केन्द्रीय गुटको सिकार बन्यो सुदूरपश्चिम माओवादी

किरण पौडेल १५ माघ २०८० २०:१५
26
SHARES
केन्द्रीय गुटको सिकार बन्यो सुदूरपश्चिम माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको विवाद उत्कर्षमा पुगेको छ। संसदीय दलका नेता र मन्त्री फेर्ने विवादले माओवादी गुटउपगुटमा विभाजित भएको हो। विवादको बिउ प्रदेश सरकारमा सहभागी मन्त्री हेरफेरको विषयलाई लिएको भएको नेताहरू बताउँछन्।

विवाद बढ्दै जाँदा संसदीय दलका नेता खगराज भट्टलाई पदमुक्त गरिएको छ। पार्टी प्रदेश संसदीय दलले मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको हो। धामी यसअघि संसदीय दलका सेचतक थिए। भट्ट पार्टीका उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् भने धामी अर्का उपमहासचिव वर्षमान पुन नजिकका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका दुई मन्त्रीसहित एक राज्यमन्त्री छन्। माओवादीका झपटबहादुर साउद सामाजिक विकासमन्त्री हुन् भने रमेशसिंह धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुन्। यसैगरी गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री छिन्।

११ सदस्यीय प्रदेशसभा सदस्य रहेको माओवादी संसदीय दलको नेताबाट भट्टलाई हटाउन सातजनाले हस्ताक्षर गरेका थिए। राज्यमन्त्री माल पनि भट्टलाई हटाउन सहभागी थिइन्। धामी पक्षले झन्डै एक महिनाअघिबाटै मन्त्री फेर्न दबाब दिएको थियो। भट्टले ‘माथिको निर्देशन भन्दै’ फेर्न मानेका थिएनन्। यही कारण धामी पक्ष उनीसँग रुष्ट थियो। मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएको धामी पक्षका नेताहरूको आरोप छ।

मन्त्री र संसदीय दलको नेता परिवर्तन गर्ने प्रयत्न विफल भएपछि धामी पक्षले काठमाडौँ आएर शीर्ष नेतालाई ध्यानाकर्षण गराएको थियो। पुस २७ गते काठमाडौँ आएर ध्यानाकर्षण बुझाउने टोलीमा सभामुख भीमबहादुर भण्डारी, प्रमुख सचेतक मानबहादर धामी, राज्यमन्त्री गीतादेवी माल, सांसदहरू अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक थिए।

शीर्ष नेताहरूले आफ्नो प्रस्तावलाई सकारात्मक लिएपछि दलको नेता परिवर्तन गरिएको धामी पक्षको दाबी छ। गत शुक्रबार धामी पक्षले संसदीय दलको नेता फर्ने निर्णय गरेका थियो।

भट्ट पक्ष भने आफूलाई बैठकमा नबोलाईकन संसदीय दलको नेता परिवर्तन गरिएको बताउँछ। ‘हामीलाई थाहै नदिई भूमिगत रूपमा काम भयो,’ भट्टको सचिवालयका एक सदस्यले भने।

धामी पक्षले आफूहरूले जानकारी दिएको दाबी गरेको छ। ‘हामीले मोबाइलमा म्यासेज गरेका थियौँ। विरामी भयौँ भनेर बैठकमा आउनु भएन’, धामी पक्षीय एक सांसदले भने।

बहुमतका आधारमा संसदीय दलको नेता परिवर्तन भए पनि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले विमति जनाएको छ। कमिटीले जारी गरेको परिपत्रमा भट्टलाई हटाउने निर्णय फिर्ता गर्न भनिएको छ। अब संसदीय दलको नेता भट्ट हुन् वा धामी भन्ने अन्योल भएको माओवादी कार्यकर्ता बताउँछन्।

‘हामीले बहुमतले निर्णय गरेका हौँ। हाम्रो निर्णय कार्यान्वयन हुन्छ,’ राज्यमन्त्री मालले भनिन्, ‘शीर्ष नेतृत्वको आदेश पनि यही छ।’ भट्ट पक्षीय नेताहरू भने पार्टीमा गुटबन्दी गरेको र विभाजन ल्याउन खोजेको आरोप लगाउँछन्।

सुदूरपश्चिमा मन्त्री हेरफेर र संसदीय दलको नेता चयनमा शीर्ष नेतृत्वको गुटगत प्रभाव परेको नेताहरू बताउँछन्। माओवादीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनको भिन्नाभिन्नै गुट सक्रिय रहेको नेताहरूको दाबी छ। सुदूरपश्चिम प्रदेशमा त्यसकै प्रभाव देखिएको उनीहरूको दाबी छ।

खगराज भट्ट उपमहासचिव शर्मा निकट मानिन्छन्। संसदीय दलको नेतामा चुनिएका मानबहादुर धामी वर्षमान पुन निकट मानिन्छन्। यसैगरी सांसदहरू शिवसिंह ओली, झपट साउद र लक्ष्मी विक नारायणकाजी निकट मानिन्छन्। शर्मा निकट प्यानल एकातिर छ भने नारायणकाजी-वर्षमान प्यानल अर्कातिर रहेको सुदूरपश्चिम प्रदेश कमिटीका एक पदाधिकारीले बताए।

भट्टलाई समेत पछिल्लो समय जनार्दनले साथ नदिएको माओवादी नेताहरू बताउँछन्। माओवादी नेताहरू प्रदेशको संसदीय दलको नेता फेर्ने विषयमा पनि जनार्दन मौन बसेको बताउँछन्। सुदूरपश्चिममा जनार्दन निकट भट्टलाई शक्तिमा आउन नदिने प्रयत्न भएको माओवादी निकट स्रोतको दाबी छ। बहुमत देखाएर शक्तिबाट हटाउने र भाबी मुख्यमन्त्रीमा दाबी गर्ने धामी पक्षीय नेताहरू सुनाउँछन्।

पुसमा काठमाडौँमा मन्त्री फेर्ने कुरा लिएर जाँदा धामी पक्षले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पुनलाई भेटेका थिए। तर महासचिव देव गुरुङ र अर्का उपमहासचिव शर्मालाई भेटेनन्। सोही भेटमा भने केन्द्रीय नेताले आफ्नो कुरालाई सकारात्मक रूपमा लिएको इतरपक्षको दाबी छ।

अल्पमतमा खगराज

संसदीय दलले खगराजलाई दलको नेताबाट हटाएको छ। तर माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीले भट्टलाई दलको नेताबाट हटाउने निर्णय सच्याउन निर्देशन दिएको छ। आइतबार गरिएको परिपत्रमा कमिटीले दलको नेता हटाउने निर्णय गलत भएको उल्लेख गरेको छ।

प्रदेश कमिटीको पदाधिकारी बैठकले पार्टीको विधिविपरीत र केन्द्रीय कार्यालयको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल उक्त निर्णय सच्याउन निर्देशन दिने निर्णय गरेको छ। प्रदेश अध्यक्ष र हरिराम चौधरी उत्सव र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा संसदीय दलको नेता खगराज भट्टको जानकारी विना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

संसदीय दलले भने प्रदेश कमिटीको निर्णय नमान्ने बताएको छ। हालसम्म आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। संसदीय दलको नेतामा चुनिएका धामीले बहुमतको निर्णय लागू गर्नुपर्ने बताउँदै आएका छन्।

खगराज सुदूरपश्चिममा पेलानमा परेका नेता मानिन्छन्। उनलाई नेतृतवले एकपछि अर्को जिम्मेवारीबाट हटाउँदैछ। भट्टले २०६४, २०७० र २०७४ मा प्रतिनिधिसभामा हारको ‘ह्याट्रिक’ गरेका थिए।

डडेल्धुरारमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका खगराजले कहिल्यै निर्वाचित भएनन्। २०७९ को प्रदेशसभा सदस्यमा लडेका उनी देउवाकै सहयोगमा निर्वाचित भए।
भट्टलाई माओवादीभित्र भाबी मुख्यमन्त्रीको रूपमा हेरिएको थियो। चुनावअघि नै देउवा र प्रचण्डले डडेलधुरा पुगेर खगराजलाई ‘मुख्यमन्त्री’ भन्दिएका थिए। निर्वाचनपछि प्रचण्डले गठबन्धन फेर्दा भट्ट ओझेलमा परेका थिए।

एमाले-माओवादी गठबन्धन हुँदा सुदूरपश्चिम प्रदेश एमालेको भागमा परेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष भीम रावललाई सेखी झार्न एमालेलाई सुदूरपश्चिमको मुख्यमन्त्री दिलाएका थिए।

माओवादी केन्द्र पनि कर्णाली प्रदेश लिएर सुदूरपश्चिम एमालेलाई सुम्पन राजी भयो। लुम्बिनी प्रदेशमा एमाले महासचिव शंकर पोखरलेले एमालेलाई मुख्यमन्त्री पारे। माओवादी केन्द्रका उपमहासचिव शर्माले पनि आफ्नै गृहप्रदेश कर्णालीमा माओवादीलाई सत्ता दिलाए।

शर्माले आफ्नै नातेदार राजकुमार शर्मा सम्झिँदा सुदूरपश्चिमका आफ्नै गुटका नेता खगराज बिर्सिए। माओवादी स्रोतका अनुसार खगराज त्यसबेला जनार्दन शर्मासँग असन्तुष्ट थिए।

सुदूरपश्चिममा भने ओलीले चाहेकै नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बने। रावलले मुख्यमन्त्रीमा विश्वासको मत पाएनन्। केन्द्रमा समीकरण फेरिएर फेरि कांग्रेस-माओवादी गठबन्धन बन्यो। यसबेला फेरि मुख्यमन्त्री कांग्रेसको हातमा पर्‍यो। खगराजले त्यसबेला पनि मुख्यमन्त्री बन्न प्रयास नगरेका होइनन्। तर उनलाई केन्द्रीय नेता र समीकरणले चासो दिएन। अहिले संसदीय दलको नेताबाट पनि हटाइँदैछ।

२०७९ सालको चुनाव लड्दै गर्दा प्रदेशमा लड्ने एक मात्र स्थायी समिति सदस्य थिए, खगराज। उनलाई मुख्यमन्त्री बनाउनकै लागि केन्द्रीय स्तरमै सहमति बन्यो।

खगराज जनयुद्धकालीन माओवादी नेता हुन्। उनी २०४७ सालबाटै पूर्णकालीन राजनीतिमा होमिएका हुन्। उनले दसवर्षे जनयुद्ध लडे। खुला राजनीतिमा आएपछि चेपुवामा पर्दै आएका छन्। उनीभन्दा सिनियर नेता लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको नेतृत्व गरे। खगराज लेखराजको छायामा परे। सुदूरपश्चिममा सधै लेखराजकै पकट जम्यो। पहिलो पटक प्रदेशको चुनाव हुँदा माओवादीका त्रिलोचन भट्ट पाँचै वर्ष मुख्यमन्त्री बने। तर दोस्रो कार्यकालका लागि खगराज तयार हुँदा माओवादीले मुख्यमन्त्री पाएन।

माओवादी र एमालेबाट बनेको नेकपा पूर्वविभाजित हुँदा लेखराज एमालेमा गए। त्यसपछि भने खगराजको काँधमा माओवादी केन्द्र सुदूरपश्चिमको नेतृत्व आयो। माओवादी केन्द्रका अनुसार खगराजकै कारण सुदूरपश्चिममा माओवादीको ठूलो तप्का लेखराजसँग गएन।

भट्ट त्यसपछि इन्चार्ज बने। तर माओवादीले लामो समय खगराजलाई इन्चार्ज पनि रहन दिएन। माओवादी पदाधिकारी मात्रै इन्चार्ज बनाउने निर्णय गराएपछि सुदूरपश्चिमको माओवादी इन्चार्जमा पार्टी सचिव डिल्लीराम आचार्य तोकिए। यसपछि भने खगराज पार्टी जिम्मेवारीबाट पनि विमुख भए। उनी अहिले संसदीय दलको नेताबाट पनि हटाइएका छन्।

खगराज पक्ष भने पार्टीको स्थायी कमिटी सदस्यलाई वैकल्पिक केन्द्रीय सदस्यले हटाउन नमिल्ने बताउँछ। दलका नेता तोकिएका धामी वैकल्पिक केन्द्रीय समिति सदस्य  हुन्। ‘पार्टी नेतृत्वमाथि अत्याचार भयो। यो पार्टीमा फुट ल्याउनका लागि हो,’ खगराज पक्ष एक नेता भन्छन्,‘पार्टी विभाजित गर्ने मनोकांक्षा देखिन्छ।’

धामी पक्ष भने दलका नेताले बैठक नराखेपछि आफूहरूले बैठक बोलाएको बताउँछ। विवाद उत्कर्षमा पुगेपछि दुवैपक्षलाई काठमाडौँ बोलाउने केन्द्रीय नेतृत्वको तयारी छ। पार्टी अध्यक्ष प्रचण्डले समेत यसबारे छलफल गर्ने तयारी रहेको माओवादी केन्द्र स्रोत बताउँछ।

प्रकाशित: १५ माघ २०८० २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =