन्न चाहन्छ भने पार्टीले क्षेत्र निर्धारण गर्न समय दिन्छ,’ भुसालले भने, ‘म कहाँबाट प्रतिनिधि बन्न चाहन्छु। मैले जानकारी गराउनुपर्ने हुन्छ।’ उदाहरणका लागि पार्टी अध्यक्ष माधव नेपाल महाधिवेशन प्रतिनिधि बन्न पनि एक ठाउँ निर्धारण गर्नुपर्छ।

उमेर हद हट्यो, युवा सहभागिता बढ्यो

एमालेबाट माधव नेपालले पार्टी फुटाउँदा उमेर हदको व्यवस्था थियो। अहिले एकीकृत समाजवादीले उमेर हद नराख्ने भएको छ। यसअघि पनि समाजवादी स्थापना गर्दा उमेरहदको चर्चा थियो।

पार्टीको ‘संक्रमणकालीन अवस्था’ भनेर राखिएन। अब भने उमेर हद हटेको छ। यो नियमसँगै पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल पदाधिकारीमा भिड्न पाउने भएका छन्। समाजवादीले पार्टीमा युवा सहभागिता बढाएको छ। जहाँ २० प्रतिशत युवा राख्ने व्यवस्था गरेको छ।

मार्गनिर्देशक सिद्धान्तमा मतभेद

एकीकृत समाजवादीमा अब कुन सिद्धान्त लागु हुने निश्चित छैन। समाजवादीले अहिले भने जनताको बहुदलीय जनवाद (जबज)लाई आत्मसात् गर्दै आएको थियो। सम्मानित नेता खनालले यसमा आपत्ति जनाउँदै आएका छन्। गत केन्द्रीय प्रतिनिधि बैठकमा खनालले अबको मार्गनिर्देशक नीति समाजवाद राख्नुपर्ने बताएका थिए। उनले जबजबारे प्रश्न उठाउँदै पार्टीको प्रस्तावनाको पहिलो वाक्यमै प्रश्न उठाएका थिए। समाजवादीमा त्यही बहस सुरु भएको छ।

अध्यक्ष नेपाल भने जबज छाड्न नहुने पक्षमा छन्। उनको यो अडानमा उपाध्यक्ष बेदुराम भुसाल र महासचिव घनश्याम भुसालले साथ दिएका छन्। ‘नेपाल कम्युनिस्ट पार्टी आमनेपाली जनता तथा सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक संस्था हो,’ प्रस्तावित विधानको पहिलो वाक्यमा भनिएको छ।

‘नेपाल कम्युनिस्ट पार्टी भनेको श्रमजीवी वर्गको प्रतिनिधि पार्टी हो। यो एउटा वर्गको पार्टी हो। सबै वर्गको हुँदैन,’ खनालले भने, ‘आमजनताभन्दा श्रमजीवी, किसान, न्यून पुँजीपति वर्ग र निश्चित हदसम्म राष्ट्रिय पुँजीपति वर्ग पनि बुझ्छौँ।’ उनले प्रतिनिधित्व गर्नु र प्रतिनिधि हुनु फरक कुरा भएकाले त्यसलाई सच्याउनुपर्ने बताए।

एकीकृत समाजवादीले आफूलाई एमाले मूल शक्ति मानेको थियो। पहिलेबाटै एमाले दक्षिणवादी भासमा फसेको भन्दै एमालेको उत्तराधिकारी दाबी गरेको थियो। जेठमा हुने महाधिवेशनलाई पनि १० औँ महाधिवेशन भन्ने निर्णय गरेको छ।

पदाधिकारी बन्नका लागि महाधिवेशन प्रतिनिधिमा समेत चुनाव गर्नुपर्ने भएकाले हार्ने भय बढेको छ। ‘महाधिवेशन प्रतिनिधिको पनि निर्वाचन हुने भएकाले समस्या छ,’ समाजवादीका एक नेताले भने, ‘पदाधिकारी बन्न दुईपटक चुनाव लड्नुपर्ने थियो। शीर्ष नेताहरू कतै प्रतिनिधिमै हारिन्छ कि भनेर भयभीत छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eighteen =