अब विमानबाटै कैलाश मानसरोवर दर्शन

हिमाल प्रेस १५ माघ २०८० १५:५६
472
SHARES
अब विमानबाटै कैलाश मानसरोवर दर्शन

काठमाडौँ- श्री एयरलाइन्सले कैलाश पर्वत तथा मानसरोवरको पर्वतीय उडान सुरु गरेको छ। नेपालको इतिहासमै पहिलो पटक एयरलाइन्सको सीआरजे ७०० विमानले ‘माउन्टेन फ्लाइट’ गरेको एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए।

नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि गरिएको पर्वतीय उडान सफल भएको कम्पनीका कर्पोरेट प्रबन्धक मानन्धरले बताए।

‘शुल्क निर्धारण हुन बाँकी छ। अहिले हामीले परीक्षण उडान गरेका हौँ’ मानन्धरले हिमालप्रेससँग भने। कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको नेपाल तर्फबाट पहिलो पटक हो। नेपालगन्जबाट नेपाली, भारतीयसहित विदेशी धार्मिक पर्यटक आकर्षित गर्न सकिने एयरलाइन्सले जनाएको छ।

सोमबार भएको उडानमा श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्टिालिटी ग्रुप नेपालगञ्ज र पाथहिल होलिडेज काठमाडौंको सहकार्यमा २७ हजार फिट उचाइबाट उडान गरिएको छ।

उक्त उडानमा क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना रहेका थिए। ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिन्छ।

श्रीएयरलाइन्सले नेपालगन्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौँल्याई पशुपतिसमेत दर्शन गराउने योजना बनाएको बताएको छ।

आजको फ्लाइटपछि नेपालको पर्यटन बजारमा नयाँ अध्याय सुरु भएको नेपाल ट्राभल एजेन्ट एसोसियसन बाँकेका अध्यक्ष श्रीराम सिग्देल बताउँछन्। आजको फ्लाइट पनि उनकै संयोजनमा भएको थियो।

‘आजको फ्लाइटपछि नेपालको पर्यटन बजारमा नयाँ अध्याय सुरु भएको छ,’ उनले हिमालप्रेससँग भने, ‘ मानसरोवरको माउन्टेन फ्लाइटको लक्षित समूह भनेको भारतीय तीर्थयात्री हो। त्यसपछि नेपाली हो। सडक तथा पैदल यात्रा गरेर कैलाश पुग्न नसक्नेहरूका लागि त यो सबैभन्दा राम्रो विकल्प भयो।’

उक्त माउन्टेन फ्लाइट एक घण्टा १५ मिनेटको हुनेछ। फ्लाइट कैलाश मानसरोवर पुगेर फर्किँदा रारा ताल तथा फोक्सुन्डो ताल हेर्न पाइने सिग्देल बताउँछन्।

प्रकाशित: १५ माघ २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nineteen =