थ्रीस्टार क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

हिमाल प्रेस १३ माघ २०८० १८:०९
24
SHARES
थ्रीस्टार क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा- थ्रीस्टार क्लब २३औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। पाहुना टोली भुटानको पारोलाई अतिरिक्त समयमा २-० गोलअन्तरले पराजित गर्दै पाँचपटकको उपाधि विजेता थीस्टारले विजयी यात्रा जारी राखेको हो।

पोखरा रंगशालामा शनिबार पहिलो क्वाटरफाइनलमा निर्धारित ९० मिनेटसम्म गोलरहीत बराबरी खेलेकोमा अन्तिम समयमा सम्हालिन नसक्दा पाहुना टोली डेब्यु खेलबाटै घर फर्किएको हो।

नेपाली ए डिभिजनको क्लब ललितपुरको थ्रीस्टारलाई यसपालि पनि उपाधिको दाबेदार बनाउन आशिष चापागाँई नायक बने। अन्तिम ६ मिनेटभित्र दुवै गोल उनले गरेका हुन्। चापागाईंले ११४औँ मिनेटमा गोल गर्दै टिमलाई जित नजिक पुर्‍याएकोमा खेल सकिनै लाग्दा ११९औँ अर्को गोल थपेका हुन्।

राष्ट्रिय टिमबाट खेलिसकेको योगेश गुरुङले टिमको कप्तानी सम्हाल्लेका थिए। पारोको कप्तानीमा किनले वाङ्गचुक थिए। निकै प्रतिस्पर्धात्मक खेलमा केही राम्रा अवसर खेर जाँदा निर्धारित समयमा दुवै टिमबाट गोलको खडेरी लागेको थियो। खेल हेर्न अघिल्ला दिनको तुलनामा प्यारापिटमा दर्शक उल्लेख्य देखिन्थे।

४२औँ मिनेटमा थ्रीस्टारका दीपेश आलेमगरले मध्यभाग नजिकैबाट बल अगाडि बढाउँदै काउन्टरमा आशिष चापागाईँलाई पास दिएका थिए। तर विपक्षी गोलकिपर गेल्सेनले बल क्लियर गरे।

५९औँ मिनेटमा उसले अर्को राम्रो गोलको अवसर गुमाएको थियो। आशिष चापागाईँले दिएको क्रसमा आदित्य शाक्यले हानेको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्यो। निर्धारित ९० मिनेटको खेल सकिनै लाग्दा उनैले हानेको कडा प्रहार सेकेण्ड बार नजिकैबाट बाहिरियो।

अब फाइनल प्रवेशका लागि थ्रीस्टारले मनाङ मर्स्याङ्दी र जावलाखेल युथ क्लबको विजेतासँग माघ १५ मा पहिलो सेमिफाइनल खेल्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

आइतबार दोस्रो क्वाटरफाइनलमा साविक विजेता संकटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा सिधै क्वाटरफाइनल खेल्दा आर्मीले नवलपुरको राइजिङस्टार क्लबलाई हराएको हो।

फाइनल माघ २० मा हुनेछ। विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ  प्राप्त गर्ने छन्। यही माघ ९ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले भाग लिएका छन्।

प्रकाशित: १३ माघ २०८० १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =