सुदूरपश्चिम : मन्त्री फेर्ने कसरतमा राज्यमन्त्री

हिमाल प्रेस १४ माघ २०८० ११:५७
8
SHARES
सुदूरपश्चिम : मन्त्री फेर्ने कसरतमा राज्यमन्त्री

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री फेर्नका लागि राज्यमन्त्रीको सक्रियता बढेको छ। नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई मन्त्री हटाउन उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल सक्रिय बनेकी हुन्। सुदूरपश्चिम सरकारमा माओवादीको तर्फबाट दुईमन्त्री र एक राज्यमन्त्री सामेल छन्। झपटबहादुर साउद सामाजिक विकासमन्त्री र रमेशसिंह धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। माओवादीको माल राज्यमन्त्री भएर पनि रोजगारी नपाएको बताउँछिन्।

सोही कारण उनी  दुवै मन्त्रीलाई फिर्ता बोलाउन लागिपरेकी हुन्। मालसहितको टोलीले  मन्त्री फेर्नकै लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दबाब दिइसकेको छ। टोलीले काठमाडौँ आएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री तथा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनलाई भेटेको थियो।

गत पुस २१ गते संसदीय मोर्चाबाट सभामुख भीमबहादुर भण्डारी, प्रमुख सचेतक मानबहादर धामी, राज्यमन्त्री गीतादेवी माल, सांसदहरू अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।

सुदूरपश्चिमका सभामुखसमेत मन्त्री फेर्न सक्रिय बनेका छन्। उनीहरूले काठमाडौँमा केन्द्रीय नेतृत्वसँग भेट्दा संसदीय दलको नेतासमेत फेरिनु पर्ने माग राखेका थिए।

‘हामीले मन्त्री फेर्ने पहिलो प्राथमिकतामा राखेका थियौँ। नभए संसदीय दलको नेता फेर्नुपर्ने माग राखेका थियौँ,’ राज्यमन्त्री मालले हिमालप्रेससँग भनिन्, ‘हामी ८ महिना सरकारमा बस्यौँ तर सोचेजस्तो काम गर्न सकेनौँ। हामी गठबन्धन मात्रै सोच्न सक्दैनौँ। हामी पार्टी पनि हौँ भन्ने बुझ्नुपर्छ।’ कार्यसम्पादन राम्रो नभएकाले बिदा लिनुपर्ने तर्क उनको छ।

मुख्यमन्त्री कमलबहादुर शाहबाट राज्यमन्त्रीको शपथ लिँदै माओवादी नेतृ गीता माल।

मन्त्रीसँग राज्यमन्त्रीको टकराव

एकै मन्त्रालयमा रहेका धामी र मालबीच विवाद बढ्दै जाँदा मन्त्री फेर्ने अभियानमा राज्यमन्त्री माल सक्रिय भएकी हुन्। ‘हामी (राज्यमन्त्री)लाई संवैधानिक अधिकार दिइएको छ तर मन्त्रीले दिँदैनन्,’ राज्यमन्त्री माल भन्छिन्, ‘मन्त्रीले नदिँदा हामी बेरोजगार छौँ।’ उनी मन्त्री परिवर्तन गर्न केन्द्रीय नेतृत्वले नचाहे राजीनामा दिन तयार रहेको सुनाउँछिन्। ‘हामीलाई हाइकमान्डको पनि मन्त्री फेर्नू भन्ने निर्देशन छ’, उनी थप्छिन्, ‘तर संसदीय दलको नेताले नमान्नु भा हो।’

सुदूरपश्चिम प्रदेशको मा‌ओवादी संसदीय दलको नेतामा सुरुमा खगराज भट्ट थिए। माओवादीको विवादका कारण बहुसंख्यक सांसदहरू संसदीय नेताको नेता फेर्ने निर्णयमा पुगेका थिए। बैठकमा राज्यमन्त्री माल पनि सामेल थिइन्। भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामी नियुक्त भएका छन्।

यही कारण सुदूरपश्चिम माओवादीमा विवाद बढेको छ। सुदूरपश्चिममा माओवादीको ११ सिट (सभामुखसहित) छ। भट्टलाई संसदीय दलको नेता फेर्ने निर्णयमा ६ सांसद उपस्थित थिए। बैठकमा मानबहादर धामी, राज्यमन्त्री गीता माल, सांसदहरू अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक थिए। संसदीय दलको नेता बन्नु पूर्व धामी संसदको सचेतक थिए। भट्ट बैठकमा उपस्थित नभएकाले नेता फेरेको धामी पक्षको भनाइ छ।

भट्ट पक्ष भने आफूहरूलाई जानकारी नदिएको दाबी गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =